नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट सिफारिस समितिले चार जनाको नाम संक्षिप्त सूचीमा राखेको छ।
आवेदक ४७ जनाबाट ४ जनालाई संक्षिप्त सूचीमा राख्दै समितिले छलफलका लागि ८ गते अर्थ मन्त्रालयमा आउन भनेको हो।
सूचीमा पहिलो नम्बरमा डा. नवराज अधिकारी छन्। अधिकारी बोर्डकै पूर्वकार्यकारी निर्देशक हुन्। उनीसँग समितिले ८ गते दिउँसो १ बजे छलफल गर्नेछ।
त्यसैगरी दोस्रो नम्बरमा विनयदेव आचार्य रहेका छन्। आचार्य बोर्डमै कार्यकारी निर्देशक रहेका छन्। उनीसँग दिउँसो १ः३० बजे छलफल हुने समितिले जनाएको छ।
तेस्रो नम्बरमा रहेका मुकुन्द कुमार क्षेत्रीलाई सोही दिन दिउँसो मन्त्रालयमा बोलाइएको छ। क्षेत्री राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रहेका छन्।
त्यसपछि चौथो नम्बरमा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्ट रहेका छन्। उनलाई सोही दिन दिउँसो २ः३० बजे बोलाइएको छ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ३ अनुसार समिति गठन गरिएको थियो। समितिले वैशाख १५ मा इच्छुक व्यक्तिको विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र ४७ जनाले आवेदन दिएका थिए।
योसँगै अर्थमन्त्रीले उक्तमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा लैजान्छन्। त्यसपछि मन्त्रिपरिषद्बाट १ जना बोर्ड अध्यक्ष नियुक्त हुनेछन्।
Shares

प्रतिक्रिया