कारोबार


पर्यटक ओइरिएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटल भरिभराउ

व्यवसायी भन्छन्, ‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’
पर्यटक ओइरिएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटल भरिभराउ

पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् (रासस)


नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १३:२९, म्याग्दी

यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन्। यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन्। 

पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन्। होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो। स्थल मार्गबाट घुम्नेहरुका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ।

 आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ। मुस्ताङ पुगेकाहरुले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन्। यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ। 

छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहासिक यात्रामा रुची राख्नेहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन्। फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुदै चार हजार एक सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ। तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ। निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो। 

म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक पाँच सय जना भन्दा बढी छ। बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपाली कल्पना गरेको र भएका होटलहरुको क्षमता भन्दा धेरै सङ्ख्यामा पाहुना आएका बताए। 

“दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरुको घुइँचो विगतदेखिनै भए पनि यसपाली अन्नपूर्ण आधार शिविर जानेहरु पनि थपिदा होटल, रेष्टुरेन्ट र होमस्टेहरुले थेग्न नसकेका हुन्,” उनले भने, “आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरुले गोजीमा पैसा भएर पनि खाना र बस्नको लागि दुःख पाउने अवस्था आएको हो।”

होटलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटल ब्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध, कुश्मा, बागलुङ र पोखराका होटल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाएका छन्। म्याग्दीका होटलमा दैनिक दुई हजार र मुस्ताङमा दैनिक तीन हजार जनासम्म पाहुनालाई सहज रुपमा व्यवस्थापन गर्न सकिने क्षमता छ।

भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटलहरु यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन्। “छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटेपनि अकुपेन्सी राम्रो छ,” उनले भने, “जेनजी आन्दोलनका कारण सोह् श्राद्ध र प्रतिकुल मौसमले दसै लगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई राहत मिलेको छ।”

सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए।

“मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,” उनले भने, “ यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन्।” 

सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष अध्यक्ष श्रेष्ठको भनाइ छ। पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित, नयाँ लगानीको सम्भावना देखाउनुका साथै अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित सङ्ख्याको क्षमतामा रहेका होटलहरुको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उनले बताए। 

भ्रमणमा आउने पाहुनाहरुले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उहाँले बताउनुभयो। बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटलहरुको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने पर्यटकले बताएका छन्। 

अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरुले नारच्याङ–हुमखोला सडक मर्मत, यातायात भाडादरमा एकरुपता, पदमार्गका होटलहरुको क्षमता र सुविधा थप, सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापनको आवश्यकता औल्याएका छन्। 

म्याग्दी १ (क)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकारका निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), निजी क्षेत्र र सरोकारवालाहसँग समन्वय गरी पर्यटन क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको पहल गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad