कारोबार


बूढीगण्डकी परियोजना तत्काल अगाडि बढाउन माग

बूढीगण्डकी परियोजना तत्काल अगाडि बढाउन माग

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १८:१०, काठमाडौँ

लामो समयदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी परियोजना तत्काल अगाडि बढाउन सरोकारवालाहरूले माग गरेका छन्। 

प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई बुधबार भेटेर उनीहरुले परियोजनालाई अगाडी बढाउन माग गरेका हुन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी परियोजना छिटो भन्दा छिटो शुरुवात गर्न आग्रह गरेको जनानकारी दिए।

उनले शुरुमा नेपाल आफैँले परियोजना बनाउने भनेपनि पछिल्ला सरकारहरूले त्यसलाई विभिन्न बाहानामा अड्काएर राखेको आरोप लगाए। हाल कम्पनीमार्फत परियोजनाको काम अगाडि बढाउने कुरा आएकोले त्यसलाई पनि छिटो सञ्चालन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको उनको भनाई छ।

अर्थमन्त्री रामेश्वर खनाल परियोजनाका बारेमा धेरै जानकार रहेको उल्लेख गर्दै भट्टराईले अर्थमन्त्रीले समेत यसलाई अगाडि बढाउन कुनै समस्या नभएको बताएको जानकारी दिए। यो परियोजना छिट्टै सूरु गर्न सक्ने सरकारको कुरा आएको उनको भनाई छ। 

भट्टराईले भने, ‘बुढीगण्डकी परियोजना छिटो भन्दा छिटो शुरुवात गरिनु पर्‍यो। नेपाल आफैँले बनाउने भन्ने शुरुमा यसको निर्णय थियो, विकास समितिमार्फत। पछिल्ला सरकारहरुले त्यसलाई विभिन्न बहानामा अड्काए र अहिले कम्पनी मार्फत जुन अगाडी बढाउने कुरा आएको छ, त्यसैले हाम्रो भनाई चाहीँ के छ भने तुरुन्तै यसलाई शुरुवात गरियोस्। त्यसमा अर्थमन्त्री यसको जानकार पनि हुनुहुन्छ। उहाँ यो शुरुवातको बेलामा मेरो आर्थिक सल्लाहाकार पनि हुनुहुन्थ्यो। उहाँले प्रधानमन्त्रीज्युको अगाडी नै भन्नुभयो, यसलाई अगाडी बढाउन कुनै समस्या छैन। हामी छिट्टै सूरु गर्न सक्छौँ भन्ने कुरा भएको छ।’ 

उनले परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई पूर्वाधार निर्माण गर्नुपर्ने बताए। उनले बुढीगण्डकी आयोजना जलविद्युत आयोजना मात्रै नभई बहुउदेश्य आयोजना भएकोले स्थानीयहरुलाई विस्थापित नगरिकन पर्यटन विकास, आर्थिक गतिविधिको विकास गर्नुपर्ने बताए।

उनले परियोजनाको वरिपरि चक्रपथ बनाएर स्थानियलाई सोही क्षेत्रमा पुनस्थाएपित गर्नुपर्नेमा जोड दिए। उनले प्रधानमन्त्रीले परियोजनाप्रति चासो राखेको उल्लेख गर्दै परियोजना निर्माणको लागि सरकार सकरात्मक रहेको पाएको बताए।

पूर्वमन्त्री एवं विघठित प्रतिनिधि सभाका सदस्य राजेन्द्र पाण्डेले २०६९ सालमा नै डीपीआर तयार भएर र ईआईए सम्पन्न भईसकेपनि हालसम्म बन्न नसकेको बताए। १२ सय मेगावटको जलाशाययुक्त आयोजना २०६९ सालमा नै शुरु भएको भए हाल बनिसकेको हुने उल्लेख गरे। उनले त्यति खेर २ खर्व ६९ अर्बमा परियोजना सम्पन्न हुने भएपनि अब बनाउदा ४ खर्ब ६ अर्ब लागत लाग्ने स्थितिमा पुगेको बताए। उहाँले अब पनि नबनाए थप लागत बढ्दै जाने भएकोले तत्काल काम अगाडी बढाउनुपर्ने बताए।

उनले ४५ अर्ब जमिनको मुआब्जा वितरण गरिसकेको उल्लेख गर्दै परियोजना निर्माणमा जति ढिलो गर्‍यो, राज्यलाई त्यति नै बढी नोक्शानी हुने दाबी गरे। उनकाअनुसार परियोजना बनेको भए वार्षिक ३२ अर्ब रुपैयाँ बिजुली बेचेर आम्दानी गर्न सकिन्थ्यो।

विघठित प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले बूढीगण्डकी जलविद्युत परियोजना मात्रै हो की भन्ने शंकामा रहेको पाइएको जानकारी दिए। उनले त्यो शंका निवारण भएको बताए। उनले बूढीगण्डकी परियोजनाको नामबाट उठेको रकम हरेक आर्थिक वर्षमा बूढीगण्डकीको खातामा फर्काउने अर्थमन्त्री रामेश्वर खनालले प्रतिवद्धता जनाएको उनले जानकारी दिए। उनकाअनुसार २९ अर्व रुपैयाँ वार्षिक परियोजनाको खातामा जम्मा हुने देखिएको छ। 

धादिङ र गोरखाका सरोकारवालाहरुले प्रधामन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल लगायतलाई भेटेर बूढीगण्डकी परियोजना निमार्णको लागि दबाब दिएका हुन्। भेटघाटमा आयोजना प्रभावित जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, विस्थापित परिवार लगायतको सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad