राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई भेटेर सरकारको काम र पार्टीको नीतिबारे बताएका छन्।
व्यवसायीलाई पक्राउ गर्न थालेपछि सरकारसँग त्रसित भएका उद्योगी व्यवसायीलाई भेटेर लामिछानेले सरकारको कामको बचाउ र आफ्नो पार्टीको नीति बताएका हुन्।
आइतबार ललितपुरको हिमालय होटलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र सदस्यहरुसँग संवाद गर्दै लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग तर्र्सिएका उद्योगी व्यवासायीलाई फकाउँदै आश्वस्त पार्ने प्रयास गरेका हुन्।
उद्योगी व्यवसायीहरुको भनाइ सुनेपछि जवाफ दिएका लामिछानेले सरकारको कामको बचाउ गरे भने पार्टीले चुनावमा ल्याएको वाचापत्र उल्लेख गरेर नीतिगत सुधारमार्फत व्यवासयीलाई सहजीकरण र संरक्षण गर्ने आश्वासन दिए।
विशेषगरी, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको पक्राउ र विदेशबाट आयात भएका सामानमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य (एमआरपी) स्टिकर टाँस भएको हुनुपर्ने नियम कडाइका लागू गरिएपछि व्यवसायीहरु सरकारको कार्यशैलीप्रति सशंकित भएका थिए।
उद्योगी व्यवसायीले सरकारको गतिविधिबाट त्रसित भएको र मनोबल खस्किएको बताएपछि रवि लामिछानेले उनीहरुसँग संवाद गरेका थिए।
व्यवसायीसँगको संवादमा धेरै बोल्नेभन्दा पनि सुन्नका लागि यहाँ उपस्थित भएको भन्दै आफ्नो कुरा सुरु गरेका लामिछानेले सरकारको काम, आगामी नीति र योजना बारे लामै फेहरिस्त सुनाए।
व्यवसायीमाझ उनले भने, ‘रास्वपाले बाचापत्रमार्फत धेरै कुरा राखेको छ, वास्तविक अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको समस्या सम्बोधनका लागि, आम सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष रुपमा सम्बोधन गर्न रास्वपाले रोड म्याप बनाएको छ।’
प्राकृतिक स्रोतहरुको सदुपयोग गर्दै आर्थिक उत्पादनमा जोड दिन सकिने र त्यसलाई सदुपयोग गर्ने कि दुरुपयोग गर्ने भन्ने मुख्य सरोकारको विषय रहेको उनले बताए।
सरकारको कामबारे उल्लेख गर्दै लामिछानेले भने, ‘सरकार बाचापत्र हेरेर चल्छ, हामीले यही देखाएर भोट मागेका हौँ। तपाईंहरुको सल्लाह–सुझाव छ, हामीले तपाईंहरुको सरोकारमा हामीले विमती राख्नुपर्ने ठाउँनै छैन।’
व्यवसायीलाई नीतिले नै डोर्याउने विधि अपनाउन लागिएको भन्दै उनले थपे, ‘तपाईंले मलाई मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन, टेक्नुपर्दैन। हामी तपाईंहरुको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ। पहिला तपाईंहरुले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला। तर हामी तपाईंहरुलाई फरक ढंगबाट देखिने गरी परिवर्तन महशुस गराउन चाहन्छौँ।’
व्यवसायीलाई पक्राउ गरिएको विषयमा लामिछानेको प्रस्टीकरण थियो, ‘धरपकडका विषयमा म तपाईंहरुलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौँ। यसमा केही असहज हुन सक्छ। निजीक्षेत्र सशंकित भएको, अलि डराएजस्तो देखेर नै म तपाईंहरुसँग बस्न चाहेको हो। तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन। हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहदैनौँ। तर, केही व्यवसायीहरु, पात्रहरुले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नुपरेको हो। यसका लागि सरकारले बेलैमा नियन्त्रण गर्न त आवश्यक छ । सरकारले अहिले यही गरेको हो।’
उनले सरकारले गरेको पक्राउबारे थप प्रस्ट्याए, ‘खिल निकाल्दा क्षणिक समयका लागि दुख्न सक्छ, समस्या हुनुसक्छ तर अन्ततः यसले सबैलाई फाइदा नै पुग्छ।’
यति भनेपछि व्यवसायीहरुलाई आश्वस्त पार्ने प्रयास लामिछानेले गरेका थिए। उनले भने, ‘तपाईंहरुको क्षमता र सहयोगलाई साथमा लिएर नै अघि जान सक्छौँ भनेर सरकार अघि बढेको हो।
रास्वपाको सरकार, हामीले लिएको लक्ष्य, उद्देश्य र आधार तपाईंहरु नै हो। प्रति १० जनामा सरकारले १–२ जनालाई रोजगारी दिन सक्ला तर ८ जनालाई निजीक्षेत्रले नै रोजगारी दिने हो।’
७० वर्षदेखि खाडलको रुपमा रहेको दुर्गतिलाई पुर्न सरकार अघि बढेको उनले बताएका छन्।
‘स्पष्ट बहुमत हुँदाहुँदै पनि केही द्रुतमार्गको बाटो लिन आवश्यक परेको हो। आयातमुखी कि उत्पादनमुखी हुने भन्ने सवालमा हामी अवश्य यस जटिलतामा छौँ’, लामिछानेले व्यवसायीहरुको जिज्ञासाको जवाफ दिँदै भने, ‘रुग्ण उद्योगहरु सञ्चालनमा देखाउनुभएको चासो सह्राहनीय छ, हामी त्यसमा सकारात्मक छौँ। निजीक्षेत्रलाई सञ्चालनका लागि अघि बढाउन पनि सरकार सकारात्मक छ।’
जलविद्युत् उत्पादनमा आईपीओको सवालमा सरकार निर्मम बन्ने उनले बताए। ‘घाटामा गएको कम्पनीलाई आईपीओ जारी गर्न दिएर जनताको पैसा डुबाउन हामी सक्दैनौँ। यसमा सरकार स्पष्ट छ’, लामिछानेले भने।
आगामी बजेटबाट आय करमा सीमा घटाउने कुरामा सरकार सकारात्मक रहेको उनले बताए।
‘आयको ५० प्रतिशत कर तिर्ने भन्ने कुरा जायज पनि छैन, हामी सुधारका लागि तयार छौं। सनसेट ल का कुरा आएका छन्, त्यसका विषयमा सरकार, रास्वपा पार्टी गम्भीर छ। सम्बोधन हुन्छ’, उनले भने।
सरकार निजीक्षेत्र, उत्पादक, उद्योगी, व्यवसायी सबैलाई सरकार सुरक्षा प्रदान गर्न तयार रहेको र रास्वपा प्रतिबद्ध रहेको उनले बताए।
अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नतिको विषयमा निजी क्षेत्रले राख्दै आएको विमतिलाई पनि लामिछनेले सम्बोधन गरेका छन्।
‘एलडीसी ग्राजुएसन भएपछि केही असरहरु देखिन्छन्। तर यसबाट पर्न सक्ने असुविधामा सरकारले अरु कदम चाल्न पनि तयार छ। हामीले गर्न खोजेको राजनीति अर्थराजनीति हो।’
रास्वपा सरकार सही पोलिसी बनाएर निजीक्षेत्रलाई सहज र प्रोत्साहन गर्न चाहेको र त्यसका कुनै स्वार्थ नखोजेको पनि उनले बताए।
सरकारले अधिकतम खुद्रा मूल्य (एमआरपी)को अनिवार्य गर्दा भन्सारमा भइरहेको समस्याका सम्बन्धमा आगामी बजेटमा स्पष्ट नीति आउने उनले बताए।
‘एमआरपीको समस्या आउने बजेटले सम्बोधन गर्छ। सरकार हाम्रो छ, तर सत्ता हाम्रो भइसकेको छैन। यसैले काम गर्न केही समय लाग्छ’, उनले भने।
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा विदेशबाट ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने निमय कडाइ गरिएको बारे लामिछानको प्रस्टोक्ति छ, ‘देश नै तस्करीमय भएको भन्ने सवाल उठेको छ। बोर्डर क्षेत्रमा जीवनयापन गर्न कठिन भयो भन्ने छ, हामीले जनजीवन पनि कठिन नबनोस् र व्यवसायीहरुले पनि सहज रुपमा सामान आयात गर्न र गैरभन्सार आउने सामग्रीहरुको नियन्त्रणमा पनि सरकार सचेत बन्छ।’
सुधारका लागि निजी क्षेत्रको सहयोग माग्दै उनले भने, ‘सुशासनको युगमा डिपार्चरका लागि सबै क्षेत्र, सबैको योगदान आवश्यक छ। सडकमा ढलेका जेनजी भाइबहिनी मात्र होइन अरु क्षेत्र, हामी सबैको योगदान आवश्यक छ।सरकारको स्थिरता, रास्वपाको लक्ष्य र उद्देश्यबाट कही कतै विचलित हुँदैन, निश्चिन्त हुनुहोला।’
सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विषयमा पनि उनले प्रस्ट्याए। लामिछानेले भने, ‘देशका नागरिकलाई कोही कसैलाई पनि घरबारविहीन बनाउँदैनौं। आज केही समस्या भएको छ तर यसले सधैँका लागि समस्या समाधान गर्छ। खोलाको किनारामा जोखिमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ। सबैको सुरक्षा र प्रतिस्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबारविहीन बनाउँदैन।’
सरकारलाई व्यवसायीको सहयोग चाहिएको भन्दै लामिछानेले सरकारले पनि व्यवासायीलाई बोलाएर छलफल गर्ने वातावरण बनाउने आश्वासन दिएका छन्। उनले भनेका छन्, ‘आउने दिनमा तपाईंहरुलाई सरकारले बोलाउनेछ, कार्यक्रम हामी गर्छौँ, तपाईँको आवश्यकता हामीलाई हो।’
Shares

प्रतिक्रिया