कारोबार


साउदीबाट फर्केपछि तीन साथीले खोले वर्कशप, नेपालमै केही गर्न प्रेरणा

साउदीबाट फर्केपछि तीन साथीले खोले वर्कशप, नेपालमै केही गर्न प्रेरणा

वसन्त अर्याल
माघ २२, २०७७ बिहिबार १६:४८,

भनिन्छ, लक्ष्य पहिल्याउनेहरु थाक्दैनन्, गन्तव्यमा पुगिछाड्छन्।

बर्दिबासका खेमबहादुर सुनुवार, सिन्धुपाल्चोकका टोप मगर र भारत बिहारका विन्देश्वरी शर्माले पनि पहिल्याइसकेका छन्– व्यावसायिक सफलताको लक्ष्य।

वर्षौँसम्म विदेश चहारेका उनीहरु नेपालमै केही गर्नुपर्छ भन्ने लक्ष्यसहित ललितपुरको धोबीघाटमा स्टार वर्कशप चलाइरहेका छन्। त्यो पनि आफ्नै बलबुतामा। आफ्नै लगानी, आफैँलाई आम्दानी। स्वरोजगारको एउटा नमूना बनेको छ– तीन कर्मनिष्ठ साथीहरुको पौरख।

वर्कशपमा सुनुवार र मगरसँगै व्यावसायिक साझेदार बनेका छन् शर्मा। सुनुवार र मगर दुवै अटो मेकानिक्स हुन् भने शर्माको दक्षता डेन्टिङमा छ। काम र सीपमात्रै होइन तीनै जनाको दुःख र मन पनि मिल्छ।

star auto 10

तीनै जना साउदी अरबमा बटुलेको अनुभव नेपालमा खर्चिरहेका छन्। सुनुवार र मगरले साउदीको दमाममा एउटै कम्पनीमा ५ वर्ष काम गरे। शर्माचाहिँ २ वर्ष मात्रै साउदी बसे।

सामान्य पढेलेखेका उनीहरुको ज्ञान र सीप भनेकै वर्षौँको अनुभव हो। शर्मा र सुनुवार २४ वर्षदेखि गाडीकै काम गर्दै आएका छन्, मगरसँग पनि यही क्षेत्रमा करिब १७ वर्ष काम गरेको अनुभव छ।

गाडीसम्बन्धी काम तीनै जनाले काठमाडौंमै सिकेका हुन्। उनीहरुले काठमाडौंमा काम सिक्दा पैसा तिर्नु परेन तर १ वर्षसम्म कुनै पारिश्रमिक पाएनन्।

‘खानसम्मलाई पुग्थ्यो। बच्ने त कुरै भएन’, उनीहरु भन्छन्।

२/३ सय रुपैयाँमै जागिर सुरु गरेका सुनुवारले काठमाडौंमा करिब १० वर्ष काम गर्दा तलब ५ हजार पुगेको थियो। त्यो रुपैयाँले न खान पुग्ने न परिवार पाल्न।

star auto 2

मगरले पनि काठमाडौंका २/३ ठाउँमा काम गरे तर न सम्मान पाए, न त राम्रो तलब नै।

यसले उनीहरुमा वितृष्णा जाग्यो। विदेश गएर टन्न पैसा कमाउने निधो गरे।

सुनुवार र मगर दुवैले ऋण खोजे अनि हानिए साउदी। एउटै कम्पनीमा बसेर सँगै मेकानिकल काम गर्ने योजनाअनुरुप उनीहरुले दमामको एउटा कम्पनीमा काम थाले। कम्पनीले खटाएका ठाउँमा काम गर्दै गए। ५ वर्ष कतिखेर बित्यो, पत्तै पाएनन्।

परदेशमा बस्दा पैसा त कमाए तर सोचेजस्तो भएन।

star auto 3

‘विदेशमा बस्दा धेरै दुःख नभए पनि देश छाड्नुको पीडा थियो’, साउदीको अनुभव सुनाउँदै सुनुवार भन्छन्, ‘सुरुमा जाँदा नेपाली २२÷२३ हजार रुपैयाँ हुन्थ्यो। पाँच वर्ष बस्दा ४० देखि ४५ हजारसम्म पुग्यो।’

विदेशी भूमिमा लामो समय बसिरहँदा नेपालसँगको सम्बन्ध नै टुट्दै जाने छटपटी हुनथाल्यो।

‘अब त काठमाडौंका साथीहरुले पनि बिर्सिँदै जाने डर भयो’, परदेश रहँदाको क्षण सम्झिँदै उनी भन्छन्, ‘त्यसपछि नेपालमै केही गर्ने सोच बनायौँ।’

पाँच वर्षको साउदी बसाइपछि उनीहरु नेपाल आए। र, सुरु गरे यही व्यवसाय। सेटल भए।
....
‘१२/१३ वर्ष विदेशमा बसेको भए हामी यहाँ आएर आफ्नो काम सुरु गर्न अप्ठ्यारो पर्ने थियो’, सुनुवार भन्छन्।

नेपाल आएर काम सुरु गर्ने निधो त भयो तर सफल हुन्छ कि हुँदैन भन्ने चिन्ता पनि उत्तिकै थियो।

सन् २००५ मा विदेश गएका उनीहरु २०१० मा नेपाल फर्किए। साथीभाइसँग भेटघाट गरे। विदेशमा कमाएको केही रकम छँदै थियो। धेरैले काठमाडौंमै केही गर्न सुझाइरहेका बेला आफ्नै व्यवसाय सुरु गरे।

त्यही व्यवसाय थियो– धोबीघाटको स्टार वर्कशप। सुनुवार र मगरसँगै शर्मा भने पछि जोडिएका हुन्। डेन्टिङ÷पेन्टिङको काम जान्ने राम्रो मानिस चाहिएपछि २५–३० हजार पैसा दिएर कामदार राख्नुभन्दा व्यावसायिक साझेदार राख्न उनीहरुले उपयुक्त ठाने। त्यसपछि डेन्टिङमा दक्ष शर्मा उनीहरुको साझेदार बने।

बिहारको बेतियामा घर भएका शर्माले डेन्टिङको काम काठमाडौंमै सिकेका हुन्। उनले २४ वर्ष बढी समय ग्यारेजकै काममा बिताए। नेपालमा मात्रै २२ वर्ष बढी अनुभव हासिल गरेका छन्।

star auto 5

‘भारत जन्मभूमि, नेपाल कर्मभूमि’
नेपालमा धेरै बन्द हडताल हुँदै गएपछि २०१० मा शर्मा पनि विदेश गएका थिए। उनी पनि दुई वर्ष साउदी नै बसे। त्यहाँ गाडीको डेन्टिङसम्बन्धी नै काम गरे।

‘विदेशमा ठीकै थियो। परिवार भएको मान्छेलाई खाडी मुलुक धेरै टाढा भयो’, शर्माले भने, ‘काठमाडौंमै हुँदा केही समस्या भए नाइटबस चढेर घर जान सकिन्छ। ३–४ दिन घर बसेर काममा फर्किन पाइयो।’

नेपालमा काम गर्दा विदेश भएजस्तो महशुस नहुने बताउँछन् शर्मा। आफ्नो जन्मभूमि भारत भए पनि नेपाललाई कर्मभूमि मान्छन्।

‘अरुको चाकरी गर्नुपरेन, आफ्नै काम गर्दा भयो। नेपालमा भाषा काम सबै जानकारी हुँदा अप्ठ्यारो हुँदैन’, शर्मा भन्छन्।

शर्मा २०७१ देखि सुनुवार र मगरसँग जोडिएका हुन्। वर्कशप व्यवसाय सुरु गर्दा उनीहरुलाई १ वर्ष केही अप्ठ्यारो भए पनि अहिले रामै्र कमाइ गरिरहेका छन्।

‘साउदी गएर कमाएको भन्दा अहिले आफ्नै काम गर्दा राम्रो भएको छ’, नेपालखबरसँगको कुराकानीमा मगर भन्छन्, ‘नेपालमा आफ्नै काम गरेर छोराछोरी पढाउन र परिवार पाल्न पुगेकै छ।’

star auto 4

साउदीको कमाइ नेपालमा लगानी
उनीहरुले वर्कशप सुरु गर्दा करिब ८ लाख लगानी गरेका थिए। काम गर्दै जाँदा लगानी थपिँदै गएको छ। ऋण काढेर साउदी गएका उनीहरुले कमाएको पैसा वर्कशपमै लगानी गरेका छन्।

‘काम हुँदा मिलीजुली बाँड्ने खाने, नहुँदा कसैलाई हुँदैन। अरुलाई तलब दिनु नपर्ने भएपछि टिक्छौँ भन्ने विश्वास थियो, त्यही भएर लगानी गर्यौँ’, सुनुवार भन्छन्, ‘वर्कशपमा नयाँलाई सिकाउँदै काममा लगाउने पनि गर्दै आएका छौँ।’

उनीहरुको वर्कशपमा मेकानिकल, डेन्टिङ, पेन्टिङ लगायत सबै काम हुन्छन्। नियमित ग्राहकलाई देशभर पुगेर सेवा दिन्छन्।

‘लामो समय गाडी ग्यारेजमा राख्दा भीडमात्रै हुन्छ, हामीलाई काम गर्न अप्ठ्यारो हुन्छ’, मगर भन्छन्, ‘स्टार वर्कशप सर्भिस छिटो गर्नेमा टप टेनमै पर्छ।’

star auto 7

यसकारण व्यापारतिर लागेनौँ
विदेश बसेर आएका उनीहरुलाई पैसा कमाएपछि अरु व्यापार गर्न सुझाउने पनि नभएका होइनन्। कतिले त वर्कशपकै काम गर्दा कपडा र हात मैलिन्छ पनि भने। तर जानेकै सीप कसरी छोड्ने भन्ने भयो र उनीहरु अटो मेकानिक्स नै हुन चाहे।

तीनै जना साथी साथी तर फरक फरक ठाउँका। काम गर्दा कहिलेकाहीँ मनमुटाव हुँदैन? ‘हुँदैन’, उनीहरु भन्छन्, ‘सामान्य कुरालाई हामी मनमुटावको रुपमा लिँदैनौँ।’

पार्टनरसिपमा काम गर्दा सानो मन बनाउन नहुने उनीहरुको भनाइ छ। मिलेर जाऔँ, मिलेर खाऔँ भन्ने हाम्रो भनाइ हो।

सुनुवार भन्छन्, ‘हामी फरक ठाउँको भएर फरक पर्दैन। मन मिलेकै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad