कारोबार


सम्पत्ति शुद्धीकरणले माग्यो दीपक भट्टले खोलेका कम्पनीमा संस्थागत सेयर किन्नेको पनि विवरण

सम्पत्ति शुद्धीकरणले माग्यो दीपक भट्टले खोलेका कम्पनीमा संस्थागत सेयर किन्नेको पनि विवरण

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १३:५०, काठमाडौँ

सम्पत्ति शुद्धीकरण विभागले विवादास्पद व्यवसायीहरुविरुद्धको अनुसन्धानलाई तीव्रता दिएको छ। 

सोही क्रममा हाल पक्राउ परेर अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्टले खोलेका कम्पनीहरुमा संस्थागत सेयर खरिद गरेकाको समेत विवरण बुझाउन विभागले सूचना निकालेको हो। 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स समेतको संस्थापना हुँदा बीमा प्राधिकरणबाट अनुमति लिने समयमा यी कम्पनीमा संस्थापक सेयर खरिद गर्नेको विवरण दिन भनिएको हो। 

‘उनीहरुले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम)बापत विभिन्न व्यक्ति तथा संस्थाहरुको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकम, को कसका नाउँमा रहेको, के कति नम्बरको, के कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के कुन जम्मा रहेको हो भन्ने विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा १५ दिनभित्र बुझाइदिएर अनुसन्धान कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध छ’, विभागको सूचनामा भनिएको छ। 

व्यवसायी भट्टलाई सम्पत्ति शुद्धीकरण कसुर आरोपमा चैत १९ मा पक्राउ गरिएको थियो। त्यसयता म्यादथप गरी अहिले पनि अनुसन्धान भइरहेको छ। उनलाई पक्राउ गर्नुअघि राहदानी रोक्का गरिएको थियो। 

उनी पक्राउसँगै एकै कम्पनीमा लगानी भेटिएपछि गृहमन्त्रीबाट सुधन गुरुङले समेत राजीनामा दिनुपरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍मा बुझाएको सम्पत्ति विवरणमा तत्कालीन गृहमन्त्री गुरुङले उक्त सेयर लगानी खुलाएका थिएनन्। 

भट्टसँगै सुलभ अग्रवाल, शेखर गोल्छालगायतका व्यवसायीहरु पक्राउ परेका थिए। उनीहरुविरुद्ध समेत अनुसन्धान जारी रहेको छ। सोही प्रकरणमा धितोपत्र बोर्डले उधारोमा सेयर कारोबार गर्न दिएको भन्दै भृकुटी स्टक ब्रोकर कम्पनी प्रालिलाई समेत कारबाही गरिसकेको छ। यो ५५ नम्बरको स्टक ब्रोकर हो। 

भट्ट हिमालयन रिका मुख्य सेयरधनी हुन्। उनले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका सेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी भृकुटी स्टक ब्रोकर कम्पनी प्रालिमार्फत खरिद गर्दा भुक्तानी गरेको विभागले खुलाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad