कारोबार


ढल्केबर-हेटौँडा ४०० केभी प्रसारण लाइन बनाउने बाटो खुल्यो, दुई महिनामा सक्ने लक्ष्य

ढल्केबर-हेटौँडा ४०० केभी प्रसारण लाइन बनाउने बाटो खुल्यो, दुई महिनामा सक्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ


नेपालखबर
असार २५, २०८३ बिहिबार ११:२९, काठमाडौँ

१२ वर्षदेखि अड्किएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ। 

विद्युत लाइफलाइनको रुपमा रहेको ढल्केबर–हेटौँडा ४००केभी प्रसारण लाइन निर्माणको अवरोध ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिपरिषद्बाट हटाएका हुन्। 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त प्रसारण लाइन विस्तारमा बाधक बनेको वनको जग्गालाई प्रयोग गर्न दिने निर्णय गरेसँगै अब ठूलो क्षमताको प्रसारण लाइन बन्ने भएको छ। यो प्रसारणलाइन बनेपछि झ्याप झ्याप बत्ती जाने समस्या अन्त्य हुने मन्त्री श्रेष्ठको दावी छ। 

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलकाअनुसार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणलाई हेटौंडा ढल्केबर ४०० केभी विद्युत प्रसारणलाइन आयोजनाको मकवानपुर खण्डको एलाइनमेन्ट परिवर्तनको लागि संलग्न सर्तहरुको पालना गर्ने सर्तमा वन प्रयोग गर्न दिने निर्णय गरेको हो। 

वन ऐन २०७६ को दफा ४२(१) बमोजिम मकवानपुरको हेटौँडा १५ मा रहेको रातोमाटे सामुदायिक वन उपभोक्ता समूह र बकैया–२ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको राष्ट्रिय वनको २.२ हेक्टर जग्गा प्रसारणलाइन निर्माणमा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका १२९२ रुख र पोल हटाउन स्वीकृति दिने निर्णय भएको पोखरेलले बताएका छन्। 

यो निर्णयका लागि ऊर्जामन्त्री श्रेष्ठले मंगलबार कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई उर्जा मन्त्रालयमा बोलाएर छलफल गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यो निर्णयको महत्त्वबारे मन्त्री श्रेष्ठले छलफल गरेका थिए। नागरिकलाई सुविधा पुग्ने विषय भएकाले प्रधानमन्त्री शाह पनि तत्कालै निर्णय गर्न तयार भएका थिए। 

नेपाल विद्युत प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले १२ वर्षदेखि रोकिराखेको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको बताए।

‘ढल्केबर–हेटौँडा ट्रान्समिसन लाइन धेरै पुरानो हो। सुनसरीको इनरुवासम्मै पुग्ने यो लाइन ३०० सय किलोमिटर हाराहारी छ। यसमा राइट अफ वे को एकदमै समस्या छ,’ उनले भने, ‘लामो समयदेखि वनको क्लियरेन्स पाएका थिएनौं। यो तार तान्नको लागि। माथि आरओडब्लु (राइड अफ वे) भएको रुख पनि काट्नुपर्ने अवस्था छ।’ 

उक्त प्रसारण लाइन निर्माणको लागि दायाँबायाँ गरेर ४६ मिटरको राइट अफ वे हुन्छ। 

मन्त्रिपरिषदबाट वन प्रयोग गर्न दिने निर्णय प्रसारण लाइन निर्माणको लागि ब्रेक थ्रु भएको निर्देशक श्रेष्ठले बताए। अब हेटौँडादेखि ढल्केवर हुँदै इनरुवासम्म ट्रान्समिसन लाइन करिडोर बन्छ। श्रेष्ठले भने, ‘पहिला १३२ केभीको मात्रै करिडोर थियो, हेटौडादेखि पूर्वसम्मै। अब ४०० केभीको ठूलो हाइवे भएपछि यसको फाइदा पटक पटक रुख लाग्ने, डिस्टर्ब हुने अनि सिस्टम जाने, झ्याप झ्याप वत्ती जाने अवस्था हट्छ।’

निर्देशक श्रेष्ठकाअनुसार हेटौँडादेखि बुटवलसम्म २२० केभीको सर्किट बनिसकेको छ। अहिले वर्षायाममा खेर जाने विद्युत व्यापारको लागि मुख्य विन्दु ढल्केवरबाट मुजफ्फपुर ४०० केभी क्रस बोर्डर लाइनसम्म विद्युत पुर्‍याउन पनि यो प्रसारण लाइनले सहयोग गर्छ। यो प्रसारण लाइन बन्दा पूर्वमा भएको बिजुली पश्चिमतिर समेत पुर्‍याउन सक्ने अवस्था बन्छ। 

यो प्रसारण लाइन बनेपछि तीन हजार मेगावाटसम्म विद्युत आपूर्ति हुने उनले बताए। 

कामु कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार ती क्षेत्रमा बनाउनुपर्ने १६ वटा टावर आगामी दुई महिनाभित्रमा सक्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad