कारोबार


प्राइभेट इक्विटी भेन्चर क्यापिटलमार्फत हुने लगानी झण्डै ३ करोड डलरले बढ्यो

पछिल्ला १२ वर्षमा १३७ परियोजनामा १७ करोड डलर बढी लगानी
प्राइभेट इक्विटी भेन्चर क्यापिटलमार्फत हुने लगानी झण्डै ३ करोड डलरले बढ्यो

निर्दोष घोरसाइने
मंसिर २८, २०८२ आइतबार १५:५, काठमाडौँ

नेपालमा प्राइभेट इक्विटी भेन्चर क्यापिटल (पीईभीसी)को लगानी बढेको देखिएको छ। नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए)को तथ्यांकले पीईभीसीको लगानी सन् २०२३ को तुलनामा सन् २०२४ मा बढेको देखाएको हो।

विशिष्टीकृत लगानी कोष (सिफ) मार्फत हुने लगानी बढ्दा पीईभीसीको लगानीमा वृद्धि भएको देखिएको छ। सन् २०२४ मा ९ वटा पीईभीसीले ४० परियोजनामा ६ करोड ४० लाख अमेरिकी डलर नेपालमा लगानी गरेका हुन्।

सन् २०२३ मा ८ पीईभीसीले २२ परियोजनामा ३ करोड ५० लाख अमेरिकी डलर लगानी गरेका थिए। सन् २०२३ को तुलनामा पीईभीसीको लगानी सन् २०२४ मा २ करोड ९० लाख अमेरिकी डलरले बढेको देखिन्छ। 

२०२४ मा अल्फा प्लस भिजन फन्डमार्फत ४, अवसर इक्विटी डाइभरसिफाइड फन्डमार्फत ५, डोल्मा इम्प्याक्ट फन्ड २ मार्फत २, लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत ३, नेपाल अपच्र्युनिटी फन्ड– १ मार्फत १०, एनआईबीएल इक्विटी पार्टनर्समार्फत ४, प्रभु डाइनामिक प्राइभेट इक्विटी फन्ड–१ मार्फत ३, रिलायबल प्राइभेट इक्विटी फन्डमार्फत ८ र ट्रु नर्थ एसोसिएट्समार्फत एक परियोजनामा लगानी भएको छ। 
१७ वटा क्षेत्रमा लगानी गरेको पीईभीसीको सबैभन्दा धेरै जलविद्युत् परियोजनामा छ। जलविद्युतमा मात्रै पीईभीसीको ५ करोड ५१ लाख ८८ हजार ८५६ अमेरिकी डलर लगानी छ। 

त्यसैगरी सूचना प्रविधि क्षेत्रमा ३ करोड ८१ लाख १४ हजार ११२ अमेरिकी डलर र उत्पादनमूलक उद्योगमा २ करोड ४६ लाख ६९ हजार ३८५ रुपैयाँ लगानी छ। 

सन् २०१२ देखि २०२४ सम्म १९ वटा पीईभीसीले १३७ परियोजनामा १७ करोड ४० लाख अमेरिकी डलर लगानी गरेका थिए। सन् २०२३ मा पीईभीसीको लगानी १० करोड १० लाख अमेरिकी डलर पुगेको थियो। 

१२ वर्षको अवधिमा पीईभीसीमार्फत भएको आधाभन्दा बढी लगानी  २०२४ मा मात्र विस्तार भएको हो। 

कुल पीईभीसीको लगानीको ३७ प्रतिशत लगानी २०२४ मात्रै विस्तार भएको छ।  

नेपालमा चार प्रकारका पीईभीसीले लगानी गरेको पाइन्छ। स्थानीय कोष (लोकल फन्ड), अफसोर एफडीआई फन्ड, अनसोर एफडीआई फन्ड र सिफ फन्ड (विशिष्टीकृत लगानी कोष) मार्फत पीईभीसीले लगानी गरेका छन्। 

२०२४ मा अनसोर एफडीआई फन्डमार्फत लगानी विस्तार नभएको एनपीईएको तथ्यांकमा देखिन्छ। 

पछिल्लो समय अनसोर र अफसोर एफडीआई दुवै भित्रिने क्रम कम भइरहेको बिजनेस अक्सिजनका निर्देशक दीपक शर्माले बताए। 

‘अनसोर एफडीआईमार्फत आएको लगानी नेपालबाहिर अन्य मुलुकमा लगानी गर्न पाइँदैन’, शर्माले नेपालखबरसँग भने, ‘अनसोर गर्नुभन्दा अफसोर गर्दा कम कर पर्ने भन्ने बुझाइले पनि यसमा काम गरेको हुन्छ।’

विदेशी पैसा नेपालमा दर्ता कम्पनीमार्फत हुने अनसोर र विदेशी पैसा विदेशकै कम्पनीमार्फत हुने अफसोर लगानी हो। 

देशमा पछिल्लो राजनीतिक घटनाक्रमले नेपालमा फन्ड राख्नु सुरक्षित हुन्छ कि हुँदैन भन्ने अवस्था रहँदा बैंक तथा वित्त (बीएफआई) र लगानीकर्तालाई नेपाल आउन सहज छैन। 

यस्तोमा सन् २०२४ मा सबैभन्दा धेरै लगानी सिफ फन्डमार्फत भएको छ। २०२४ मा पीईभीसीमार्फत भएको लगानीको ७४.३३ प्रतिशत हिस्सा सिफ फन्डको छ। यसबाहेक अनसोर एफडीआई फन्डले १५.३१ प्रतिशत र लोकल फन्डले १०.३६ प्रतिशत हिस्सा ओगटेका छन्। 

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत इजाजतपत्र प्राप्त कोष व्यवस्थापकले कोष व्यवस्थापनमार्फतको लगानी विस्तार गर्दा २०२४ मा पीईभीसीमार्फत हुने लगानी बढेको नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए)का अध्यक्ष धुव्र तिमिल्सिना बताउँछन्।  

विशिष्टीकृत लगानी कोष नियमावली वि.सं. २०७५ मा जारी भए पनि नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २०७९ देखि कोष व्यवस्थापकलाई कोष व्यवस्थापनको अनुमति दिन सुरु गरेको थियो। हालसम्म सेबोनले १८ वटा कम्पनीलाई कोष व्यवस्थापकको लाइसेन्स प्रदान गरिसकेको छ। तर यी सबै कोष व्यवस्थापक एनपीईएमा आबद्ध छैनन्। 

एनपीईएमा आबद्ध हुने पीईभीसीको संख्या १८ छ। एनपीईएमा आबद्ध संस्थाहरुले विभिन्न क्षेत्रमा गरेको लगानीका आधारमा एनपीईएले यस तथ्यांक सार्वजनिक गरेको हो। 

‘एउटाबाहेक अन्य अन्तर्राष्ट्रिय फन्डहरु सानो आकारका थिए। नियामक सेबोनले पनि सिफ नियमावलीमार्फत वैकल्पिक वित्तलाई प्रोत्साहन गर्ने नीति लिएको छ। लाइसेन्स लिएका कोष व्यवस्थापकलाई सेबोनले कोष व्यवस्थापनको पनि अनुमति दिँदै आएको छ’, तिमिल्सिनाले भने, ‘कोष व्यवस्थापकले कोषमार्फत लगानी परिचालन गर्दा लगानी बढेको देखिएको हो।’

२०२४ सम्म सबैभन्दा धेरै लगानी अफसोर एफडीआई फन्डको छ। अफसोर एफडीआई फन्डले कुल पीईभीसीको लगानीको ३६.७० प्रतिशत हिस्सा ओगटेको छ। यस्तै सिफ फन्डको ३६ प्रतिशत, लोकल फन्ड २१.१० प्रतिशत र अनसोर एफडीआई फन्डले ६.२० प्रतिशत लगानी विस्तार गरेका छन्। 

२०२३ सम्म सिफ फन्ड १३.२ प्रतिशत, लोकल फन्ड ३०.७ प्रतिशत, अनसोर एफडीआई १०.७ प्रतिशत र अफसोर एफडीआईको ४५.५ प्रतिशत हिस्सा थियो। 

एफडीआई भित्र्याउन सरकारले आवश्यक सहजीकरण नगर्दा पछिल्लो एफडीआईमार्फत आउने फन्डको हिस्सा घट्न पुगेको अध्यक्ष तिमिल्सिना बताउँछन्। 

‘सरकारले फन्डभन्दा पनि फन्डमार्फत गरिएको लगानीमा हुने आम्दानीमा कर लिने गरेको छ। फन्डको लगानी एउटा क्षेत्रमा मात्रै नभई विविधीकरण गरिएको हुन्छ। सबै लगानीले राम्रो प्रतिफल दिन्छ भन्ने हुँदैन। राम्रो प्रतिफल दिने फन्डहरु सुरुमा बिक्री हुन्छन्’, तिमिल्सिनाले भने, ‘त्यसबाट प्राप्त हुने आम्दानीमा कर लिइन्छ। घाटा हुने लगानीबाट ढिलो बाहिरिनुपर्ने हुन्छ।’ 

यस्तोमा फन्डमार्फत हुने लगानीमा एकमुष्ठ कर लगाउने नीतिको व्यवस्थापन गर्दा कोष व्यवस्थापकलाई आर्थिक रुपमा न्यून क्षति हुने र यसबाट लगानी विस्तार गर्न पनि प्रोत्साहन पुग्ने उनको भनाइ छ। 

पीईभीसीले नेपालमा गरेको लगानीमध्ये २०२४ सम्म ११ वटा परियोजनाबाट मात्रै ‘फुल एक्जिट’ लिएको छ भने ८ वटामा आंशिक रुपमा एक्जिट लिँदा अझै ११८ वटा परियोजनामा पीईभीसीको लगानी कायम छ। 

पीईभीसीहरुले ४ परियोजनामा ऋण लगानी, ३ वटामा इक्विटी तथा प्रिफरेन्स सेयर, २० वटामा हाइब्रिड र ११० वटामा इक्विटी सेयर लगानी गरेका छन्। 

पीईभीसीलाई वैकल्पिक वित्त औजारको रुपमा लिने गरिन्छ। यसले इक्विटी तथा धितोका आधारमा मात्र नभई स्टार्टअप, नवीनतम ज्ञान, सीप र क्षमता भएका, नयाँ वस्तु, सेवा, प्रविधि एवम् बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसायमा लगानी बढाउँछन्। भेन्चर क्यापिटल आइडिया तथा इन्नोभेसनमा लगानी हुने गर्छ। पीईभीसीले लगानीका साथै व्यवस्थापकीय पक्ष, बजारीकण र पुँजीवृद्धिका लागि पनि आवश्यक सहयोगका साथ स्रोत र साधन उपलब्ध गराउने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad