कारोबार


नागरिक एपमा नयाँ फड्को: लोकसेवाको प्रवेशपत्र र एनओसी मोबाइलमै

नागरिक एपमा नयाँ फड्को: लोकसेवाको प्रवेशपत्र र एनओसी मोबाइलमै

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १८:४४, काठमाडौँ

सरकारले डिजिटल सुशासनलाई सुदृढ गर्ने लक्ष्यसहित नागरिक एपमा थप नयाँ सेवाहरू एकीकृत गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र र वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपबाटै प्राप्त गर्न सकिने भएको हो।

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार नयाँ थपिएका सुविधाहरू हाल परीक्षणको चरणमा छन् र आगामी एक साताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आउनेछन्। 'सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार ४५ दिनभित्र यी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएकोमा काम तीव्र गतिमा भइरहेको छ,' साहले भने।

विभागले नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी इन्जिनियरको व्यावसायिक प्रमाणपत्र पनि एपमै उपलब्ध गराउने तयारी गरेको छ। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ३५ मा पनि नागरिक एपको विस्तारलाई प्राथमिकता दिइएको छ।

हाल एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्ने सुविधा सुचारु भइसकेको छ। नयाँ संस्करण सार्वजनिक भएसँगै लोकसेवाका परीक्षार्थीले प्रवेशपत्र बोकेर हिँड्नुपर्ने र एनओसीका लागि कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ। यसले सरकारी सेवा प्रवाहलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा सरकारको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad