कारोबार


यातायात व्यवसायीलाई अपराधी जस्तो व्यवहार नगर्न अध्यक्ष स्वाँरको माग

यातायात व्यवसायीलाई अपराधी जस्तो व्यवहार नगर्न अध्यक्ष स्वाँरको माग

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १८:३२, काठमाडौँ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूलाई राज्यले अपराधीको जस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा  बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष स्वाँरले दुर्घटनापछिको अवस्थामा व्यवसायीलाई थुन्ने र तर्साउने कार्यले लगानीकर्ताहरू निरुत्साहित भएको भन्दै राज्यको ध्यानाकर्षण गराए।

उनले व्यवसायीहरू अपराधी नभएको स्पष्ट पारे। अध्यक्ष स्वाँरले वर्तमान बिमा पोलिसीमा रहेका कमजोरीहरूका कारण व्यवसायीहरू मारमा परेको उल्लेख गरे।

उनले सरकारले फास्टट्रयाकबाट बीमा नीतिमा परिमार्जन गर्नुपर्ने र बीमा पोलिसी बुझाइसकेपछि व्यवसायीले कानूनी उन्मुक्ति पाउने सुनिश्चितता हुनुपर्ने माग गरे। निजी क्षेत्रको लगानी बिना राज्य अगाडि बढ्न नसक्ने जिकिर गर्दै स्वाँरले यातायात क्षेत्रलाई व्यवस्थित उद्योगका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

राज्यले साझा यातायात जस्ता संस्थाहरूमा अर्बौँ लगानी गरे पनि प्रतिफल प्राप्त हुन नसकेको उदाहरण दिँदै उनले देशभरका निजी व्यवसायीले आफ्नै लगानीमा सेवा दिइरहेको स्मरण गराए। उनले यो पेशालाई ‘गरिखाने’ माध्यमबाट माथि उठाएर मर्यादित उद्योग बनाउन राज्यले नीतिगत वातावरण बनाइदिनुपर्ने बताए। 

उनले भने, ‘घरमा सुतिरहेको व्यवसायीलाई चोर वा अपराधीलाई जस्तै पक्राउ गरेर थाना लैजाने र बार्गेनिङ गर्ने काम बन्द हुनुपर्छ। हामी राज्यलाई अर्बौँ राजश्व बुझाउने जिम्मेवार नागरिक हौँ। त्यसैले राज्यले व्यवसायीलाई अभिभावकत्व प्रदान गर्नुपर्छ। हामी बीमा पोलिसी परिवर्तन गर्न तयार छौँ, तर बीमा प्रक्रिया पूरा भएपछि व्यवसायीलाई अपराधीको रूपमा थुन्ने काम रोकिनुपर्छ।’

यातायात क्षेत्रको अधिकार प्रदेशमा आइसकेको सन्दर्भमा उनले तीनै तहका सरकारबीच नीतिगत समन्वय हुनुपर्ने बताए। संघीय सरकारले राष्ट्रिय नीति बनाउने, प्रदेश सरकारले कर र सुविधाहरू तोक्ने र स्थानीय तहले व्यवस्थापनको जिम्मेवारी लिने गरी स्पष्ट कार्यविभाजन हुनुपर्ने उनको सुझाव छ।

महासंघको आसन्न निर्वाचनका बारेमा जानकारी दिँदै अध्यक्ष स्वाँरले यसपटक ‘ई–भोटिङ’ (विद्युतीय मतदान) प्रणाली अपनाउन लागिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad