नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ।
यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो।
गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिइन्।
‘असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ। हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ’, उनले भनिन्,‘प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ।’
संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्ष्य गरी बढी सङ्ख्यामा बिक्री भएको हो।
‘गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो’, परियारले भनिन्,‘यस वर्ष भने पहिलेजति बिक्री भएन। दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ।’
गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्याउन सहकारीले ११ वर्षदेखि बजार व्यवस्थापन गरिरहेको छ।
कृषकले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गरिरहेको छ।
यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषक खुसी भएका छन्।
पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वर्षदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माले बताइन्।
‘सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ’, उनले भनिन्।
यहाँ सेयर सदस्यबाहेक अन्य कृषकको पनि खसीबोका खरिद गर्ने गरिएको छ।
ठूला व्यापारीदेखि स्थानीयसम्म खसीबोका लिन सहकारीमा आउने गरेका छन्।
हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ।
यहाँका बाख्रापालन गर्ने कतिपय महिलाले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन्।
Shares

प्रतिक्रिया