कारोबार


लकडाउन थपविरुद्ध व्यवसायीहरुको एकै स्वरः सरकार समस्याबाट भाग्न खोज्यो

लकडाउन थपविरुद्ध व्यवसायीहरुको एकै स्वरः सरकार समस्याबाट भाग्न खोज्यो

 सन्तोष न्यौपाने
जेठ १९, २०७७ सोमबार ७:४३,

सरकारले विना योजना लकडाउनलाई थप्दै लगेपछि थप निराशा र आक्रोश देखिन थालेको छ।

सरकारले लकडाउनलाई केही योजनासहित खुकुलो बनाउने आशा गरिरहेका व्यवसायीहरुले शुक्रबार पुनः १२ दिनलाई लकडाउन थपिएपछि यसको विरोधमा आन्दोलनसमेत हुनसक्ने बताएका हुन्।

मन्त्रिपरिषदले लकडाउन थप्ने निर्णयपछि सामाजिक सञ्जालमा तत्काल आफ्नो प्रतिक्रिया जनाउँदै व्यवसायीहरुले सरकारले समस्याबाट भाग्न खोजेको आरोप लगाउँदै विरोध जनाएका छन्।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले सरकारले बढाएको लकडाउनविरुद्ध विरोध गर्न नथाल्ने हो भने यो निरन्तर भइराख्न सक्ने शंका व्यक्त गरेका छन्।

उनले आफ्नो ट्विटमा लेखेका छन्, ‘सरकार आफैँ जस/अपजसको डरले लकडाउन बढाएको बढायै छ। यदि विरोधको गुञ्जन सरकारको कानसम्म बलियो गरी नपुर्‍याई खुल्दैन, अब विरोध गरौं।’

लकडाउन लम्बिँदै जाँदा उद्योग व्यवसाय उठ्नै नसक्ने अवस्थामा जानलागेकोले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गर्दै व्यावसायिक कारोबार सञ्चालन गर्न लकडाउन खुकुलो पार्नुपर्ने सुझाव उनले दिए।

‘लकडाउन जसरी पनि खोल्नुपर्छ’, नेपालखबरसँग दुलालले भने।

सरकारले यसरी नै आँखा चिम्लेर लकडाउन बढाउँदै जाने हो भने जनताबाट र व्यवसायीबाट नै यसको विरोध सुरु हुने उनले बताए।

‘जनताले नै लकडाउनको विरोध गर्न थालेपछि बल्ल खुल्छ जस्तो लाग्छ मलाई, हामी व्यवसायीले त के नै गर्न सक्छौं र, सरकारलाई कर दिन सक्छौं, व्यवसाय खुल्यो भने व्यवसाय गर्न सक्छौं, सुझाव दिन सक्छौं’, उनले भने।

लकडाउनको अवधिमा पनि व्यवसाय सञ्चालन गर्न सरकारले अवरोध गरेको उनले बताए।

‘केही व्यवसायलाई मात्र सरकारले अनुमति दिएको छ’, दुलालले भने, ‘हाम्रा सबै उद्योग व्यवसाय सञ्चालन गर्न तयार छन्।’

लकडाउनको बीचमा पनि उद्योग व्यवसाय सहजै ढंगले चलाउन सकिने उनको तर्क छ।

नाडासँग सम्बन्धित व्यवसाय प्रतिष्ठानहरुलाई सुचारु गर्न गाइडलाइन समेत प्रकाशित गरेको उनले बताए। उक्त १८ बुँदे गाइडलाइनलाई पालना गरेर व्यवसाय सञ्चालन गर्न सबै व्यवसायलाई अनुरोध गरेको उनले बताए।

‘कोरोनासँग जुधेर अगाडि बढ्नु पर्छ। विश्व स्वास्थ्य संगठनले त यो दुई वर्षसम्म चल्छ भनेको छ’, दुलालले भने, ‘हामी दुई वर्षसम्म यसरी बसेर त साध्य हुँदैन।’

सरकारले शुक्रबार चैत ११ देखि जारी लकडाउनलाई १२ दिन थप्दै जेठ ३२ सम्म पुर्‍याएपछि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तुरुन्तै प्रतिक्रिया दिँदै यो लकडाउन मात्र नभएर अर्थतन्त्रको ‘ब्रेकडाउन’ भएको बताएका छन्।

‘यो लकडाउन, लकडाउन रहेन, अब अर्थतन्त्रको ब्रेकडाउनमा परिणत भयो’, गोल्छाले आफ्नो ट्विटमा लेखेका छन्। उनले नेपालमा लगाइएको लकडाउन विश्वकै लामो लकडाउन भनेर समेत उल्लेख गरेका छन्।

त्यस्तै, सरकारले विना योजना निरन्तरता दिएको लकडाउनको विरोध गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले अब अर्थतन्त्रको अवस्था कस्तो होला भनेर प्रश्न गरेका छन्।

‘लौ लकडाउन फेरि थपियो। अर्थतन्त्र के होला?’, मुरारकाले आफ्नो ट्विटमा लेखेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले लकडाउनको मोडालिटी परिवर्तन गरेर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने बताइन्। अहिले ४० प्रतिशतभन्दा धेरै उद्योग चल्न सकेका छैनन्।

‘सरकारले एकातिर उद्योग व्यवसाय खोल्न भनेको छ, अर्कोतिर लकडाउन जारी छ’, राणाले नेपालखबरसँग कुरा गर्दै भनिन्, ‘लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्छ।’

छिमेकी देश भारतलगायतका देशले कस्तो मोडालिटीमा काम गरिरहेका छन्, त्यसलाई हेरेर पनि गर्न सकिने उनको सुझाव छ।

‘अहिले स्वास्थ्यलाई पनि ध्यानमा राख्नुपर्छ’, राणाले भनिन्, ‘श्रमिक पनि उद्योगसम्म पुग्ने वातावरण बनाउनुुपर्छ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउन अब अति नै भएको बताए।

‘लकडाउन अब अति नै भइसक्यो। यसले ठूलो क्षति हुनेवाला छ,’ नेपालखबरसँग श्रेष्ठले भने, ‘हामीले भनेको सुझावले केही गर्दैन।’

सरकारले लकडाउनको मोडालिटीमा परिवर्तन गर्नुपर्नेमा श्रेष्ठको पनि सुझाव छ। उद्योग सञ्चालनको लागि पसल र अन्य व्यवसाय पनि खुल्नुपर्ने उनले बताए।

कोरोना संक्रमण भएका अन्य देशहरुले समेत लकडाउन हटाइसकेको अवस्थामा नेपालमा किन बढिरहेको छ भन्ने बारेमा बुझ्न नसकिएको उनको भनाइ छ।

त्यस्तै, व्यवसायी विष्णुप्रसाद न्यौपानेले सरकारले दोहोर चरित्र देखाएको बताए। सिमेन्ट उद्योग सञ्चालन गर्न चुनढुंगा खानी सञ्चालन गर्न नसकिएको उनको गुनासो छ।

‘सरकारले भारतबाट चुनढुंगा ल्याउन दिने त्यो गर्दा कोरोना नलाग्ने तर स्वदेशमै टिपर चलाउँदा कोरोना लाग्ने भन्ने कस्तो तर्क हो?’ न्यौपानेले भने, ‘उद्योग चलाउन कच्चापदार्थ ल्याउन दिनुपर्छ।’

२० गतेपछि लकडाउन बढाउँछ भनेर आफूले नसोचेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad