कारोबार


ग्लोबल आईएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

नेपालखबर
पुस २३, २०८२ बुधबार १२:१०, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ। 

बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच ग्लोबल आईएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको हो।

काठमाडौँमा आयोजित विशेष समारोहबिच बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्यहरु राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरुलाई सम्मान गरेका हुन्। 

सम्मान समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।

उनले १९ वर्षपहिले १९औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको यस ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए।

उनले बैंक वा कुनै पनि संस्था सफल हुनका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशिलताको उत्तिकै महत्व हुने बताउदै सम्पूर्ण कर्मचारीहरुलाई अझ लगनशिल भएर आफ्नो कर्तव्य पालना गर्न आग्रह गरे।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्‍याएको विशेष योगदानप्रति सबै कर्मचारीहरुलाई धन्यवाद समेत प्रकट गरे। 

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए।

बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत सुमन पोखरेलले बैंकले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक–फरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ। 

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।  

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad