मानिस चेतनशील प्राणी हो। ऊ व्यवस्थित बसोबासमा रमाउँछ। सोही कारण उसले निश्चित स्थानमा स्थायी घर निर्माण गर्छ।
घर भनेको मूलतः जीवनमा एकपटक बनाइन्छ। त्यही कारण पनि जीवनमा एकपटक बनाउने घर व्यवस्थित, बलियो र सुरक्षित होस् भन्ने सबैको चाहना हुन्छ।
त्यस्तो घर निर्माण गर्नुअघि के–के गर्नुपर्छ त? यहीबारे हामीले घरसम्बन्धी परामर्श दिने र नक्सासम्बन्धी कार्य गर्ने सम्बन्धित इन्जिनियरसँग कुराकानी गरेर घरका लागि आवश्यक नक्सा कसरी तयार गर्ने, त्यसलाई पालिकाबाट पास गराउन के गर्नेलगायतका विषयबारे स्पष्ट पारेका छौँ।
यसरी बनाउनुहोस् घरको नक्सा
सुव्यवस्थित घर बनाउनको लागि सर्वप्रथम नक्सा आवश्यक हुन्छ। नेपालमा घरको नक्सा आफ्नो लागिभन्दा पनि नगरपालिकाको लागि चाहिन्छ भन्ने धारणा धेरै छ। पालिकाहरुले नक्सा नखोज्ने हो भन्ने नक्साविनै घर बन्ने अवस्था पनि छ।
घरको नक्सा बनाउनु चित्र कोर्नु मात्रै होइन। घर कस्तो बनाउने भन्ने विषयमा विस्तृत परामर्शपछिको योजना हो। नेपालमा नक्सा बनाउने कामलाई बढी प्राथमिकता नदिई जतिसक्दो चाँडो, छिटो र सस्तोमा बनाउने पाए हुन्थ्यो भन्ने चाहना राखिन्छ।
मेरोघरका प्रमुख कार्यकारी इन्जिनियर बिपिन गैरे भन्छन्, ‘कुनै घरभित्र छिर्दा आनन्द आउँछ, कुनै घरमा छिर्दा श्वास फेर्न अप्ठ्यारो महशुस हुन्छ। त्यो घरको डिजाइनले फरक पार्छ। घरभित्रका सबै कोठामा उज्यालो कसरी पु¥याउने? थोरै ठाउँलाई कसरी उपयोग गर्ने? कलर (रङ), डिजाइन, डेकोरेसन (सजावट) कस्तो हुने भन्ने घरको नक्साअनुसार तय हुन्छ।’
घरधनीको कन्सेप्ट (अवधारणा) अनुसार नक्सा बनाउने काम आर्किटेक वा इन्जिनियरले गर्छ।
उनका अनुसार घर कस्तो बनाउने भन्ने स्पष्ट भएपछि मात्रै आर्किटेकले घरको खाका तयार बनाउँछ। नक्सामा झ्याल ढोका कहाँ राख्ने, भ¥याङ कस्तो, कसरी बनाउने भन्ने हुन्छ।
‘आर्किटेक्चर डिजाइन भइसकेपछि स्ट्रक्चर डिजाइनरले घर कति बलियो बनाउने भन्ने विषयमा सुझाव दिन्छ’, इन्जिनियर गैरे भन्छन्, ‘यसले यतिको पिलर राख्ने, यस्तो बिम राख्ने भन्ने विषयमा काम गर्छ।’
सामान्य घर बनाउन स्ट्रक्चर डिजाइन आवश्यक नपरे पनि विशेष प्रकृतिको घरको लागि स्ट्रक्चर डिजाइनरको सहयोग लिनुपर्ने उनको भनाइ छ।
नेपाल सरकारले घर बनाउनको लागि मापदण्ड तोकेको छ। मापदण्डभित्र बसेरै नक्सा बनाइन्छ।
डिजाइनको काम इन्जिनियर, आर्किटेक, डिप्लोमा गरेको व्यक्तिले पनि गर्नसक्छ। कस्तो घर बनाउने हो, त्यसैअनुसारको इन्जिनियर छान्नुपर्छ। आफ्नो घरको डिजाइन बनाउँदा कस्तो मानिसलाई डिजाइन गर्न दिने भन्ने पनि जानकारी हुन आवश्यक छ।
नक्सा पास प्रक्रिया
नेपाल सरकारले तोकेको मापदण्डअनुसार घर बनेको छ कि छैन भनेर हेर्ने निकाय पालिका हो। पालिकाहरु आफैँले नक्सा बनाइदिँदैनन्। उनीहरुको काम तयार भएको नक्सा सरकारी निकायले तोकेको मापदण्डअनुसारको छ कि छैन हेर्ने मात्रै हो।
सुरुमा परामर्शदाता, आर्किटेक वा इन्जिनियरले नक्सा बनाउनुपर्छ। त्यसपछि नगरपालिकाले त्यसको जाँचपडताल गर्छ। नक्सा निर्माणपछि पालिकाद्वारा उपलब्ध गरिएको नक्सा फारम भर्नुपर्छ। त्यसपछि पालिकामा दर्ता गराएर राजस्व तिर्नुपर्छ। राजस्व रकम भने पालिकाअनुसार फरक–फरक हुनसक्छ।
त्यसपछि नगरपालिकाले जग्गा रहेको वडा कार्यालयलाई फाइल पठाउँछ। वडाले १५ दिने सूचना टाँस गर्छ। त्यही अवधिमा वडा कार्यालयबाट इन्जिनियर आएर घर निर्माण हुने ठाउँको अवलोकन गर्छन्। छरछिमेकमा घर बन्ने विषयमा सूचना प्रवाह गरिन्छ।
१५ दिनमा कसैले उजुरी गरेन भने फाइल पुनः पालिकामै फर्काइन्छ। सामान्यतया नक्सा पास हुन १ महिना लाग्छ। यो भनेको १५ दिन सूचनाको लागि र अर्को १५ दिन नक्सा जाँचलगायत प्रक्रियाको लागि लाग्ने समय हो। राम्रोसँग योजना बनाएर काम गर्दा नक्सा बनाउन १ महिना नै लाग्छ।
नक्सा बनाउन कति पैसा लाग्छ?
नक्सा बनाएको कति पैसा लिने भन्ने इन्जिनियरसँग सम्बन्धित विषय हो। भर्खर इन्जिनियरिङ क्षेत्रमा आएकाले ५/६ हजारमै पनि बनाउने गरेका छन्। तर सामान्यतया साढे २ तल्लाको मध्यमखालका घरको नक्सा बनाउन ४०/५० हजार लिने गरिएको छ। अनुभवी इन्जिनियरसँग परामर्श लिँदा त्योभन्दा पनि बढी हुनसक्छ। उनीहरुले कामअनुसारको शुल्क लिन्छन्।
विदेशमा घर बनाउँदाको ५ प्रतिशत कन्सल्टेसन फि (परामर्श शुल्क) भनेर लिने चलन छ। नक्सा बनाउने मात्रै नभई घरको विषयमा सम्पूर्ण परामर्श दिने गर्छन्। यस्तोमा घरको कुनै डिजाइनमा त्रुटि भएर घरमा क्षति भयो भने क्षतिपूर्ति तिर्ने दायित्व परामर्शदाताकै हुन्छ। नेपालमा यस्तो चलन अझै सुरु हुनसकेको छैन।
यसरी पाइन्छ नक्सा स्वीकृति
पालिकाको इन्जिनियरले स्वीकृति दिएपछि अस्थायी निर्माण इजाजतपत्र प्रदान गरिन्छ। त्यसपछि निर्माणकार्य सुरु गरिन्छ। काठमाडौं महानगरले दुई फेजमा नक्सापास गर्ने गरेको छ।
महानगरपालिकाका इन्जिनियर भीष्म सैँजु महानगरले निर्माण इजाजतपत्र प्रदान गरेपछि एकैपटक निर्माणसम्पन्नको आवेदन दिनुपर्ने दुई चरणको व्यवस्था गरेको बताउँछन्।
उनका अनुसार २०७२ को भूकम्पपछि काठमाडौं महानगरपालिकाले भवन निर्माणको नयाँ मापदण्ड ल्याएपछि तीन चरणको प्रक्रियालाई दुई चरणमा झारिएको हो।
यसअनुसार पास भइसकेको नक्साविपरीत अहिले घर बनाउन पाइँदैन।
‘२०७२ अघिसम्म पास भएको नक्साभन्दा बढी वा फरक किसिमले घर बनाएमा जरिवाना तिराएर निर्माणसम्पन्नताको प्रमाणपत्र काठमाडौं महानगरले दिन्थ्यो’, सैँजुले भने, ‘तर अहिले भने त्यसो गर्न पाइँदैन। नक्साविपरीत घर बनाए निर्माणसम्पन्नताको प्रमाणपत्र नै पाइँदैन।’
तर काठमाडौंबाहेकका पालिकाहरुमा ३ फेज (चरण)मा काम सम्पन्न हुने गरेको छ। जहाँ अस्थायी अनुमतिपत्र, स्थायी अनुमतिपत्र र निर्माणसम्पन्नताको प्रमाणपत्र दिने व्यवस्था छ।
स्थायी अनुमतिको लागि घरधनीहरुले डीपीसी सकिएपछि आवेदन दिनुपर्छ।
पालिकाबाट सम्बन्धित जनशक्तिहरुले डीपीसीसम्मको निर्माणको अवलोकन गर्छन्। नक्साअनुरुप भए/नभएको हेर्छन्। नक्साअनुसार निर्माण भएको खण्डमा पालिकाको इन्जिनियरले स्थायी निर्माणको अनुमति दिन्छन्। त्यसपछि नक्साअनुसार डीपीसीमाथि घर बनाउने प्रक्रिया सुरु हुन्छ।
घर निर्माणसम्पन्नपश्चात् फेरि आवेदन दिनुपर्छ। पालिकाको इन्जिनियर आएर घरको अवलोकन गर्छन् र रिपोर्ट बुझाउँछन्। निर्माणसम्पन्नताको कागजातमा जुनियर इन्जिनियर, सिनियर इन्जिनियर, प्रमुख इन्जिनियर र विभागीय इन्जिनियरको दस्तखत हुनुपर्ने व्यवस्था छ।
नक्सा सच्याउनुपरे के गर्ने?
आफूले पहिला नगरपालिकाबाट पास गरेको नक्सा संशोधन गर्नुपर्यो भने पालिकामा निवेदन दिनुपर्छ। नियमअनुसार पेश गर्दा पास हुन्छ। घरको जगले धान्नसक्ने कुरा भए परिवर्तन गर्न सकिन्छ।
पूर्वतयारीसाथ घर निर्माण सुरु गर्ने हो भने नक्सा संशोधन गर्नुपर्दैन। बनाउँदै जाँदा यो कोठालाई यस्तो बनाउँदा ठीक हुन्छ वा ढोका यता झ्याल फरक ठाउँमा राख्दा राम्रो हुन्छ भनेर नक्सा परिवर्तन गर्नुपर्ने हुन्छ।
कहिलेकाहीँ घर बनाउँदै गर्दा पैसा नपुगेर पनि नक्सा परिवर्तन गर्नुपर्ने हुनसक्छ। राम्रोसँग योजना बन्यो भने यो घर बनाउन कति रकम लाग्छ भन्ने पनि पहिला नै थाहा हुन्छ।
यी हुन् नक्सापासको लागि चाहिने कागजात
| १. | निश्चित क्षेत्रफलको ब्लुप्रिन्ट |
| २. | ब्लुप्रिन्टमा बाटो नदेखिएको खण्डमा वडाबाट घर–बाटो सिफारिस लिनुपर्दछ |
| ३. | जग्गाको ट्रेस |
| ४. | लालपुर्जा |
| ५. | नागरिकताको प्रमाणपत्र |
| ६. | जग्गाधनीको फोटो |
| ७. | तिरो तिरेको रसिद |
| ८. | नक्सा |
Shares

प्रतिक्रिया