कारोबार


पहिलो सूर्योदय देखिने श्रीअन्तु क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न माग

पहिलो सूर्योदय देखिने श्रीअन्तु क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न माग

नेपालखबर
असार २२, २०८३ सोमबार १५:९, काठमाडौँ


पूर्वी नेपालको पर्यटन परवद्र्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान सुरु गरेको जनाएका छन्। 

नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसायी सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा परवद्र्धनात्मक भ्रमण तथा अन्तरक्रिया गरेको छ। महिला व्यवसायीहरुले यही असार १८ देखि २१ गतेसम्म पूर्वी नेपालको विभिन्न गन्तव्यको भ्रमण गरेका थिए। 

पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीले कोसी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीयस्थलको अवलोकन गर्दै स्थानीय सरोकार भएका व्यक्ति तथा समुदायसँग छलफल गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।  

भ्रमणका क्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, घरबास कार्यक्रमका सञ्चालक र स्थानीय समुदायसँग पर्यटन विकासका चुनौती र आगामी रणनीतिका विषयमा संवाद गरेको थियो।

इलामको प्रमुख पर्यटकीयस्थल श्री अन्तुमा आयोजित कार्यक्रममा सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा नेपालकै समृद्ध क्षेत्र भएको बताएको बोर्डले जनाएको छ। 

‘पूर्वी नेपालको सौन्दर्यलाई स्थानीय कृषि, संस्कृति र जीवनशैलीसँग जोडेर ‘एग्रो–टुरिजम’का रूपमा विकास गर्न आवश्यक छ, यसले नेपालको ग्रामीण अर्थतन्त्र अझ सशक्त बन्नेछ,’ उनले भनिन्। प्रत्येक स्थानीय तहले आफ्ना मौलिक विशेषता पहिचान गरी एकीकृत पर्यटन ‘प्याकेज’ निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

अन्तु पर्यटन व्यवसायी सङ्घकी कोषाध्यक्ष कञ्चना बरालले नेपालकै पहिलो सूर्योदय देखिने अन्तु क्षेत्रमा न्यून बजेटका होमस्टेदेखि उच्चस्तरीय तारे होटलसम्मको सुविधा उपलब्ध भइसकेको जानकारी दिइन्। उनले पर्यटकीय पूर्वाधार निर्माणमा सरकारी बजेट बढाउन र स्पष्ट पर्यटन नीति ल्याउन सरकारसँग माग गरिन्।

यस्तै, अन्तुडाँडा सामुदायिक ‘होमस्टे’का अध्यक्ष धनकुमार आलेले पूर्वी नेपालका गाउँमा पर्यटन विस्तारका लागि होमस्टे सञ्जाललाई थप सुदृढ बनाउनुपर्ने बताए।

सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले पर्यटनलाई विकासको मुख्य आधार मानेर सडक, पदमार्ग र अन्य पूर्वाधारमा लगानी गरिरहेको बताए।

चालु आर्थिक वर्षमा पर्यटन विकासका लागि बजेट विनियोजन गरिएको र महिला तथा स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

काठमाडौँबाट सुरु भएको पर्वद्र्धनात्मक भ्रमण टोलीले कोसी ब्यारेज, झापा, इलामको श्रीअन्तु र बराहक्षेत्रलगायत गन्तव्यको अवलोकन गरेको थियो। उक्त अभियानले नयाँ गन्तव्यको प्रचारप्रसारका साथै महिला उद्यमशीलता र दिगो पर्यटन विकासमा ठूलो सहयोग पुग्ने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad