फलफूल बजार यतिखेर सुनसान प्रायः बनेको छ। उपभोक्ता र फलफूल दुवैको अभावमा व्यापार घटेको व्यवसायीहरू बताउँछन्।
यतिबेला सुन्तलाको सिजन हो तर सुन्तला पनि बजारमा कम मात्रै उपलब्ध रहको व्यवसायीहरूको भनाई छ। स्याउ, केरा र बदामको कारोबार पनि कम रहेको छ। नेपालमा उत्पादन कम, आयात बन्द लगायतको कारण सबै सामग्रीहरूको मूल्य समेत वृद्धि भएको छ।
फलफूल व्यवसायी कमल पन्थले यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको तुलनामा कम भएको बताए। सुन्तला उत्पादन गर्ने किसानले मूल्य नपाउने, उपभोक्ताहरूले बढी मूल्य तिर्नुपर्ने वर्तमान अवस्था रहेको उनको भनाई छ। किसानले उत्पादनमा मल, औषधि तथा मजदुरीमा ठूलो खर्च गरेपनि बिचौलियाका कारण उचित मूल्य पाउन नसकेको उनले बताए।
बजारमा बिचौलियाको प्रभाव हावी हुँदा किसान र थोक व्यवसायी प्रत्यक्ष कारोबार हुन नसकेको उनको भनाई छ। विचौलियाका कारण किसान र व्यवसायी दुवै पक्षलाई घाटा भएको उनले बताए।

उनले भने, ‘अहिले सुन्तलाको सिजन छ, पहिलोको जस्तो सुन्तलाको उत्पादन राम्रो छैन। सुन्तलाको उत्पादन गर्दा किसानहरू धेरै मर्कामा छन्। किसान र व्यवसायी दुवै मर्कामा छौँ। यसमा फाईदा किसानलाई पनि छैन, व्यवसायीलाई पनि छैन। बीचका विचौलियालाई फाईदा छ। विचरा किसानहरूको त्यत्रो मलजल, औषधि उपचार गर्दाखेरी कति मंहगो पर्न जान्छ उहाँहरूको, फाइदा छैन किसानलाई। बिचका बिचौलियालाई दिने, कमिसन उनीहरूलाई जाने, बिचौलियाले यहाँ हामीहरूलाई ल्याएर बेच्छन्, हाम्रो खरिदमा ८०/९० यहीँ परेको हुन्छ, त्यो भाउ पनि हामीले पाएका छैनौँ।’
उनकाअनुसार विचौलियाहरूले फलको फूल खेल्न नपाउँदै किसानसँग सम्झौता गर्ने गरेका हुन्छन्। उनीहरूले फल फल्नु भन्दा अगाडी नै एड्भान्स दिएका कारण व्यापारीहरू सिधै गएर किन्न नमिल्ने उनले बताए। किसान र व्यपारीको बीचमा सम्झौता भएर कारोबार भए सबै पक्षलाई फाईदा हुने उनले बताए। सरकारले बीचको बिचौलियाहरूलाई हटाउनुपर्नेमा जोड दिए। उनले किसान र व्यवसायीको सिधा सम्पर्क हुने वातावरण सरकारले बनाउनुपर्ने जोड दिए।
नेपाल फलफूल थोक व्यवसायी संघका कोषाध्यक्ष पुरुषोत्तम घिमिरेले जेन–जी आन्दोलनपछि व्यापार कम भएको बताए। उनले भारत र चीनबाट हुने आयात ठप्प हुँदा पनि व्यापारमा प्रभाव पारेको बताए।
उनका अनुसार तातोपानी नाका हुँदै नेपाल आउने कन्टेनरहरू रोकिएका छन् भने केरुङ नाकासमेत पुल बन्द भएको कारण सुचारु रूपमा आयात हुन सकेको छैन। उनले बजारमा स्याउ–केरा जस्ता प्रमुख फल आपूर्ति नुहँदा अभाव सिर्जना भएको बताए।
घिमिरेले भने, ‘अहिले बजार निराशाजनक छ, जेन–जी आन्दोलनपछाडी चीनबाट पनि आयात त्यति सहज छैन। तातोपानीको नाकाबाट हामीले त्यति सामान ल्याउन सकेका छैनौँ। केरुङमा पनि पुल बन्द नै छ। कलकत्ताबाट आउने सामानहरू पनि आईरहेको छैन। अघोषित नाकाबन्दी जस्तो अवस्था छ। पुरै नाका बन्द छैन, थोरै गाडीहरू मात्रै छाडिएको भन्ने जानकारी आएको छ। कच्चा पदार्थसम्बन्धित भएर सयौँ कन्टेनरहरू तातोपानीमा कुहिने अवस्थामा छ।’
उनले हाल केरा आयात बन्द हुँदा बजारमा केराको अभाव भएको पनि बताए। नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने भएपनि आगामी केही वर्षसम्म स्थानीय उत्पादनले मात्र माग धान्न नसक्ने उनको भनाई छ। बजारमा स्याउ केराको नै बढी कारोबार हुने उनले बताए। नेपालमा केरा उत्पादन भएपनि पर्याप्त नहुने हुँदा माग धान्न मुस्किल हुने उनको भनाई थियो। अध्यक्ष घिमिरेले सरकारले सरोकारवालासँग छलफल गरेर मात्रै फलफूलजन्य आयात रोक्ने नरोक्ने निर्णय गर्नुपर्नेमा जोड दिए।
व्यवसायी सुमन ढुंगानाले चिसो मौसम र ठूलो संख्यामा जनशक्ति विदेशिएको कारण फलफूल खपत घटेको बताए। ढुंगानाकाअनुसार किसानले समयअगावै सुन्तला टिप्न थालेपछि सिजनमै अभाव भएको छ। तिहारपछि आउने सुन्तला दसैँमा नै टिपिँदा बजारमा कमी आएको र मूल्य पनि वृद्धि भएको उनले बताए।
उनले भने, ‘बजारमा खासै चहलपहल छैन, बाहिर पनि व्यापार छैन। चिसो छ। देशमा जनशक्ति नै छैन, आजभन्दा भोली उपभोग गर्ने मान्छे नै विदेशिएको कारणले गर्दा, जतिजनसंख्या भयो, त्यति खपत हुने त हो नी। खपत कम हुने, चिसोको कारण व्यापार खासै छैन।’
फलफूलको मात्रै होइन सिजनमा बदामको व्यापार पनि घटेको छ।
यता, व्यवसायी हरिनारायण साहले बदामको व्यापार गत वर्षको तुलनामा ६० प्रतिशतले घटेको बताए। उनले नेपालमा मान्छे नै नभएको कारण व्यापारमा कमी आएको बताउए। शाहले आवश्यक खाद्यवस्तुमा आयात सहज बनाउन पनि सरकारलाई आग्रह गरे।
उनले भने, ‘बदामको व्यापार यो सालमा धेरै कम छ। मान्छे कमी छ के नेपालमा अहिले। विदेशमा जानेहरू धेरै छन्। गतसालको भन्दा अहिले व्यापारमा धेरै कमी छ। सरकारले रोजगारी दियो भने मान्छे नेपालमा नै बस्छ, नेपालमा नै खान्छ अनि व्यापार पनि बढ्छ। गाउँघरमा बादरको कारणले बदाम उत्पादन कम भएको छ। बाँदर हटाइदिने हो भने उत्पादन पनि बढ्छ। बाँदरले जुन चिज रोप्यो त्यो नै खाइदिरहेको छ।’
उपभोक्ता वीरेन्द्र घिमिरेले फलफूल मंहगो भएको बताए। उनले किसानले कम मूल्य पाउने तर उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने गरेको गुनासो गरे। बिचौलियाका कारण मंहगी बढेको उनको भनाई छ। किसान र व्यापारी प्रत्यक्ष जोडिन सक्ने सरकारी संयन्त्र नहुँदा उपभोक्ता र किसान दुवै मारमा परेको उनले बताए।
उनले भने, ‘गतवर्षको तुलनामा अहिले मंगही बढेको छ। सस्तो गराउनेभन्दा पनि किसानले कति पाउँछन् भन्ने कुरा हो। किसान कहाँ गएर ४० रुपैयाँ किलो ल्याउने यहाँ १५० रुपैयाँ किलो सुन्तला त्यो हिसावमा त अलि फरक पर्ला। अहिले सहजीकरणको हकमा सिधै किसान र व्यापारीको बीचमा सम्बन्ध भए हुन्थ्यो। तर पहुँच हुँदैन होला यहाँ, त्यसलाई सरकारी कुनै माध्यमबाट विभिन्न कृषि कार्यलयहरू छन्, तिनिहरूले पनि सहिजकरण गरेर काम गरे सहज हुन्थ्यो। किसानले राम्रो मूल्य पाउँथे होलान्। अहिले त तीनचार स्टेप भएर आउँदा, बीचमा सबै कमिसनले गर्दा मंहगो भएको पनि हुनसक्छ।’
व्यवसायी मनु गुप्ताले चिसो बढेसँगै फलफूलको व्यापार पनि घटेको बताए।
भारत–चीनबाट आयात कम भएपछि पनि बजारमा फलफूल पनि व्यापक कमी देखिएको उनको भनाई छ।
Shares

प्रतिक्रिया