विचार


हन्टिङटनलाई फेल गराउने सी-पुटिन दोस्ती

सबैभन्दा बढी रक्तपात दुई सभ्यताबीच होइन, एउटै सभ्यताभित्र चलिरहेको छ
हन्टिङटनलाई फेल गराउने सी-पुटिन दोस्ती

जनन गणेश
मंसिर २७, २०८२ शनिबार ९:२४,

स्यामुएल हन्टिङटनको मृत्यु २००८ मा भयो। मृत्यु हुनुअघिसम्म उनले भन्न सक्थे, ‘देख्यौ त, मैले भनेको पुग्यो कि पुगेन!’ त्यसमा मान्छेले खासै असहमति जनाउने थिएनन्। किनकि अमेरिका इराक र अफगानिस्तान युद्धमा संलग्न भएको धेरै वर्ष भइसकेको थियो। 

पश्चिमा र मुस्लिम विश्वबीचको त्यस्तो हिंसाले हार्वर्डका यी विद्वानको सिद्धान्तलाई सही साबित गरेको देखिन्थ्यो। किनकि हन्टिङटनले कुनै बेला विश्वलाई सभ्यताका आधारमा विभाजन गरेका थिए र ती सभ्यताहरूबीच टकराव हुने भविष्यवाणी गरेका थिए। र, जसै हाम्रो यो उथलपुथलयुक्त सहस्राब्दी अघि बढ्यो, हन्टिङटनलाई ‘भविष्यद्रष्टा’ उपनामले पछ्याउन थाल्यो।

कसैको ‘मृत्यु एकदमै उपयुक्त समयमा भयो’ भनेको सुन्दा साह्रै नराम्रो लाग्छ। तर, हन्टिङटन आजको दिनसम्म बाँचेको भए उनले खुब आलोचना खेप्नुपर्ने थियो। जसरी संसारलाई गलत तरिकाले बुझेकोमा बिचरा फ्रान्सिस फुकुयामाले गाली भेटिरहेका छन्। आज सबैभन्दा महत्त्वपूर्ण द्वन्द्वहरू सभ्यताहरूको बीचमा होइन, सभ्यताभित्रै चलिरहेको छ। सभ्यता शब्द यति लोकप्रिय र यति निरर्थक कहिल्यै थिएन।

विश्वमा जहाँजहाँ द्वन्द्व छ, त्यहाँ हेरौँ न। युक्रेन युद्ध ‘अर्थोडक्स’ क्रिस्चियन सभ्यताभित्रको युद्ध हो। कमसेकम हन्टिङटनले गरेको वर्गीकरणअनुसार। जनवादी गणतन्त्र चीन र ताइवानबीच बेलाबेलामा हुने तनाव अर्को उदाहरण हो– एउटै संस्कृति र सभ्यताभित्रको द्वन्द्वको। यो क्षेत्रलाई हन्टिङटनले ‘चीनमण्डल’ भनेका थिए। 

यतिबेला पृथ्वीमा सबैभन्दा धेरैको ज्यान लिइरहेको जारी द्वन्द्व सुडानको गृहयुद्ध हो। यो द्वन्द्व पनि कुनै दुई स्पष्ट धार्मिक वा सांस्कृतिक समूहको लडाइँ होइन। द्वन्द्वरत दुई पक्षका विदेशी संरक्षकधरी एउटै सभ्यताभित्रका हुन्। उनीहरूलाई एकातिर यूएईले सघाइरहेको छ भने अर्कोतिर इजिप्टले। दुवै मुस्लिम मुलुक हुन्।

बरु इजरायल–प्यालेस्टाइनबीचको मुद्दा चाहिँ दुई सभ्यताबीचको द्वन्द्वजस्तो लाग्छ। तर, यो विश्वका अन्य द्वन्द्वग्रस्त क्षेत्रजस्तो सामान्य उदाहरण होइन। वास्तवमा, मलाई के लाग्छ भने दुई सभ्यताबीचको द्वन्द्वका रूपमा बुझ्न सजिलो हुने भएकैले यो स्थानीय द्वन्द्वप्रति धेरै बाहिरिया मान्छेहरू चाख लिन्छन्। किनकि, यो चाहिँ ‘हुनैपर्ने’ द्वन्द्व हो जस्तो लाग्छ। 

तर, आजका अधिकांश द्वन्द्वग्रस्त क्षेत्रहरूको विभाजन रेखा यति स्पष्ट छैनन्। ‘इस्लामका सीमा रक्तरञ्जित छन्’, हन्टिङटनले गरेको सबैभन्दा कुख्यात दाबी यही थियो। अर्थात्, जब इस्लामले अर्को सभ्यतालाई छुन्छ, तब लडाइँ सुरु हुन्छ। तर, गएको दशकका प्रमाणहरूलाई नियाल्ने हो भने मुस्लिम मुलुकहरूको खास निसाना गैरमुस्लिम होइन, मुस्लिम मुलुकतिरै सोझिएको देखिन्छ।

नपत्याए इरान र साउदी अरबबीचको छद्म युद्ध हेरे हुन्छ। अथवा, इजिप्ट र अरु खाडी मुलुकले कतारलाई लगाएको नाकाबन्दी र यमनमा जारी संघर्षलाई हेरौँ, जहाँ यसै हप्ता यूएईले सघाएको विद्रोही समूहले साउदी समर्थित सरकारविरुद्ध लडाइँमा प्रगति गरेको छ। यही प्रमाणको खातमा सिरियाको गृहयुद्धलाई पनि थपिदिऊँ र त्यसअघिको अरब स्प्रिङलाई पनि हेरौँ। सबैभन्दा ‘रक्तपात’पूर्ण लडाइँ कुनै एक सभ्यताभित्रै भएको छ, नकि दुई सभ्यताबीच।

कसले कोसँग लडाइँ गर्छ भन्ने भविष्यवाणी सभ्यताले गर्न सक्दैन। त्यसमाथि कसले कोसँग सहकार्य गर्छ भन्ने अनुमान त यसले झन् गर्न सक्दैन। पश्चिमा उदारवादीहरूलाई सबैभन्दा छक्क पार्ने द्विपक्षीय सहकार्य हो– रुसका भ्लादिमिर पुटिन र चीनका सी चिनफिङबीचको सम्बन्ध। उनीहरूको सहकार्यले सभ्यताको सीमा मेटाएको छ। 

हन्टिङटनले धर्मलाई सभ्यताको महत्त्वपूर्ण हिस्सा मानेका छन्। तर, ईयूको रुससँग निकट रहेको आफ्नै सदस्य राष्ट्रसँग भन्दा सिन्तो–बौद्ध धर्म मान्ने जापानसँग राम्रो सम्बन्ध छ। उत्तर र दक्षिण कोरिया सभ्यताले मात्रै होइन, जातीय रूपमै एकै हुन्। तर, उनीहरूको भूराजनीतिक सहयोगी अलगअलग छन्। (र, यी दुई मुलुक कानुनी रूपले अझै युद्धमै छन्)।  कुनै पनि मुलुकको विदेश नीति प्राचीन सांस्कृतिक पहिचानले होइन, वर्तमान अनुभवले तय गर्छ भन्ने कुरा कोरियाली प्रायद्वीपले पुष्टि गर्छ।

तर, वर्तमान अमेरिकी सरकारको अडान अनौठो छ। ‘युरोप पर्याप्त रूपमा पश्चिमा बन्न सकेन। त्यसैले अब रुस र साउदी अरबलाई अँगालौँ।’ नबंग्याई संक्षिप्तमा भन्नुपर्दा अमेरिकी सरकारको रवैया यही हो। तानाशाहलाई पूजा गर्ने नैतिकता जेसुकै होस्, यो कुरा आफैँमा असंगत छ। जो मान्छेहरू पश्चिम अरुभन्दा अलग्गै सभ्यता हो भनेर सबैभन्दा बढी गफ गर्छन्, व्यवहारमा तिनै मान्छेले जोसँग पनि लसपस गर्छन्।

उसोभए हन्टिङटनले यो कुरा किन बुझेनन्, उनी यति गलत किन हुन पुगे त? 

द्वन्द्वलाई बुझ्न आफैँले त्यसको स्वाद चाखेको हुनुपर्छ। यही कारणले हुनसक्छ, बन्दुक बोक्न रुचाउने चर्का राष्ट्रवादी विन्स्टन चर्चिल र उपनिवेशकालमा प्रहरी अधिकृत बनेका जर्ज अर्वेलले १९३० को दशकमा तानाशाहरूको मनसाय प्रस्ट बुझे। जबकि ‘श्रेष्ठ’ ठानिएका थुप्रै मान्छेले बुझेनन्। हन्टिङटन एकदम शान्त स्वभावका थिए। त्यसैले सायद उनी युद्धको भविष्यवाणी गर्न उपयुक्त पात्र थिएनन्। खासगरी, राजनीतिको हरेक तहमा लागू हुने एउटा सत्य उनले बुझ्नै सकेनन्। त्यो हो– कट्टरपन्थीहरूले सबैभन्दा बढी घृणा प्रत्यक्ष शत्रुलाई गर्दैनन्। 

बरु, उनीहरू त कुरा बुझेर आफूमाथि शंका गर्नेहरू, विचलित भएका समर्थकहरू र विभाजनकारीहरूलाई सबैभन्दा घृणा गर्छन्। किनकि, पराइलाई बेवास्ता गर्न सजिलो हुन्छ। आफूलाई समर्थन गर्नेहरू विचलित भएको कुरा सहन उनीहरूलाई मुस्किल हुन्छ। ‘वोक’ एक्टिभिस्टहरूले सबैभन्दा बढी कसलाई ‘क्यान्सिल’ गर्न खोजे त? जेके रोलिङजस्ता उदारवादीलाई, नकि कट्टर दक्षिणपन्थीहरूलाई। किनकि दक्षिणपन्थीहरूसँग त उनीहरूको सम्पर्क नै सीमित हुने गर्छ।

यही सिद्धान्तलाई राष्ट्रको स्तरमा लागू गरेर हेर्नुहोस्– बल्ल २०२५ को यो संसारलाई बुझ्न सकिन्छ। जहाँ विचलन देखा पर्‍यो, त्यहीँ द्वन्द्व भएको छ। अर्थोडक्स हुँदाहुँदै पश्चिमतिर फर्केको युक्रेन, सांस्कृतिक रूपमा चिनियाँ तर लोकतान्त्रिक ताइवान अनि इस्लामभित्रकै अलग मत। हिंसाको सम्भावना त छैन, तर अमेरिकी पपुलिस्टहरूले युरोपमाथि गरेको आक्रमण सानो भिन्नताबाट जन्मिने ठूलो कटुताको अर्को उदाहरण हो।

सेप्टेम्बर ११, २००१ को आतंकवादी आक्रमणलाई लामो समयसम्म २१ औँ शताब्दी सुरु भएको क्षणका रूपमा हेरियो। तर, अहिले पछि फर्केर हेर्दा २१ औँ शताब्दीको वास्तविक सुरुवात त्यसको सात वर्षपछि पुटिनले जर्जियामाथि गरेको आक्रमण थियो। किनकि सोभियत संघको हिस्सा रहेको जर्जिया पश्चिमतिर ढल्किँदै थियो। 

एउटै सभ्यताभित्र पनि द्वन्द्व हुन सक्छ, धर्मले समेत एकता कायम राख्न सक्दैन, त्यो युद्धले हामीलाई यो महत्त्वपूर्ण पाठ सिकाएको थियो। तर, त्यो साल गर्मीमा आएको वित्तीय संकटको होहल्लाले यसलाई छोपिदियो। यस्तो पाठ फेरि सिक्ने मौका हामीले पटकपटक पाइरहनेछौँ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad