तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
निर्माण सुरु भएको १२ वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो।
कार्यालयले गत चैत १७ गते संशोधित ‘डिजाइन’ स्वीकृत भइसकेको जनाउँदै १५ दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिएको थियो । तर, उक्त निर्देशनपछि पनि सम्पर्कमा नआएको र कुनै प्रगति नदेखिएपछि सम्झौतामा उल्लेखित निर्देशन ‘गम्भीर उल्लङ्घन’ को प्रावधानअनुसार ठेक्का तोडिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।
विसं २०७० असारमा रु १० करोड २१ लाख ८६ हजार लागतमा सम्झौता भएको १०५ मिटर लामो उक्त पुलको हालसम्मको भौतिक प्रगति केवल ३६ प्रतिशत मात्र रहेको छ।
यात्रु झोलुङ्गे पुल प्रयोग गरी मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुग्ने गरेका छन् भने दुई पाङ्ग्रे सवारीसाधन पुलबाट डोर्याउँदै सडकखण्डमा जोडिन्छन्।
सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा निर्माण व्यवसायीलाई अविलम्ब निर्माणस्थल खाली गर्न तथा बाँकी भुक्तानी भए १५ दिनभित्र हिसाब मिलान (वित्तीय फरफारक) गर्न निर्देशन दिइएको छ।
ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको बाँकी काम अघि बढाउने बाटो खुलेको छ । निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत अघि बढाइएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिए।
Shares

प्रतिक्रिया