कारोबार


भारत र बंगलादेशलाई बिजुली बेचेर नेपालले कमायो २९ अर्ब ३२ करोड

६८ प्रतिशतले निर्यात बढ्दा १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
भारत र बंगलादेशलाई बिजुली बेचेर नेपालले कमायो २९ अर्ब ३२ करोड

नेपालखबर
साउन ७, २०८३ बिहिबार १३:४६, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। 

समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट (केडब्लुएच) विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। भारतीय खुला बजार (आईईएक्स-डीएएम, आईईएक्स-आरटीएम, एनभीभीएन) तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रुपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आम्दानी हासिल भएको हो।

निर्यात आम्दानीमा अभूतपूर्व वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। 

आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो। समीक्षा वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत हासिल गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको छ।

देशभित्रै जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको पुष्टि हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad