कारोबार


कात्तिकको वर्षाले कृषिमा २ अर्ब ९१ करोड बराबरको क्षति, सात प्रतिशत धान उत्पादन घट्ने

कात्तिकको वर्षाले कृषिमा २ अर्ब ९१ करोड बराबरको क्षति, सात प्रतिशत धान उत्पादन घट्ने

फाइल फोटो


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १४:४८, काठमाडौँ

कात्तिकमा आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिब २ अर्व ९१ करोड बराबरको क्षति भएको अध्ययनले देखाएको छ। 

गत कार्तिक १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा करिब २ अर्व ९१ करोड बराबरको क्षति भएको हो।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले तयार पारेको स्थलगत अध्ययनले सबैभन्दा बढी क्षति धानबालीमा भएको देखाएको छ। त्यसपछि तरकारी र केराबालीमा क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको मन्त्रालयका सूचना अधिकारी समेत रहेका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिए।

यसको सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको र त्यसमा पनि झापा जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पुगेको बताए। उनकाअनुसार सो विपद्ले मधेस, बागमती र गण्डकी प्रदेशमा क्रमशः क्षति पुर्‍याएको छ। समग्रमा करिव २० हजार हेक्टर धानबालीमा क्षति पुगेको प्रतिवेदनमा औँल्याइएको छ। 

सूचना अधिकारी जोशीले भने, ‘यो कार्तिक महिनामा आएको अविरल वर्षाका कारण कृषि क्षेत्रमा करिव २ अर्ब ९१ करोड बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा देखिन्छ। यो कार्तिक महिनामा आएको अविरल वर्षाले पाक्नका लागि तयार भएको धानबालीलाई सबैभन्दा बढी क्षति पुर्‍याएको छ। त्यसपछि तरकारी, आलु, केराबारीमा यसले क्षति पुर्‍याएको देखिन्छ। यो क्षति विशेष गरेर कोशी प्रदेशमा बढी देखिएको छ। त्यसपश्चात मधेस, वागमती र गण्डकी प्रदेशमा क्षति भएको देखिन्छ। कोशी प्रदेशमा पनि विशेषगरी झापा जिल्लामा धानबालीमा बढी क्षति देखिन्छ भने समग्रतामा हेर्दा करिव २० हजार हेक्टर धानवालीमा यो वर्षाका कारण क्षति भएको देखिन्छ।’

विपद्का कारण चालु आर्थिक वर्षमा करिव ५ देखि ७ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको छ। विशेष गरेर मधेसमा तरकारीबालीको उत्पादन घट्ने पनि अध्ययनले देखाएको सूचना अधिकारी जोशीले बताए। 

उनले भने, ‘यस वर्ष धानबालीको उत्पादन मधेसमा भएको सुख्खा, र यो अविरल वर्षाले पुर्‍याएको क्षतिका कारण करिव ५ देखि ७ प्रतिशत धान उत्पादन घटने हामीले प्रारम्भिक अनुमान गरेका छौँ। त्यसैगरी तरकारीको उत्पादन पनि केही घटने अनुमान गरिएको छ। तरकारीको उत्पादन विशेष गरी मधेस प्रदेशमा घट्ने अनुमान गरिएको छ। जहाँ तरकारीबालीमा बढि क्षति भएको हामीले विवरण प्राप्त गरेका छौँ।’

अध्ययनमा विपद्बाट हुने क्षति न्युनिकरणका लागि चेतनामूलक कार्यक्रममा जोड दिन प्रदेश तथा स्थानीय सरकारलाई सचेत गराइएको छ। मौसम सम्बन्धि जानकारी लिने र त्यसबारे कृषकहरुको घरघरमा जानकारी गराउने काममा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने कुरा पनि प्रतिवेदनले औँल्याएको छ। 

मन्त्रालयका सूचना अधिकारी जोशीले भने, ‘नेपाल सरकारले प्राथमिकता दिएको कृषि बीमा कार्यक्रमका कृषकहरु जोडिन आवश्यक देखिन्छ भने दातृ निकायहरुले पनि विपदबाट क्षति पुगेका कृषकहरुलाई राहत तथा पुनस्र्थापनाको काम गर्न सकियो भने किसानका पीरमर्का सम्बोधन हुने सम्भावना देखिन्छ।’

प्रतिवेदनमा राहत तथा पुनःस्थापनाका लागि कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएको छ। बीमामा जोडिन पनि कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ। सूचना अधिकारी जोशीले दातृ निकायहरुले विपदमा परेका कृषकहरुलाई राहत दिनसके उनीहरुको पीडा सम्बोधन हुने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको बताए।

अध्ययनले कात्तिकको वर्षाले धानबालीमा मात्र २ अर्ब ६६ करोड ४१ लाखको नोक्शानी गरायो। देशभर २० हजार १.५२ हेक्टरमा लगाइएको ७५ हजार ६७४ मेट्रिक टन धान नष्ट वा प्रभावित भयो।

यसले यस वर्षको धान उत्पादन ५ देखि ७ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ। प्रदेशहरुमध्ये कोशी सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ २ अर्ब ५ करोडभन्दा बढीको क्षति भएको अध्ययनले देखाएको छ।  त्यसपछि मधेशमा (२२ करोड ७६ लाख) र लुम्बिनीमा (१३ करोड ६८ लाख) बराबरको क्षति भएको अध्ययनले देखाएको छ।

जिल्लातर्फ झापामा सबैभन्दा धेरै ८० करोड ७३ लाख, मोरङमा ५८ करोड ७८ लाख र सुनसरीमा ४५ करोड ३१ लाखको धानबाली क्षति भएको अध्ययनले देखाएको छ। धानबाहेक ५८६ हेक्टर तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख र अन्य नगदे बालीमा २ करोड ४१ लाखको क्षति भएको छ। तरकारीको लागि पकेट क्षेत्र मानिएको सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगाएतका जिल्ला बढी प्रभावित भएको पाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad