प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ल्याएको नतिजा र समानुपातिकतर्फ पाएको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमतको नजिक छ।
रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५१ लाखभन्दा बढी मत ल्याइसकेको छ। अब रास्वपाको नेतृत्वमा एकल सरकार बन्ने निश्चित भइसकेको छ। सम्भवतः चैतभित्र रास्वपाको नेतृत्वमा नयाँ मन्त्रीमण्डल विस्तार हुँदै छ।
नयाँ सरकार चलाउने दल टुंगो लागिसकेको छ। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बन्नेछन्। उनले मन्त्रीमण्डल विस्तार गर्नेछन्। सरकार निर्माण प्रक्रिया औपचारिक रुपमा अघि बढेको छैन। त्यसैले अहिलेसम्म को–को मन्त्री हुने भन्ने विषय पनि टुंगिसकेको छैन।
दुई/चार दिन ढिलाचाँडो मन्त्रीमण्डल विस्तार हुने नै छ। मन्त्रीहरु बस्ने स्थानको व्यवस्थापन सरकारले गर्दै आइरहेको छ। यसका लागि सरकारले अर्बौँ रुपैयाँ खर्च गरेर ललितपुरको भैँसेपाटीमा मन्त्री क्वार्टर निर्माण गरेको थियो। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनी क्रममा भएको आगलागीबाट भैँसेपाटीस्थित मन्त्री क्वार्टरका प्रायः सबै ब्लक ध्वस्त हुन पुगेको छ।
२०८१ असारदेखि भैँसेपाटीस्थित क्वार्टरमा मन्त्रीहरु बस्न सुरु गरेका हुन्। यसअघि मन्त्रीहरु पुल्चोकस्थितको क्वार्टरमा बस्दै आएका थिए। हाल उक्त क्वार्टरमा सर्वोच्च अदालतका न्यायाधीश बस्न थालिसकेका छन्। भएको संरचना जलेर ध्वस्त हुँदा पुरानो क्वार्टर न्यायाधीशहरुले प्रयोग गर्दा नवनियुक्त मन्त्रीहरु बस्ने स्थानबारे हालसम्म अन्योल नै छ।
मन्त्रीहरुको व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्दै आइरहेको छ।
नवनियुक्त मन्त्रीहरुको व्यवस्थापनका लागि दुई विकल्पमा काम भइरहेको कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठले जानकारी दिए।
‘काठमाडौंमा आफ्नै घर भएका मन्त्रीज्यूहरुलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउँछौँ। काठमाडौं घर नहुने मन्त्रीज्यूहरुलाई भाडामा घर उपलब्ध गराउन सकिने अवस्था रहन्छ’, कण्ठले भने। यसका लागि उच्चस्तरबाट निर्णय भएपछि मात्र घर भाडामा खोज्ने अवस्था रहने उनले बताए।
मन्त्री क्वार्टरका २७ ब्लकमध्ये २६ वटामा आगजनी भएको थियो। एउटामा तोडफोड मात्र भएको थियो। तोडफोड भएको ब्लक रक्षामन्त्रीका लागि निर्माण गरिएको थियो। मर्मतसम्भारपछि उक्त ब्लकमा वर्तमान सरकारका दुई मन्त्रीले उपयोग गरिसकेका छन्। हाल वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका माधवप्रसाद चौलागाईंले प्रयोग गरिरहेका छन्। यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता बसेका थिए। गुप्ता मन्त्रीबाट राजीनामा दिएर रास्वपाबाट चुनाव लड्न हिँडेपछि चौलागाईं बसेका हुन्।
आगामी सरकारबाट मन्त्री बन्नेमध्ये एक जना मात्र मन्त्री क्वार्टरमा बस्न पाउनेछन्। बाँकीले आफ्नै घर वा भाडामा बस्नुपर्ने अवस्था छ।
मन्त्री क्वार्टर पुनर्निर्माणको प्रक्रियामा
आगलागीका कारण क्षति पुगेको संघीय मन्त्री क्वार्टरको पुनर्निर्माण प्रक्रिया कार्यालयले अघि बढाइसकेको छ। यसका लागि गत फागुन ११ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बोलपत्र आह्वान गरेको थियो।
गत फागुन १७ गते खोलिएको बोलपत्रमा मन्त्री क्वार्टर पुनर्निर्माणका लागि चार कम्पनीले प्रस्ताव पेस गरेका छन्। प्रस्तावक कम्पनीहरुको प्राविधिक मूल्यांकन भइरहेको छ।
‘प्राविधिक मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ। प्राविधिक मूल्यांकनमा सबल देखिएका कम्पनीहरुको आर्थिक प्रस्ताव खोलिनेछ। त्यसमा अब्बल देखिने कम्पनीलाई निर्माणको जिम्मा लगाउनेछौँ’, सुपरिन्टेन्डेन्ट इन्जिनियर कण्ठले भने।
हाल ठेक्का प्रक्रियामा रहेको ११ वटा ब्लकको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने कार्यालयको लक्ष्य छ। बाँकी १५ वटा ब्लकको पनि छिट्टै ठेक्का निकाल्ने गरी तयारी भइरहेको कण्ठले बताए।
मन्त्रीहरुले छुट्टै र व्यवस्थित आवास उपलब्ध गराउन सरकारले २०७६ सालदेखि भैंसेपाटीमा मन्त्री क्वार्टर निर्माण सुरु गरेको थियो। यसका लागि २०७६ कात्तिकमा केसी–समानान्तर जेभी व्यावसायिक कम्पनीसँग दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। ठेक्का रकम १ अर्ब ३ करोड ४६ लाख ८३ हजार रुपैयाँ थियो।
कोभिड–१९ महामारी, निर्माण सामग्रीलगायत विभिन्न कारणले निर्माण अवधि लम्बिएको थियो।
भैँसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुखका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण गरिएका छन्। भैँसेपाटीस्थित मन्त्री निवासको क्षेत्रफल ९६ रोपनी १० आना छ। हरेक भवनले करिब सात आना क्षेत्रफल ओगटेका छन्।
मल्लकालीन शैलीमा निर्मित मन्त्री निवासमा जिम हल, पौडी पोखरी, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने कोठासहित मन्त्री निवास बनाइएको थियो। प्रत्येक भवनको माथिल्लो तलामा योगका छुट्टै कोठा बनाइएको थियो। त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा, निजी कोठा र स्वकीय सचिव बस्ने कोठा थिए।
दोस्रो तलामा आवासका लागि कोठा छुट्याइएको थियो। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि बनाइएको थियो। मन्त्री निवास नेपाली कला, संस्कृति तथा परम्परा झल्किने गरी बनाइएको थियो।
२०२८ सालमा पुल्चोकमा १४ वटा मन्त्री निवास बनाइएको थियो। पछि २०५४ सालमा सरकारले ५ वटा भवन थपेको थियो। पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएकाले सरकारले भैँसेपाटीमा नयाँ निवास बनाएको हो। जेनजी आन्दोलनमो भुङ्ग्रोमा भैँसेपाटीस्थित मन्त्री क्वार्टर पर्दा आन्दोलनपछि बनेको सरकारका मन्त्रीहरु आफ्नै घर वा भाडामा बस्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको हो।
Shares

प्रतिक्रिया