आइतबार सेयर बजार १०५.५० अंकले घट्यो। बजार परिसूचक नेप्से यस दिन कारोबार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो। अन्तिममा बजार ३.७९ प्रतिशतले घटेर २६७६.६८ विन्दुमा झरेको छ।
नयाँ सरकार गठन हुनु अघिसम्म सेयर बजार २९६० अंकसम्म पुगेको थियो। नयाँ सरकार गठन भएसँगै विभिन्न आरोपमा नेता र व्यवसायी पक्राउ पर्ने क्रम सुरु भएको थियो।
त्यसयता सेयरबजार २८४ अंकले घटिसकेको छ। चैत १० गते सेयर बजार २९६०.४० अंकमा पुगेको थियो भने नयाँ सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको भोलिपल्टदेखि सेयरबजारमा गिरावट सुरु भयो।
चैत १४ गते शनिबार ओली र लेखक पक्राउ परेका थिए। भोलिपल्ट आइतबार (चैत १५ गते) नयाँ सरकार आएपछिको पहिलो कारोबारमा बजार ७१.०५ अंकले घटेको थियो। त्यसपछि पनि १६ गते ४७.७१ अंक, १७ गते ४७.७१ अंक, १८ गते ७४.७३ र २२ गते १०५.५० अंकले बजार घटेको छ।
१७ र १९ गते भने बजार बढेको थियो। १७ गते १९.७० र १९ गते ५.८२ अंकले बढेको नेप्सेको तथ्यांकमा देखिन्छ। त्यसपछि सरकारले विवादास्पद र बिचौलियाका रुपमा परिचित व्यवसायी दीपक भट्टका साथै उनका साझेदार सुलभ अग्रवाल र शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेको थियो। शंकर रिहा भइसके पनि अरु छुटेका छैनन्।
सेयरबजारले राजनीतिक घटनाक्रमलाई हेर्ने गर्छ। त्यसअनुसार लगानीकर्ताको आत्मविश्वास बढ्ने र घट्ने गर्छ। लामो समयपछि दुई तिहाइको सरकार बन्दा सेयरबजार र लगानीकर्तामा खुसी छाउनुपर्ने हो। तर बजारको ‘रिफ्लेक्सन’ले त्यो खुसीभन्दा बढी सम्भावित राजनीतिक अस्थिरताको त्रास देखाएको बुझ्न सकिने विज्ञहरु बताउँछन्।
नेता र व्यवसायी पक्राउ परेपछि सेयर बजारमा ७ दिन कारोबार भएको छ। जसमा ५ दिन बजार घटेको छ भने दुई दिन बढेको छ। यस अवधिमा २५.५२ अंकले बजार बढ्दा २९८.९९ अंकले बजार घटेको छ। अर्थात् नेता र व्यवसायी पक्राउ पछि समग्रमा बजार २७३.४७ अंकले घटेको छ।
सेयरबजारका विज्ञ, लगानीकर्ता एवं पूर्वनियामक पछिल्लो समय सरकारले नेता तथा व्यवसायीहरु पक्राउ गरेकाले बजार घटेको तर्क गर्छन्।
त्यसमा पनि अहिले पक्राउ परेका व्यवसायीहरुको विभिन्न कम्पनीमा ठूलो लगानी रहेकाले अब के हुन्छ भन्ने डरका कारण सेयर बजार घटेको नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्वकार्यकारी निर्देशक निरज गिरी बताउँछन्।
‘बजारमा स–साना लगानीकर्ताको बाहुल्य छ। संस्थागत लगानीकर्ताहरु कम छन्। विभिन्न कम्पनीहरुमा ठूलो पोर्टफोलियो भएका लगानीकर्ता पक्राउ परेका छन्। ठूलो लगानीकर्ता पक्राउ पर्दा बजारमा के हुन्छ भन्ने डर छ’, उनको बुझाइ छ, ‘संस्थागत लगानीकर्ताको तुलनामा साना लगानीकर्तामा आत्तिने र मात्तिने चाँडो हुन्छ। बजार थोरै घट्दा बेच्ने र बढ्दा किन्ने प्रवृत्ति छ। अहिलेको अवस्थाले लगानीकर्ता अत्तालिएको अवस्था हो।’
इन्भेष्टर्स फोरम नेपालका पूर्वअध्यक्ष छोटेलाल रौनियार पनि नेता र व्यवसायी पक्राउको प्रभाव बजारमा देखिएको बताउँछन्।
‘केही व्यक्तिहरु पक्राउ पर्नुभएको छ। अन्य व्यक्तिहरुको नाम पनि आइरहेको छ। बजार संवेदनशील विषय हो। यस्तोमा राजनीतिक र व्यापारिक विषय जोडिँदा बजार घट्नु स्वाभाविक हो’, रौनियारले नेपालखबरसँग भने।
बजारमा ठूला भनिएका लगानीकर्ता पक्राउ परेपछि साना लगानीकर्तामा बजार घट्ने मनोवैज्ञानिक त्रास हावी भएको हुनसक्ने बताउँछन् त्रिभुवन विश्वविद्यालयका वित्तशास्त्रका उपप्राध्यापक तथा सेयरबजार अध्येता डा. भरतसिंह थापा।
‘बजारमा ठूला भनिएका लगानीकर्ताहरु पक्राउ परेका छन्। प्रमुख लगानीकर्ताहरुलाई समातिसक्यो। अब बजार के हुन्छ भन्ने लगानीकर्तामा डर हुँदा बजार घटेको हो’, थापाले स्वीकारे।
थापाका अनुसार बजारमा संस्थागत र ठूला लगानीकर्ताको संख्या कम छ। यस्तोमा ठूलो लगानीकर्ताले सिर्जना गर्ने मागबाट बजार तलमाथि हुने गरेको थियो भने सिस्टमले पनि कर तिरेको रकमबाट मात्रै सेयर बजारमा लगानी हुन्छ भन्ने अवस्था नरहेकोले केही ठूला लगानीकर्ताले डरका कारण सेयर नकिन्दा बजार घटेको उल्लेख गर्छन्।
यसले बजारमा स्रोत नखुलेको, कालोधन प्रयोग भएको छ कि भन्ने शंकामा बल पुगेको उनले बताए।
‘धेरैको स्रोत नखुलेको रकम पनि हुन सक्छ। ठूलाले डरका कारण किनेका छैनन्। साना लगानीकर्ताले प्यानिक सेल गरेका छन्’, उनले थपे, ‘बजार तुरुन्तै असर देखिने ठाउँ हो। अनिश्चितता, डर, शंकाले गर्दा लगानीकर्ता सशंकित छन्। अब के के हुने हो, कति जनालाई समात्ने हो भनेर लगानीकर्तामा विश्वास बढ्न नसकेको हुनसक्छ।’
अहिले पक्राउ परेका व्यक्तिहरुको नेक्ससको आकार र यसमा अन्य ग्रुपहरुको नाम पनि पोलिन सक्ने सम्भावना रहेकाले माग बढाउने व्यक्तिहरुले लगानी नगर्दा बजार बढ्न नसकेको उनको बुझाइ छ।
‘घट्नुपर्ने कारण छैन’
बजारका अधिकांश सूचकहरु सकारात्मक भएकाले बजार घट्नुपर्ने विशेष कारण नभएको जानकारहरु बताउँछन्।
बैंक तथा वित्तीय संस्थासँग पर्याप्त लगानीयोग्य पुँजी, ब्याजदर तल्लो विन्दुमा, छेलोखेलो विदेशी विनिमय सञ्चिति, दुई तिहाइनजिकको स्थिर सरकार, सुशासनका लागि राज्यले लिएका नीतिगत पहलल, अर्थतन्त्रका सकारात्मक सूचकलगायतले गर्दा पनि तत्काल लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था नरहेको उनीहरु बताउँछन्।
डा. थापा नीति र आर्थिक सूचकहरु सकारात्मक दिशामै रहेकाले अहिले बजार घट्नुपर्ने अवस्था नरहेको बताउँछन्।
इन्भेष्टर्स फोरम नेपालका पूर्वअध्यक्ष रौनियार पनि सेयरबजारका अध्येता थापासँग सहमत छन्। उनी पनि बजारका वित्तीय सूचकहरु सकारात्मक रहेकाले बजार घट्नुपर्ने खास कारण नभएको बताउँछन्।
सरकारले अनुसन्धानका लागि केही व्यक्तिहरुलाई समातेकाले अहिले नै लगानीकर्ता अत्तालिहाल्नुपर्ने अवस्था नरहेको बोर्डकै पूर्वकार्यकारी निर्देशक गिरी बताउँछन्।
‘बजारमा यस्ता विषय आइरहन्छ। त्यसमा अनुसन्धान पनि हुन्छ। छिनोफानो हुन्छ। यो चलिरहने विषय हो। कहिले फ्याट्ट आउँछ। केही भित्रभित्रै हुन्छ’, गिरीले नेपालखबरसँग भने।
शंकास्पद पात्रहरु अनुसन्धानको दायरामा आउँदा पारदर्शिताको हिसाबले बजार राम्रो हुनुपर्नेमा डा. थापाको जोड छ। तर अधिकांश लगानीकर्तालाई बजारप्रति विश्वास नहुँदा यस्तो अवस्था आएकोमा भने उनको स्वीकारोक्ति देखिन्छ।
सरकारले यस्तो अवस्थामा सेयर बजारलाई सम्बोधन हुने गरी केही बोल्नुपर्ने थापाको सुझाव छ।
‘बजार राम्रो हुन्छ भन्ने हैन। अर्थतन्त्र राम्रो हुँदै छ भन्नुपर्छ’, थापाले भने।
यसका लागि यी र यस्ता काम गर्दै छु भन्ने ढाडस सरकारले प्रदान गर्न सक्नुपर्ने उनी बताउँछन्।
Shares

प्रतिक्रिया