सूर्य नेपाल प्राइभेट लिमिटेड (एसएनपीएल)ले बुधबार ‘प्रिमियम हिमालयन हनी’ सार्वजनिक गरेको छ।
कम्पनीले नेपाली कृषि उत्पादनलाई विश्वबजारमा पुर्याउने लक्ष्यसाथ धेरै माग भएको अमेरिकी बजारलाई लक्षित गर्दै नेपाली प्रिमियम मह ‘मरानी’ बजारमा ल्याएको हो।
‘मरानी’लाई कम्पनीले अल्ट्रा–प्रिमियम र उचाइको हिमाली ‘चेस्टनट हनी’ भनेको छ। यो नेपालको ‘एपिस सेरेना’ भनिने रैथाने मौरी प्रजातिबाट उत्पादन भएको मह भएको कम्पनीले उल्लेख गरेको छ। मरानीले ‘सार्वभौम विलासिता’ दिने उल्लेख गर्दै कम्पनीले यो केवल अमेरिकी बजारका लागि भएको बताएको छ। यसले नेपालको प्राकृतिक सम्पदाको लागि उच्च मानक स्थापित गर्ने सूर्य नेपालको भनाइ छ।
नेपालले विश्व मानचित्रमा हालसम्म उच्चकोटिको पदचाप छोड्न नसकेको बेला कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको हो। मरानीले पश्चिमा राष्ट्रमा ‘ब्रान्ड नेपाल’ निर्माण गर्ने कम्पनीको अपेक्षा छ।
कम्पनीको यो उत्पादनले विश्वबजारमा ‘नेपालमा बनेको’ ट्याग प्रदर्शन गर्नेछ। वैज्ञानिक अनुसन्धान, स्थानीय स्रोत, वातावरणीय शुद्धताले विश्वस्तरीय मापदण्ड भेट्न सक्छ भन्ने कुरा मरानीले पुष्टि गरेको कम्पनीको दाबी छ।

सूर्य नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत गौरव तायलले भने, ‘हामी केवल महको बोटलिङ र प्याकेजिङ मात्र गरिरहेका छैनौँ, नेपालको उत्कृष्टता पस्किरहेका छौँ।’
यसको सक्रियतापूर्ण विकासलाई ध्यान दिएर उत्पादनमा लागिरहने उनको भनाइ छ।
अमेरिकालाई नै लक्ष्य गरेर उत्पादन बजारमा ल्याउनुमा नेपाली वस्तुले विश्व बजारमा प्रस्तुत हुन सक्छ भन्ने देखाउनु रहेको कम्पनीको भनाइ छ।
नेपाली रैथाने उत्पादनले न्युजिल्यान्डको मानुकाजस्ता चर्चित उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने देखाउने कम्पनीले उल्लेख गरेको छ।
‘अमेरिका पठाइने हरेक (महको) जारले नेपालको सुप्रसिद्धिलाई बोकेको छ’, उनले भने, ‘हामी नेपालको प्रतिनिधित्व गर्ने गुणस्तरीय उत्पादन पठाइरहेका छौँ।’

हिमालयन ट्रेजर्सले निजी क्षेत्रको मार्गप्रशस्त गर्ने कम्पनीको विश्वास छ। यसले अमेरिकाको नियामकीय र अन्य अवरोध छिचोल्दै भविष्यमा ब्रान्ड नेपालको मूल्य शृंखला निर्माण गर्ने कम्पनीको अपेक्षा छ।
मरानी अमेरिकामा यही महिनाको सुरुतिर बजारमा प्रवेश गरिसकेको छ भने यो अमेरिकी उपभोक्ताका लागि हिमालयन ट्रेजर्स डटकम डिजिटल फ्ल्यागशिप र अमेजन डटकममार्फत उपलब्ध हुने सूर्य नेपाल प्रालिले जनाएको छ।
भिडिओ:
Shares

प्रतिक्रिया