पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराउने मल्टिएड्भेञ्चर प्रालि कारबाहीमा परेको छ।
अध्यागमन विभागले उक्त एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि ४० हजार रुपैयाँ जरिवाना गरेको हो।
कम्पनीले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा जर्मन नागरिक मार्टिन श्रामलाई लगेको थियो।
नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्ने व्यवस्था छ।
अध्यागमन नियमावली, २०५१ अनुसार पदयात्रा अनुमति लिइ पदयात्रा गर्नुपर्ने पदयात्रा क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले एजेन्सीमार्फत अध्यागमन विभागमा निवेदन दिनुपर्ने हुन्छ। उक्त कानुनी व्यवस्थाविपरीत पदयात्रा गराएको पाइएपछि कम्पनीलाई कारबही गरिएको विभागले उल्लेख गरेको छ।
उक्त जर्मन नागरिकलाई पदयात्रा भ्रमणमा लैजाने गरी उक्त कम्पनीले २५ अक्टोबरदेखि १० दिनको अनुमति लिएको थियो।
तर सो मितिको एक दिनअगाडि नै उक्त टोली कञ्चनजंघा क्षेत्रमा पुगेको थियो। तर त्यसभन्दा अगाडि नै विदेशी नागरिक लिएर कम्पनीको तर्फबाट ट्रेकिंग गाइड दाइला शेर्पा पदयात्रामा गएका थिए।
शेर्पालाई कारबाही गर्न पर्यटन बोर्डमा समेत लेखिपठाइएको विभागले जनाएको छ। नेपालमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार र चुञ्चेत लगायतका १५ कजिल्लाका केही क्षेत्रलाइ सुरक्षा र सीमा संवेदनशीलताको आधारमा नेपाल सरकारले निषेधित क्षेत्र तोकेको छ ।
Shares

प्रतिक्रिया