कला


वामदेव गौतमको नयाँ गीत ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ सार्वजनिक (भिडियाे)

वामदेव गौतमको नयाँ गीत ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ सार्वजनिक (भिडियाे)

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ९:२०,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन्। फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका छन्।

कोभिड– १९ का कारण यो ‘बुद्धभूमि’ नामक गीत आज भर्चुअलरुपमा सार्वजनिक भएको छ। गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको संगीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर छ।

गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम र छायांकनकर्ता दीर्घ गुरुङ छन्। गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ। नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ।

उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसकेका छन्। उनले आफ्ना ती गीतलाई संकलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याएका छन्। उनका ती गीत राष्ट्रियभावले भरिएका छन्। त्यसलगायत कला, सांस्कृतिक, सामाजिक र आर्थिक उन्नतिका लागि पनि उनका गीतले सन्देश दिएका छन्।

जनआन्दोलन २०६२÷०६३ पछि राजतन्त्रको अन्त्यसँगै उदय भएको गणतन्त्रको शुरुआतमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोज्ने क्रममा गीतको छनोट गर्ने जिम्मा लिएको समितिलाई गौतमद्वारा रचित ‘प्राण प्यारो देश नेपाल’ पठाइएको थियो।

‘जनआन्दोलनपछि परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गीतको विकल्प खोजियो। नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो’, उनले भने, ‘मैले पनि आफूले रचना गरेको गीत पठाएँ तर उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन। त्यही गीत मेरो गीतियात्राको प्रारम्भ बन्न पुग्यो।’ त्यसो त उनी आफूमा जीवनको प्रारम्भकालदेखि नै छन्द कविता र गीति लेखनमा रुचि रहेको बताउछन्। विद्यालयस्तरदेखि नै गीतसंगीत र कवितामा रुचि राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पूरा भएको जनाकारी दिए।

‘विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो’, उनले भने, ‘तर त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन।’ रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad