साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा सुरुबाटै उत्साहप्रद देखिएको छ।
गत हप्ता तीन दिन लगातार बढेको सेयरबजारले आइतबार पनि निरन्तरता पाएको हो।
कारोबार सुरु हुनासाथ बढ्न थालेको नेप्सेले अन्तिम समयसम्म ३०.७५ अंकका उचाइसँगै २६३१.१४ अंकमा पुग्न सफल देखियो। सुरुवातबाटै लगानीकर्ता साना भोल्युम भएका कम्पनीमा खरिद बढाउन थालेपछि त्यसले समग्र बजारलाई नै हरियाली बनाएको थियो।
यो दिन थोरै सेयर संख्या भएका स साना कम्पनीहरुको मूल्य सर्किट लेभलमा बढ्न पुग्यो। लगानीकर्ताले गत हप्ताको सकारात्मक माहोललाई निरन्तरता दिनका लागि पनि आइतबार साना कम्पनीहरुको मूल्य उचाले भने अन्य कम्पनीहरुको पनि यो दिन सामान्य कारोबार देखियो।
आइतबार बजार बढ्नुको पछाडि लगानीकर्ताको कारोबार पनि प्रमुख रहेको छ।
असोज ५ गतेयता लगानीकर्ताले बजारमा ४ देखि ५ अर्बमाथिको कारोबार गरेका थिएनन्। सो दिन ९ अर्ब माथिको कारोबार गरेका लगकर्ताले करिब एक महिनापछि फेरि सोही बराबरको कारोबार गरेका हुन्।
आइतबार लगानीकर्ताले ९ अर्ब २० करोड बराबरको कारोबार गरेका छन्।
यसले बजारमा लगानीकर्ता फेरि सक्रिय हुन थाले भन्ने देखाउँछ। ‘पर्ख र हेर’को अवस्थामा रहँदा लगानीकर्ताले कारोबारलाई खुम्च्याउँछन् भने बजार बढ्छ भन्ने कन्फिडेन्स आउन थालेपछि लगानीकर्ता पुनः बजारमा सक्रिय हुन थाल्छन्।
आइतबार कारोबार रकमलाई हेर्ने हो भने बजारमा पुन लगानीकर्ता सक्रिय हुन खोजेको देखाउँछ।
यो दिन लगानीकर्ताले हिमालयन बैंकको प्रमोटर सेयरमा सबैभन्दा धेरै कारोबार गरेका थिए।
सात महिना अगाडि ५० हजारबराबरको कारोबार भएको यो सेयरमा गत साता विहिबार १ करोड ४० लाखबराबरको कारोबार भएकोमा आइतबार १ अर्ब ६६ करोडको कारोबार भएको हो।
कारोबारका हिसाबमा हिमायलन बैंकको प्रमोटर सेयर अगाडि देखिए पनि मूल्यवृद्धिमा भने ७ वटा कम्पनी अगाडि छन्। सामुदायिक लघुवित्त,गोर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रो, पिपुल्स पावर, तेह्रथुम पावर, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो।
कम्पनीगत रुपमा आज साना भोल्युमका लघुवित्त र जलविद्युत कम्पनीहरुमा लगानीकर्ताले खरिदमाग बढाएका हुन्।
समूहगत रुपमा भने आज लगानीकर्ताले जीवन बिमा कम्पनीमा खरिदमाग बढाएका थिए । यो दिन जिवन बीमा कम्पनीहरुको उपसूचक ४.३५ प्रतिशतले बढ्दा वित्त कम्पनीहरुको ५.१८ प्रतिशतले उपसूचक बढेको हो।
अन्य समूहको सूचकमा भने सामान्य बृद्धि मात्रै देखिएको छ। व्यापार समूहमा भने आज लगानीकर्ताको आर्कषण खास्सै देखिएन।
असोज ८ गतेदेखि लगातार घट्न थालेको सेयरबजार तिहारको अघिल्लो दिनबाट सम्हालिन थालेको थियो। तिहारलगत्तै खुलेको सेयरबजारमा लगानीकर्ताले लगानीलाई बढाउन थालेसँगै सूचक र कारोबार रकम पुन सुधारिन थालेको हो।
Shares

प्रतिक्रिया