सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।
अर्थ मन्त्रालयले आज (मंगलबार) सात दिनको म्याद दिएर सेबोन अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।
सन्तोष नारायण श्रेष्ठले यही वैशाख ४ मा राजीनामा दिएसँगै सेबोनमा अध्यक्ष पद खाली छ। श्रेष्ठ २०८१ मंसिर १० गते सेबोनको अध्यक्षमा नियुक्त भएका थिए।
उनी सेबोनको अध्यक्ष नियुक्त भएलगत्तै उनको अनुभवसम्बन्धी योग्यता कानुनले तोकेअनुसार नभएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अध्यक्ष भएपछि श्रेष्ठले बिचौलिया प्रयोग गरेर विभिन्न कम्पनीको आईपीओ निष्काशनमा कमिसनको बार्गेनिङ गरेका थिए। विशेषगरी जलविद्युत् कम्पनीको आईपीओमा श्रेष्ठले बिचौलियामार्फत बार्गेनिङ गरेका थिए।
सोही विषयमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बोलाएर बयान लिएको थियो।
श्रेष्ठलाई बिचौलियाहरूले नै सेबोनको अध्यक्षको नियुक्ति दिलाएको टिप्पणी हुने गरेको थियो।
त्यति मात्रै होइन, श्रेष्ठले आफ्नै लगानी रहेको बुंगल हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ) उनी सेबोनको अध्यक्ष रहेकै समयमा निष्काशन गरेका थिए। उक्त कम्पनीमा श्रेष्ठको ०.६२ प्रतिशत सेयर छ।
विवादै विवादको घेरामा रहेका श्रेष्ठ १७ महिना धितोपत्र बोर्डको अध्यक्ष रहेर बाहिरिएका हुन्।
Shares

प्रतिक्रिया