अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेको छ।
सिलवालले नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा बुधबार पुनरावेदनको निवेदन दर्ता गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
सिलवालउपर २०७७ माघ २० गते प्राधिकरणको अध्यक्षमा नियुक्ति पाउन आफ्नो जन्ममिति कीर्ते गरेको आरोप छ। २०१५ साउन १५ गते जन्म मिति भएपनि २०१६ कात्तिक २२ गते भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेस गरेको, उमेर ढाँटी झुट्टा विवरणको वैयक्तिक विवरण पेस गरी नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा नियुक्त भएको आरोप छ।
आफ्नो उमेर ढाँटी २०१८ कात्तिक २४ गतेको जन्ममिति कायम गरी राहदानी विभागमा करिव ३ वर्ष उमेर घटाई झुट्टा विवरण पेस गरी कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरेको आरोप छ।
सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा ९१० बमोजिमको कसूरमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन एवं सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन दाबी लिएको थियो।
यस्तै २०८० साउन १५ गतेदेखि लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १५४ रुपैयाँ १६ पैसा उसुलउपर गर्न पनि माग गरिएको थियो।
तर विशेष अदालतले २०८१ पुस २ गते सफाइ दिँदै फैसला गरेको थियो।
Shares

प्रतिक्रिया