कारोबार


एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

नेपालखबर
चैत १२, २०८२ बिहिबार २१:४४, काठमाडौँ

एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ। यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउनेछ।

कम्पनीका अनुसार नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ। यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ।

साथै, एमजीले आफ्ना विद्युतीय कारहरूमा पनि ठूलो सुधार गर्ने योजना बनाएको कम्पनीको भनाई छ।

‘सेमी सोलिड स्टेट’ भनिने नयाँ प्रकारको ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गरिनेछ, जुन यस प्रकारको पहिलो ठूलो मात्रामा उत्पादन हुने ब्याट्री हुनेछ।

फ्रान्कफर्टमा आयोजित एक कार्यक्रममा एमजीका वरिष्ठ इन्जिनियर क्यू जिले नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने जानकारी दिए। इलेक्ट्रिक टर्बोले गाडीको क्षमता र दक्षता दुवै सुधार गर्छ। यसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई अझ सहज बनाउछ।

नयाँ ‘हाइब्रिड प्लस’ प्रणालीमा आराम बढाउन विशेष डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिएको छ। इलेक्ट्रिक मोटर केवल गाडी चलाउनका लागि मात्र होइन, इन्जिनको कम्पन कम गर्न पनि प्रयोग हुन्छ।

गाडीभित्रका सेन्सरहरूले कम्पन पत्ता लगाएर त्यसलाई हटाउन आवश्यक शक्ति गणना गर्छन् र मोटरले त्यसको विपरीत काम गरेर कम्पन घटाउछ। यसले गाडीलाई अझ शान्त र आरामदायी बनाउनुका साथै ऊर्जा खेर जान कम गराएर दक्षता पनि बढाउने दाबी गरिएको छ।

एमजीले नयाँ प्रणाली र टर्बोलाई सहयोग गर्न १.८३ किलोवाट घण्टाको ठूलो ब्याट्री पनि थप्दैछ। यी सुधारसँगै नयाँ हाइब्रिड कारहरू पुराना मोडेलभन्दा अझै स्मूथ, शान्त र छिटो हुने अपेक्षा गरिएको छ।

एमजीको ‘सोलिडकोर’ नामको नयाँ ‘सेमी सोलिड स्टेट’ ब्याट्री पनि यस वर्षको अन्त्यतिर उपलब्ध हुने अनुमान गरिएको छ। यसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थ हुन्छ, जसले यसलाई साधारण ब्याट्रीभन्दा धेरै ठोस बनाउछ। यस डिजाइनले बढी ऊर्जा सञ्चय गर्न सक्ने भएकाले गाडीको दूरी बढ्छ। साथै छिटो चार्ज हुने र विभिन्न तापक्रममा राम्रो प्रदर्शन गर्ने क्षमता पनि हुन्छ।

यसको अर्को ठूलो फाइदा सुरक्षा हो। सामान्य लिथियम आयन ब्याट्रीमा क्षति हुँदा अत्यधिक ताप बढेर आगलागी हुने जोखिम हुन्छ, जसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। तर एमजीका अनुसार नयाँ ब्याट्री निकै सुरक्षित छ। परीक्षणका क्रममा दबाउदा वा प्वाल पार्दा पनि यसले आगो वा स्पार्क उत्पन्न गर्दैन। यसमा ठोस र जेलजस्तो पदार्थसँगै लिथियम र म्याङ्गनीजको मिश्रण प्रयोग गरिएको छ, जसले सुरक्षा र स्थिरता बढाउछ।

यी सबै नयाँ प्रविधिमार्फत एमजीले आफ्ना भविष्यका गाडीहरूलाई अझ शक्तिशाली, सहज, शान्त, सुरक्षित र ऊर्जा दक्ष बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad