कारोबार


‘होम डेलिभरी’मा प्रहरीको अवरोधपछि आपूर्ति मन्त्रालयले गृहसँग गर्‍यो सोधखोज

‘होम डेलिभरी’मा प्रहरीको अवरोधपछि आपूर्ति मन्त्रालयले गृहसँग गर्‍यो सोधखोज

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ९:३०,

निषेधाज्ञाका समयमा अनलाइनबाट ‘अर्डर’ लिएर होम डेलिभरी अर्थात् घरमै सामान लगिदिनेमाथि बिहीबार उपत्यकामा प्रहरीले अवरोध गरेपछि आपूर्ति मन्त्रालयले यसको सोधखोज सुरु गरेको छ।

आपूर्तिले गृह मन्त्रालयसँग घटनाबारे सोधखोज गरेको हो।

बिहीबार एकैदिन निषेधाज्ञाकाको समयमा होम डेलिभरी सेवा दिइरहेका ८० जनालाई प्रहरीले धरपकड गरेको थियो।

फुडमाण्डुका फुडल्याण्ड, दराज अनलाइन, अनलाइन केक, नयाँ डटकम, भोजविल, स्वादिष्ट फुड, भ्यालि कम्प्लेक्स, डल्ले रेष्टुरेन्ट, स्वादिष्ट होम डेलिभरी, सोचेको डटकम, राशन मार्ट, केकमाण्डुलगायत कम्पनीका कर्मचारी पक्राउ परेका थिए। यसबारे जानकारी पाएपछि घटनाको विवरण सोधखोज गरेको आपूर्ति मन्त्रालयले जनाएको छ।

पहिलो पटक लकडाउन हुँदा पनि यस्तै भएको थियो। उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयमा यस्ता कम्पनीहरु त्यतिबेला गुनासो नै लिएर पुगेका थिए।

सम्बन्धित ऐन कानुन नै नेपालमा नभएकोले आपूर्ति मन्त्रालयले गृहसँग समन्वय गरेर उनीहरुलाई होम डेलिभरीको लागि सहजीकरण गरिदिएको थियो।

तर फेरि उपत्यकामा भएको लकडाउन प्रकृतिकै निषेधाज्ञामा होम डेलिभरी सेवालाई अवरोध गरिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले शुक्रबार आपूर्ति मन्त्रालयले अनौपचारिक सोधखोज गरेको र अनलाइन डेलिभरी गर्नेलाई सहजीकरण गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको छ। त्यसको लागि सुरक्षा निकायको तल्लो लेबलसम्म सहजीकरणको लागि सर्कुलर गर्न पनि भनिएको राज्यमन्त्री दुगडले नेपालखबरलाई जानकारी दिए।

निषेधाज्ञामा अत्यावश्यक सेवा प्रवाहलाई कुनै किसिमको अवरोध नहुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले नै पटक पटक विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको छ तर ड्युटीमा खटिने प्रहरीले भने बारम्बार अवरोध गर्दै आएका छन्।

केही दिनअघि मात्रै बैंकका कर्मचारीलाई पनि प्रहरीले अवरोध गरेको थियो। त्यसको विरोधमा नेपाल बैंकर्स एसोसिएसनले उक्त दिन बैंकिङ सेवा दिन नसक्ने भन्दै ठप्प पारेको थियो। पछि राष्ट्र बैंकले समन्वय गरेपछि बैंकका कर्मचारीलाई निर्बाध कार्यालय जान दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad