कारोबार


मुआब्जा विवाद सुल्झियो, हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माण कार्य तीव्र

मुआब्जा विवाद सुल्झियो, हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माण कार्य तीव्र

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १२:८, काठमाडौँ

राष्ट्रिय महत्त्वको आयोजना हेटौँडा-ढल्केवर-दुहवी ४०० केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा-ढल्केवर खण्डको निर्माण कार्य अघि बढेको छ। 

लामो समयदेखि मुआब्जा र जग्गा विवादका कारण अवरुद्ध आयोजना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि सक्रिय बनेको हो। प्रभावित स्थानीय, जनप्रतिनिधि तथा सरोकारवालासँग मन्त्री श्रेष्ठले गरेको निरन्तर समन्वयपछि जग्गाधनीले मुआब्जा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण कार्य अगाडि बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

सन् २०१२ देखि निर्माण सुरु भएको प्रसारण लाइनअन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल २८८ किलोमिटर लम्बाइको आयोजनामध्ये पूर्वी खण्ड १५४ किलोमिटर लामो ढल्केवर-इनरुवा खण्ड तीन वर्षअघि नै सञ्चालनमा आइसकेको छ। तर १३४ किलोमिटर लामो हेटौँडा-ढल्केवर खण्ड भने मुआब्जा विवादका कारण ढिलाइ भएको थियो।

प्राधिकरणले हेटौँडा क्षेत्रमा निर्माण गर्नुपर्ने १४ वटा टावरमध्ये हाल तीन वटाको निर्माण गरिसकेको छ। बाँकी दुई वटाको इरेक्सन कार्य जारी रहेको जनाएको छ। सबै टावरको फाउन्डेसन निर्माण पूरा भइसकेको र बाँकी संरचनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले टावर निर्माणसँगै मुआब्जा तथा क्षतिपूर्ति वितरणको प्रक्रिया समानान्तर रूपमा अघि बढाएको छ। प्रभावितलाई कानुनअनुसार उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै तार तान्ने कार्य सुरु भएको श्रेष्ठले बताए। पहिचान भएका सबैलाई एकै पटक मुआब्जा वितरण गरिने उनको भनाइ छ। 

श्रेष्ठका अनुसार चालु आर्थिक वर्षभित्र प्रसारण लाइन सञ्चालनमा नआए वर्षायाममा उत्पादन हुने करिब ८०० मेगावाट विद्युत प्रवाह हुन नसकी खेर जाने जोखिम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad