निजी लगानीमा सञ्चालित यती एयरलाइन्सले नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा आफ्ना यात्रुहरुको लागि आकर्षक अफर ल्याएको छ।
एयरलाइन्सको सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु मध्येबाट ५ जना भाग्यशाली बिजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको हो।
एअरलाइन्सले ल्याएको आकर्षक अफर अन्तर्गत ‘लक्की ड्र’मार्फत् पहिलो हुने बिजेताले एक जोडीका लागी हिमालयन एअरलाइन्सको काठमाडौं-अबुधाबी-काठमाडौंको दुईतर्फी फ्रि टिकेट प्राप्त गर्नेछन्।
त्यस्तै दोस्रो बिजेताले एक जोडीका लागी चितवनको कसरा होटलमा, तेस्रो बिजेता एक जोडीले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौँथो बिजेता एक जोडीले नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ। त्यस्तै गरी पाँचौ बिजेता एक जनालाई यती एअरलाइन्सको तर्फबाट आकर्षक पुरस्कार प्रदान गर्नेछ।
आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा एअरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दै आएको छ। केही समयअघि आकर्षक आन्तरिक भ्रमण प्याकेज घोषणा गरेको एअरलाइन्सले केहीदिन अघिबाट नवौँ गन्तव्यको रुपमा सिमरा उडान समेत सुरु गरेको छ।
योे अफर दसैँ अवधिभर लागू हुने कम्पनीले जनाएको छ।
यात्रुहरुलाई सुरक्षित उडान गराउँदै आकर्षक उपहार प्रदान गर्ने र एअरलाइन्सप्रतिको विश्वास कायम राख्न विभिन्न अफरहरु ल्याएको यती एअरलाईन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
उनका अनुसार यती एअरलाइन्सका सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु यो अफरमा सहभागी हुन सक्नेछन्।
‘हामीले २२ औँ वार्षिकोत्सवमा थप आकर्षक कार्यक्रम ल्याउने घोषणा गरे वमोजिम यो दसैँ अफर ल्याएका छौं, हाम्रा यात्रुहरुले उडान सँगै आकर्षक उपहारको पनी मज्जा लिनुहुनेछ’, प्रवक्ता बर्तौलाले भने।
एअरलाइन्सले एटीआर–७२, जेटस्ट्रिम–४१ विमानहरु मार्फत उच्च सर्तकता अपनाएर आफ्ना उडानहरु सञ्चालन गरिरहेको बताएको छ।
यती एअरलाइन्सले हाल काठमाडौँदेखि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार, सिमराका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ।
Shares

प्रतिक्रिया