कारोबार


हस्तकला महासंघले भन्यो : कोरोनाले व्यवसाय धरापमा पर्दै छ

हस्तकला महासंघले भन्यो : कोरोनाले व्यवसाय धरापमा पर्दै छ

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ८:३७,

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड – १९ (कोरोना) भाईरसको असर नेपालको सन्दर्भमा हालसम्म सबैभन्दा बढी देखिएको हस्तकला क्षेत्र, पर्यटन व्यवसाय र निर्यात व्यापारमा परेको नेपाल हस्तकला महासंघले जनाएको छ।

विशेष गरी अमेरिका, युरोप तथा अन्य पश्चिमी मुलुकहरुमा बढी आश्रित हस्तकला उद्योग व्यवसायले रोजगारी सृजना गरी निर्यात व्यापारमार्फत विदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पु¥याइरहेकोमा कोभिड–१९ भाइरसको असरबाट हस्तकला व्यवसाय धराशायी र अन्धकारमय हुनपुगेको महासंघले बताएको हो।

महासंघ अध्यक्ष सुरेन्द्रभाई शाक्यले विज्ञप्ति जारी गर्दै अधिकांश हस्तकलाका उद्यमी व्यवसायीहरुका केही हस्तकलाका सामग्रीहरु अन्तराष्ट्रिय बजारमा शिपमेन्ट गरी पठाउने क्रममा रहेको अवस्था र केही बजारबाट प्राप्त गरेको अर्डर पूर्ति गर्ने तयारी भइरहँदा अर्डरहरु पनि रद्द भएको, लगानी पुँजीको साथै बैंकहरुबाट लिएको ऋण र ब्याज समेत तिर्न नसक्ने नाजुक अवस्थामा रहेको जनाएका हुन्।

महासंघका अनुसार ११ लाखभन्दा बढि जनशक्तिलाई यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। त्यस्तै निर्यात व्यापार र आन्तरिक बजारको कारोबार समेत गरी २० अर्बको हाराहारीमा रहेको छ। राष्ट्रिय अर्थतन्त्रमा अर्बौँ योगदान गरिरहेको यो क्षेत्रलाई सरकारले ध्यान दिनुपर्ने भन्दै उसले १५ बुँदे सुझाव समेत पेस गरेको छ।

१. हस्तकलालगायत घरेलु, लघु तथा साना उद्योगलाई सम्बोधन हुने छुट्टै कार्यक्रमहरु ल्याउनुपर्ने, यस क्षेत्रमा बैंकहरुको ब्याजदर आ.व.०७७।७८ सम्मका लागि न्यूनीकरण तथा पुनरवलोकन गरी कम्तीमा पनि आगामी ५ वर्षका लागि सफ्ट लोनको (दीर्घकालीन व्यवसाय प्रवद्र्धन कर्जा) अपरिहार्य रुपमा पर्याप्त व्यवस्था गर्नुपर्ने।

२. बैंकको ब्याज लागतलाई न्यूनीकरण गर्न हस्तकलाको निर्यात, उत्पादन मुलक हस्तकला र कृषि क्षेत्रको कम्पनी तथा फर्महरुको एक वर्षको ब्याज २ दुई प्रतिशत छुटमा पुनर्कर्जाको व्यवस्था गरिदिने, सरकारबाट कृषि तथा महिला उद्यमीहरुलाई मात्र प्रदान गर्दै आएको सहुलियत कर्जा सुविधा सम्पूर्ण हस्तकला उद्यमीहरुलाई पनि प्रदान गर्नुुपर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दिमा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनुपर्ने ।

३. बैंकहरुले हस्तकला क्षेत्रका साना उद्यमी, व्यवसायी तथा कलाकार, कालिगढहरुका लागि कम्तीमा पनि रु २० लाख सम्म बिना धित्तो नेपाल हस्तकला महासंघको सिफारिसमा बढीमा ६ प्रतिशतसम्म ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने। हस्तकलाका उद्यमी व्यवसायी व्यापारीहरुले बैंक तथा वित्तीय संघ संस्थाहरुबाट लिएको ऋणको लकडाउन अवधिभित्रको ब्याज पूर्ण मिनाहा हुनु पर्ने साथै विद्यमान बैंकबाट लिईएको ऋण, ब्याजको भुक्तानी इत्यादी आ.व.०७७।७८ भित्र चुक्ता गर्न समयावधि थप्नुपर्ने।

४. हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्व मानचित्रमा अबको एक वर्षसम्म नेपालमा विदेशी पर्यटकहरु आउने सम्भावना पनि नरहेको कारणले नेपाली हस्तकला व्यवसायको पर्यटकीय आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार शून्य विन्दुमा खस्किने निश्चितप्रायः छ ।
यस्तो अवस्थामा नेपाली हस्तकलाका सामग्रीहरुको आन्तरिक बजार बिस्तार गर्न तथा सरकारी निकायहरुमा आवश्यक हुने वा प्रयोगमा ल्याइने र उपहारको लागि चाहिने सामग्रीहरुमा स्वदेशमा उत्पादित सामग्रीहरुको प्रयोगलाई बढी प्राथमिकता दिने गरी मौजुदा सरकारी खरिद ऐनमा २० लाख भन्दा माथिको कारोवारमा भ्याटमा दर्ता हुनु पर्ने प्रावधान भएको तर हस्तकला बस्तुहरु भ्याट छुट बस्तु भएकोले हस्तकलाको कारोबारमा प्यान बिलको मान्यतालाई पनि अबिलम्ब कार्यान्वयनमा ल्याइनुपर्ने ।

५. विभिन्न अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन नसक्ने साना तथा घरेलु उद्यमी हस्तकलाका ब्यवसायीहरुलाई विदेशी क्रेताहरु संगको भेट गराउन नेपालमै मेलाको आयोजना गरि नेपाली हस्तकलाका सामग्रीहरुको निर्यात व्यापार बृद्धि गरि बिदेशी मुद्रा आर्जन गर्ने नितिगत रुपमा नै सहयोग निति र छुटै कोषकोे स्थापना गर्नु पर्ने देखिन्छ । यस कार्यमा नेपाल सरकारलाई नीजि क्षेत्रले पनि सहयोग गर्न सक्ने वातावरणको निर्माण गर्नु पनि जरुरी हुन्छ ।

सोहि क्रममा बिगत केहि दशक देखि आन्तरिक रुपमा नेपाली हस्तकलाका सामग्रीहरुको आन्तरिक बजार बिस्तार र निर्यात व्यापार प्रवद्र्धनको लागि नेपाल हस्तकला महासंघले प्रत्येक बर्ष नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रकोे समेत सहयोगमा आयोजना गर्दै आएको हस्तकला व्यापार मेलालाई यस परिस्थितिमा अझ बढी आकर्षित एवम भव्य रुपमा आयोजना गरि नेपाली हस्तकलाका सामग्रीहरुको स्वदेश तथा बिदेशमा प्रभावकारी रुपमा बजार बिस्तार एवम हस्तकला क्षेत्रको सम्वद्र्धन प्रवद्र्धन गर्नको लागि बिशेष प्राथमिकताका साथ आगामी आर्थिक वर्षमा विशेष बजेट र ५ वर्षीय योजनासहित सरकारबाट बिशेष आर्थिक प्याकेज सहितको अनुदान दिने व्यवस्था गरिनुपर्ने।

६. समय समयमा अन्र्तराष्ट्रिय रुपमा बिदेशमा आयोजना गरिने व्यापार मेला तथा व्यवसायिक मेलाहरुमा बिभिन्न मुलुकहरुसँग एड फर ट्रेडको लागि पहल गरी नेपाली हस्तकला बस्तुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनको लागि त्यस्ता मेलामा भाग लिन जाने सहभागीहरुलाई सरकारबाट विशेष अनुदान दिने ब्यवस्था हुनु पर्ने । त्यस्तै बिभिन्न अन्तर्राष्ट्रिय ब्यापार मेलामा भाग लिन असक्षम उद्यमी ब्यवसायीहरुलाई बिदेशी क्रेताहरु संगको भेट गराउन नेपालमै त्यस्ता मेलाहरुको आयोजना गर्न नितिगत रुपमा नै सहयोग निति र छुटै कोषकोे स्थापना गर्नुपर्ने र यस कार्यमा नेपाल सरकारलाई नीजि क्षेत्रले पनि सहयोग गर्न सकिने गरि ब्यवस्था गरिनुपर्ने।
७. यस विकराल आर्थिक मन्दीको सन्दर्भका बाबजुत पनि झिनो आशाको किरणका रुपमा नेपालबाट विद्युतीय कारोबारमार्फत निर्यात ब्यवसायको एक मात्र बैकल्पिक संम्भावनालाई मध्यनजर गर्दै विद्यमान अपर्याप्त कानुनले गर्दा समस्यामा रहेको बिद्युतिय कारोबारका लागि चाहिने आवश्यक अन्र्तराष्ट्रिय स्तरको निर्देशिका र कार्यविधि एवम मौद्रीक नितिको यथाशीघ्र व्यवस्था गरिनुपर्ने। यसका लागि विद्यमान विभिन्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त अनलाईन भुक्तनीको पद्धतिलाई नेपालमा पनि तत्काल मान्यता प्रदान गर्नुपर्ने।

८. हस्तकलाको हालको प्रमुख बजार रहेका संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, जापान र चीन कोरोना भाईरसको कारण आर्थिक मन्दिमा जान सक्ने भएकोले नयाँ–नयाँ बजारको खोजि गर्नुपर्ने देखिन्छ । यसको लागि व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा ब्राजिल, पोर्चुगल, चेकोस्लोभाकिया र दक्षिण अफ्रिका नयाँ बजार हुन सक्ने भएकोले ती बजारहरुको सम्भाव्यता अध्ययन गरिनुपर्ने ।

९. कोभिड १९ को कारणले विश्वभरी हुने रोजगार संकुचनले विदेशमा कार्यरत हजारौं युवा बेरोजगार भई नेपालमा फर्कने निश्चित रहेको अवस्थामा, देश भित्रै रोजगारी सृजना गर्न स्थानीय श्रोत साधन र कच्चा पदार्थमा आधारित हस्तकला बस्तुको सीपमुलक र उत्पादनमुखी तालिमको आवश्यकता हुन्छ । यस्तो छोटो अवधिको रोजगारमुखी, क्षमता अभिवृद्धि तथा बिशिष्ट तालिम संचालन गर्ने कार्य गर्न यस महासंघ अन्तरगत छुटैृ हस्तकला डिजाइन सेन्टर स्थापना गरि हालसम्म बिभिन्न सीपमुलक रोजगारी तालिमहरु संचालन गर्दै आइरहेकोले यस्तो छोटो अवधिको रोजगार मुलक हस्तकलाका बस्तुहरु उत्पादन सम्वन्धि जनशक्ति उत्पादन गर्ने तालिमको जिम्मा नेपाल हस्तकला महासंघलाई प्रदान गरी आगामी आर्थिक वर्षमा विशेष बजेट र ५ वर्षीय योजना सहित रकम बिनियोजित गरियोस् । यस किसिमका कार्यक्रम प्रादेशिक रुपमा कार्यान्वयन गर्न बजेट बिनियोजनको लागि प्रदेश सरकारहरुलाई पनि केन्द्रीय सरकारबाट आवश्यक निर्देशन दिनु पर्ने ।

१०. हालको यस जटिल अवस्थामा आवश्यक कच्चा पदार्थको आपुर्ति ब्यवस्था र स्वरोजगारको लागि नेपाल सरकारको तर्फबाट बिगतका वर्षहरुमा र्झै सहुलियत मुल्यमा नेपाल राष्ट बैंक मार्फत बिशेषत आन्तरिक बजारमा पनि उल्लेख्य खपत हुने र उल्लेख्य रोजगार दिंदै आएको चाँदिजन्य उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चाँदीको साबिककै परिमाण बमोजिम पुनः प्रदान गर्नु पर्ने र सुनको हकमा साना तथा घरेलु उद्योगी र कालिगढहरुलाई समेत केन्द्रित हुने गरी कम्तीमा पनि १०० र २०० ग्राम सम्मको सानो परिमाणमा पनि सुनको सहज आपुर्ति र बिक्रिको ब्यवस्था गरिनु पर्ने ।

११. देशको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान पुया्ईरहेको र स्वरोजगार प्रदान गर्दै आईरहेको हस्तकला क्षेत्रको विकास र निकासीमा हस्तकला मैत्री नीति नियमको अभावले समस्या आईरहको तथा हालको अवस्थामा हस्तकला मैत्री नीतिनियमहरुले ठुलो भुमिका खेल्ने हँुदा हस्तकला मैत्री नीति नियमहरुको लागि नेपाल हस्तकला महासंघबाट तयार गरेको हस्तकला नीति यथासिघ्र लागु गर्नु पर्ने ।

१२. नेपाल सरकारको निकासी विनियम बमोजिम विना अग्रिम भुक्तानी निकासीको सीमा ३०० अमेरिकी डलर रहेकोमा अहिलेको कठिन अवश्थालाई मध्यनजर गरी कम्तिमा पनि १००० अमेरिकी डलर सम्म पुर्याउनुपर्ने ।

१३. नगद प्रोत्साहन प्राप्त गर्न मूल्य अभिवृद्धिको सिफारिस उद्योग विभागबाट गराउनु पर्ने जटिल कार्यबिधि निरुत्साहित गरी निकासी सहजिकरणका कागजात र नेपाल हस्तकला महासंघको पत्रका आधारमा नै हस्तकला ब्यवसायीहरुलाई नगद प्रोत्साहन दर बृद्धि गरि कम्तीमा १० प्रतिशत प्रदान गर्नुु पर्ने ।

१४. हाल आन्तिरिक रुपमा विकसित बजार र स्वरोजगारको अत्यधिक सम्भावना रहेको प्राकृतिक रेशाको लागि धागो निकाल्ने प्रविधि नेपालमा नभएकोले आजको यस चुनौतिपूर्ण समयमा यहाँ भएका प्राकृतिक रेशाहरुबाट बस्तु बिकासको लागि कठीनाई भएकोले प्राकृतिक रेशाको लागि यथासिघ्र धागो निकाल्ने प्रबिधि भित्रएर रोजगारको वातावरण श्रृजना गनु पर्ने ।

१५. हस्तकलाको खुद्रा तथा थोक ब्यापार गर्दै आएका ब्यवसायहरु लकडाउनको कारण पसल संचालन गर्न नसकि रहेको अवस्था छ । जसको कारण पसलको मासिक बहाल घर धनीलाई वुझाउन निकै समस्या परेको साथै घरधनीहरुको पनि आफ्नो मुख्य आय श्रोत घर भाडानै भएकोले उनीहरुले पनि घर भाडा रकम पुरै मिनाह दिन सक्ने अवस्था नरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारबाट नै यो असहज अवस्थामा उचित सम्बोधन गर्ने ब्यवस्था हुनुपर्ने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad