नेपाल राष्ट्र बैंकले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशन भई चलनचल्तीमा रहेका २ सय र ५ सय भारुका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारुसम्म ल्याउन, लैजान वा सटही गर्न सकिने व्यवस्था गरेको छ।
विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै उक्त व्यवस्थाबारे जानकारी दिएको हो।
२०८२ पुस २८ को नेपाल राजपत्रमा प्रकाशित सूचना (खण्ड ७५, संख्या ५७, भाग ५) बमोजिम कसैले पनि सन् २०१६ नोभेम्बर ९ अघि चलनचल्तीमा रहेका भारु ५ सय र १ हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था भए पनि त्यसयताका २ सय र ५ सय दरमा भने लचिलो व्यवस्था गरिएको हो।
राष्ट्र बैंकका अनुसार नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारु लैजान वा अन्य मुलुकबाट भारु ल्याउन भने पाउनेछैनन्।
राष्ट्र बैंकले यसअघि नै नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजार डलरसम्म (भारुको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारुसम्म र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बजारबसम्म भन्सार घोषणाविना नेपालमा भित्र्याउन सक्ने र सोभन्दा बढीको हकमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था छ। यसका लागि भने २०७५ असार ३२ र चैत २६ मा प्रकाशित सूचनाअनुसार नै गर्न अनुरोध गरिएको छ।

Shares

प्रतिक्रिया