कारोबार


सरकारको कार्यसूचीमा ऊर्जा उत्पादक खुसी, इप्पानले भन्यो– नयाँ उत्साह सञ्चार भयो

सरकारको कार्यसूचीमा ऊर्जा उत्पादक खुसी, इप्पानले भन्यो– नयाँ उत्साह सञ्चार भयो

नेपालखबर
चैत १५, २०८२ आइतबार १८:७, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नयाँ सरकारले ल्याएको शासकीय सुधारका सय कार्यसूचीकाे स्वागत गरेको छ। 

झण्डै दुई तिहाइ बहुमतमा बनेको सरकारले समय तोकेर ऊर्जा क्षेत्रका  काम गर्ने भनी ल्याएको कार्यसूचीप्रति खुसी व्यक्त गरेको हो। 

‘गत २०८२ साल फागुन २१ गते सम्पन्न चुनावबाट १० बर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित निजी क्षेत्रका अधिकांश मुद्दाहरु समेटिएको राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको बहुमत प्राप्त नयाँ सरकार गठन भएको छ। यसले निजी क्षेत्रका लगानीकर्तामा नयाँ उत्साह सञ्चार गरेको छ’, इप्पानले भनेको छ,  ‘नयाँ सरकार गठन भए लगत्तै सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्य सूची (कार्य योजना) ले देशको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्र्ने घोषणा र यसका लागि समय नै तोकेर कार्यान्वयन गर्ने प्रतिवद्धताको इप्पान हार्दिक स्वागत गर्न चाहन्छ।’ 

कार्य योजनामा निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरिएको भन्दै इप्पानले स्वागत गरेको छ। 

‘विशेष गरी विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातसम्बन्धी अवरोधहरू तत्काल हटाई द्रुत विकास सुनिश्चित गर्ने उद्देश्यले विगत ७ वर्षदेखि अर्थात २०७५ सालदेखि नियमित रुपमा हुन नसकी पेन्डिङ रहेका सबै विद्युत खरिद सम्झौता (पीपीए) अधिकत्तम १८० दिनभित्र खोल्ने घोषणा गरिएको छ। यो कार्य योजनाले नेपाल विद्युत प्राधिकरणमा पीपीएका लागि आवेदन दिईसकेका करिब १३ हजार मेगावाटका आयोजनाको पीपीए कम्तीमा ६ महिनाभित्र भैसक्ने छ भने बाँकी रहेका आयोजनाहरुको पनि पीपीए खोल्नका लागि बाटो तय हुनेछ’, विज्ञप्तिमा भनिएको छ। 

यसैगरी अहिले उत्पादन, वितरण, प्रसारण र निर्यातसम्बन्धी धेरै अवरोधहरु देखिएकोमा त्यसको समाधानका लागि उत्पादनमा मात्र नभई, प्रसारण, वितरण र निर्यातमा पनि निजी क्षेत्रलाई सहभागी गराउन इप्पानले माग गर्दै आएको छ। 

अहिले निजी क्षेत्र नभएको कारण समयमै प्रसारण र वितरण लाइन निर्माणमा देखिएको कठिनाईका साथै विद्युत व्यापारमा देखिएको समस्या समाधान गर्न पनि सहयोग पुग्नेमा इप्पान विश्वस्थ छ। कार्ययोजनामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने भनिएको छ। यसमा  व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने गरी अघि बढ्ने विश्वास इप्पानले लिएको छ। 

नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधारसम्बन्धी रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया तत्काल अधि बढाउने, औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना तथा द्रुत प्रतिकार्य संयन्त्र ३० दिनभित्र विकास गर्ने तथा ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना (सरकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी) विकास गर्नुका साथै सुधारहरू कार्यान्वयनका लागि सम्बन्धित निकायले स्पष्ट समयसीमा तोकी कार्यान्वयनमा लैजाने कार्ययोजना अघि सारिएको छ। 

यस्तो घोषणाले विद्यमान अवस्थामा ऊर्जा क्षेत्रमा देखिएको संरचनागत समस्यादेखि वित्तिय व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न पनि सहयोग पुग्ने विश्वास लिएको  महासचिव बलराम खतिवडा र अध्यक्ष गणेश कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

कार्ययोजनामा लगानीकर्ताहरुले प्रकृयागत कार्यान्वयनको नाममा लामो समयदेखि भोगिरहेको समस्या समाधानका लागि एकद्धार प्रणाली लगायतले पनि धेरै सहज बनाएको छ। एकद्धार प्रणालीको कारण जग्गा प्राप्ति, रुख कटान, वातावरण प्रभाव अध्ययनमा वर्षौ लाग्ने अवस्थाको अन्त्य भई ऊर्जामा लगानी गर्ने लगानीकर्ताहरुले ढुक्कका साथ लगानी गर्ने वातावरण बन्नेछ भन्ने विश्वास इप्पानले लिएको छ। 

‘कार्ययोजना कार्यान्वयन सबैभन्दा महत्वपूर्ण पक्ष हो। सार्वजनिक एक सय कार्ययोजना मध्ये ऊर्जा र यससँग सम्बन्धित मुद्दाहरु कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले गम्भीरताका साथ अघि बढ्ने तथा बलियो सरोकारवालाको नाताले मन्त्रालयले कार्यान्वयनको क्रममा निजी क्षेत्रसँग संवाद र छलफल अघि बढाई निजी क्षेत्रका मुद्दाहरुलाई समेत सम्बोधन गरेर अघि बढ्ने विश्वास लिएका छौ। ऊर्जासँग सम्बन्धित बाचापत्र र कार्ययोजना कार्यान्वयनका लागि सरकारसँग हामी सहकार्य र समन्वय गरी अघि बढ्न तयार रहेको जानकारी गराउन चाहन्छौँ’, इप्पानले भनेको छ। 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ऊर्जा उत्पादकहरुको छाता संगठन हो। ऊर्जा उद्यमीका समस्याको पहिचान गरि  त्यसको समाधानका लागि सम्वन्धीत निकायसँग पहल गर्ने इप्पानको मुख्य उद्देश्य रहेको छ। इप्पानमा अहिले ५७० भन्दा धेरै सदस्य उर्जा उत्पादक कम्पनी आवद्ध रहेका छन्। 

देशको विद्युत उत्पादन क्षमता करिब ४००० मेगावाट नाघेको छ, जसमा निजी क्षेत्रबाट निर्माण भएका आयोजनाको क्षमता करिब ३३५० मेगावाट भन्दा बढी छ भने निजी क्षेत्रबाट करिब ५७०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन छन्। यसका अलावा पिपिएको लागि आवेदन गरेको करिब १३००० मेगावाट छन् भने संभाव्यता अध्यायनका क्रममा रहेका आयोजनाको क्षमता अर्को १५००० मेगावाट बराबर छ।

हालसम्म निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा निजी क्षेत्रले करिब १३ खर्ब १० अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको छ भने आगामी १० बर्षभित्र अर्को ३० खर्ब बराबरको लगानी गर्ने गरी निजी क्षेत्र कस्सिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad