कारोबार


राष्ट्रिय गौरवका आयोजना किन समयमै बन्दैनन्? यस्तो भन्छन् योजना आयोगका उपाध्यक्ष

राष्ट्रिय गौरवका आयोजना किन समयमै बन्दैनन्? यस्तो भन्छन् योजना आयोगका उपाध्यक्ष

नेपालखबर
साउन १५, २०७७ बिहिबार ९:२६,

राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरीय रुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ।

वर्षौदेखि निर्माण सुरु भएका गौरबका आयोजनाहरु कहिले स्रोत अभाव त कहिले अन्य स्थानीय समस्याहरुका कारण निर्माण सम्पन्न हुन सकेका छैनन्। राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कँडेल आयोजनाहरु तोकिएको लागत, समय र गुणस्तरमा काम हुन नसकेको बताउँछन्।

गौरबका आयोजनाहरु जुन गतिमा निर्माण हुनुपर्ने हो त्यो गतिमा हुन नसकेकोले यसमा गम्भिरता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए। आयोजना निर्माणमा अहिले वातावरणीय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको उनले बताए।

विभिन्न मन्त्राललयका सचिवहरुले स्रोतको समस्याका कारण गौरबका आयोजनाहरु निर्माणमा विलम्ब हुने गरेको बताएका छन्। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्रालयका सचिवहरुले लक डाउनका कारण केही आयोजनाहरु प्रभावित भएपनि अधिकांश आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहेको बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले विभिन्न विमानस्थलहरु निर्माणका काम सन्तोषजनक रहेको बताए। निजगढ विमानस्थलमा भौतिक प्रगति उल्लेख नभएपनि अदालतको फैसला आएपनि बाँकी प्रकृया अगाडि बढाइने उनले बताए। पशुपति गुरुयोजना अनुसार ८४ प्रतिशत काम सम्पन्न भएको र लुम्बिनी क्षेत्र विकासको काम ८५ प्रतिशत सकिएको उनले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुष्पलाल मध्यपहाडी र लोकमार्गमा ५३ प्रतिशत काम भएको बताए। गत आर्थिक वर्षमा १ सय ११ किलोमिटर गरी अहिलेसम्म आधा भन्दा बढी सडक कालोपत्रे भएको उनले बताए। हुलाकी सडकको ५५ प्रतिशत कम सम्पन्न भएको छ। गौरबका आयोजना निर्माणमा स्रोतको समस्या देखिएको उनले बताए।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्रालयका सचिव दिनेश घिमिरेले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ७१ प्रतिशत काम सम्पन्न भएको बताए। मुख्य सुरुङका लागि परामर्शदाता विज्ञहरु ल्याउनुपर्नै भएपनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समस्या भइरहेको उनले बताए।

बुढीगण्डकी जलविद्युत आयोजनामा अहिलेसम्म ३२ अर्ब २७ करोड १७ लाख बराबरको मुआब्जा वितरण भएको उनले बताए। कुल ५८ हजार १ सय ५३ रोपनीमध्ये अहिलेसम्म ४७ हजार ३ सय ३९ रोपनीको मुआब्जा वितरण भएको उनले जानकारी दिए।

सिक्टा सिँचाई आयोजनाको ६३ प्रतिशत भौतिक प्रगति भएको छ। पश्चिम तर्फको ४५ किलोमिटर मुल नहर तयार भइसकेको छ। गत वर्ष आयोजनाबाट १६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको छ। बाँकेमा मात्रै ९० प्रतिशत क्षेत्रमा सिक्टा सिँचाईको पानीले रोपाई गरिएको छ। रानी जमरा कुलरिया आयोजनामा ४८ प्रतिशत प्रगति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad