अस्ट्रेलियाली सरकारले गुगल र फेसबुकजस्ता सामाजिक सञ्जालमा पोष्ट हुने समाचारको पैसा सम्बन्धित मिडियालाई तिर्नैपर्ने आचारसंहिता ल्याउने योजना अघि सारेको छ।
बीबीसीका अनुसार समाचारको पैसा तिर्न यी कम्पनीलाई बाध्य पारिनेछ। यो वर्ष कोरोनाका कारण धेरै मिडिया आउटलेटले रोजगारी कटौती गरेका छन् भने कतिपय मिडिया नै बन्द भएका छन्।
फेसबुक र गुगलले भने यो योजनाको कडा विरोध गरेका छन्। उनीहरुले अस्ट्रेलियाको न्युज मार्केट नै छोड्ने चेतावनी दिएका छन्। अस्ट्रेलियाको नियामक निकायले यसको आचारसंहिता समेत बनाइसकेको छ। यसलाई अस्ट्रेलियन संसदमा पेस गरेर छलफल चलाइने भएको छ।
यसको कार्यान्वयन नगरे यी कम्पनीमाथि लाखौँ डलर जरिवाना गरिने व्यवस्था समेत रहेको बताइएको छ। अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्जुमर कमिसनले आचारसंहिताको मस्यौदा बनाएको हो।
यसले मिडिया कम्पनीलाई प्रविधि कम्पनीमा प्रकाशित हुने समाचारहरुबारे छलफल र सहकार्य गर्न अनुमति दिनेछ। यदि यस्तो छलफलमा कुरा नमिले अस्ट्रेलियन कम्युनिकेसन एन्ड मिडिया अथोरिटीले मध्यस्थता समेत गर्न सक्नेछ।
जरिवाना रकम १ करोड अस्ट्रेलियन डलरसम्म तोकिएको छ। यदि प्रविधि कम्पनीले उल्लंघन गरे उक्त रकम वा कम्पनीको स्थानीय कारोबारको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ। यो आचारसंहिता संसदमा पेस हुनुअघि महिनौँ लामो परामर्श हुनेछ। यदि यो संसदबाट पास भए प्रविधि कम्पनीहरुले समाचारजन्य विषयवस्तुको सम्बन्धित मिडियालाई पैसा तिर्नुपर्नेछ।

प्रतिक्रिया