कानुनका जानकार तथा सरोकारवाला विज्ञहरुले कमजोर आत्मबल बोकेर, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका क्याविन क्रु मेम्बरले प्रभावकारी काम गर्न नसक्ने बताएका छन्।
नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले ब्राण्ड एम्बेसडरका रूपमा रहेका क्याविन क्रुको व्यवहारले संस्थाको साख पनि प्रदर्शन हुने धारणा व्यक्त गरे।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले परिचारिकाको हकहितका सवालमा सक्दो सहयोग गर्ने उल्लेख गर्दै परिचारिकाको व्यवहारले नै विमान सेवाको प्रतिष्ठा प्रदर्शन हुने बताए। उनले मन्त्रालयले उड्डयन क्षेत्रमा सुधारका काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
निगमका महानिर्देशक अमृतमान श्रेष्ठले संस्थाभित्रका समस्यामा आरोप प्रत्यारोपमा लाग्नुभन्दा सबै मिलेर समस्याको समाधानमा लाग्नुपर्नेमा जोड दिए। उनले उडान सेवामा परिचारिकाको व्यवहारले नै मुलुकको साख प्रर्दशन निर्भर रहने उल्लेख गर्दै परिचारिकाको अवकास उमेर हदको माग सम्बोधन गर्न निगमले गृहकार्य गरिरहेको बताए।
मानवअधिकार आयोगका सदस्य डा लिली थापाले महिला परिचारिकाका समस्या र चुनौतीका बारेमा कमै मात्र बहस हुने गरेको बताउँदै यो मुद्दा परिचारिका वा व्यवस्थापनको मात्र नभई आमनागरिकको विषय भएको उल्लेख गरे। साथै उनले परिचारिकाको काम दिनरात खटिने चुनौतीपूर्ण काम भएको र मनमा दुःख भएपनि हासेर काम गरिरहनुपर्ने भएकाले प्रभावकारी परिणामका लागि उनीहरूका चुनौती सम्बोधन गर्नुपर्नेमा जोड दिए।
माइती नेपालका संस्थापक एवं अभियन्ता अनुराधा कोइरालाले नेपालका परिचारिकाको व्यवहार तुलनात्मक रुपमा राम्रो रहेको बताउँदै उनीहरुलाई न्याय दिलाउने काममा सरोकारवालाको ध्यानाकर्षण गराए। उनले समाजमा विभिन्न किसिमका लैङ्गिक विभेद रहेको बताउँदै यस्ता विभेदका विरुद्ध सबैले आ आफ्नो ठाउँबाट आवाज उठाउनुपर्नेमा जोड दिए।
एसोसिएसनका अध्यक्ष प्रजिता कार्कीले हवाई सेवा सुधार वा निगमको विकास र सुधारमा जति अन्य पक्षको महत्व छ, त्यति नै क्याविन क्रुको महत्व रहेको उल्लेख गरिन्। राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको व्यापक सुधार, विकास र विस्तार हुनु जरुरी रहेको बताउँदै उनले ब्राण्ड एम्बेसडरका रुपमा रहेका क्याविन क्रु स्वंले भने विभिन्न असमनता र भेदभाव भोग्नु परिरहेको गुनासो गरिन्।
अध्यक्ष कार्कीले क्याविन क्रुमाथि वर्षौंदेखि हेरिँदै आएको सोच, व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिँदै कमजोर आत्मबल बोकेर, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने काम गरिरहेका क्याबिन क्रु मेम्बरले प्रभावकारी काम गर्न नसक्ने बताइन्।
अधिवक्ता अनन्तराज लुइँटेलले निगमका परिचारिकाको अवकासको विभेदसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा रहेको बताउँदै २१औँ शताब्दीमा विश्वमा परिचारिकाका सुविधामा धेरै सुधार आइसकेको अवगत गराए। उनले श्रम ऐन २०७४ आइसकेपछि कुनै पनि संस्थानमा कर्मचारीबीच देखिने विभेद सम्बन्धी मुद्दामा अदालतमा जान पाइने व्यवस्था गरेको बताए।
उद्घाट्न समारोहपछि भएको समूहगत छलफलमा निगमका क्याप्टेन भोगेन्द्र कठायत, निगमका पहिलो परिचारिका लक्कीमनि शाही, निगमका इनफ्लाइट सुपरभाइजर प्रदा कार्की, एयर ट्राफिक कन्ट्रोलर हिना झा र एरोस्पेस इन्जिनियर सुनिरा रेग्मीले उड्डयन क्षेत्रमा भए गरेका काम, समस्या र चुनौती बारेमा आ–आफ्ना अनुभव आदानप्रदान गरेका थिए। समूहगत छलफलको संयोजन वरिष्ठ पत्रकार बबिता बस्नेतले गरेकी थिइन्। रासस
Shares

प्रतिक्रिया