कारोबार


कर्मचारीलाई मेयर शाक्यले भनेः हुने काम गरिहाल्नू, नहुने भए कसैले नगर्नू!

कर्मचारीलाई मेयर शाक्यले भनेः हुने काम गरिहाल्नू, नहुने भए कसैले नगर्नू!

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १२:१०,

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा सचिव, इञ्जिनियर र लेखापाललाई अभिमुखीकरण तालिम दिएका छन्। महानगरका कामकारबाहीबारे अभिमुखीकरण दिँदै शाक्यले कर्मचारीलाई हुने काम भए एकछिन पनि नरोक्न र नहुने काम भए कसैले पनि नगर्न आग्रह गरेका हुन्।

‘एउटा गर्न मिल्दैन भनेको काम अर्कोले हुन्छ भन्नुले नियत राम्रो देखिँदैन। भन्नेले नबुझेको हुन सक्छ तर लाभग्राहीमा यसको नराम्रो असर पर्छ’, उनले भने। बुधबार र बिहीबार वडाका सचिव, इञ्जिनियर र लेखापालका लागि सञ्चालन गरिएको ‘आ.व. २०७६÷०७७ बजेट नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी’ अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले नीतिलाई आफ्नो—आफ्नो ढङ्गले व्याख्या गरेर नभई सबैको समान बुझाइ बनाएर कार्यान्वयनमा लैजानुपर्ने बताए।

‘एउटै काम एउटा वडामा हुने, अर्कोमा नहुने । जनप्रतिनिधिले हुन्छ भन्ने, कर्मचारीले हुँदैन भन्ने वा कर्मचारीले हुन्छ भन्ने, जनप्रतिनिधिले हुँदैन भन्ने गरियो भने नागरिकले सास्ती पाउँछन्’, उनले थप्दै भने, ‘अर्कोतिर सेवामा एकरुपता पनि हुँदैन। त्यसैले बुझ्नुभएको छैन भने आपसी छलफल गर्नोस्। म पनि तपाईंभन्दा टाढा छैन, मलाई नै सोधे पनि हुन्छ ।’ उनले अब आफूसम्म आइपुग्नु नपर्ने भन्दै वडाका समस्या वडामै समाधान गर्ने गरी अधिकार र स्रोत पठाएको बताए।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले वडाबाट राम्रो काम भयो भने, सेवाग्राहीप्रति असल व्यवहार भयो भने जनताले सरकार राम्रो भन्ने भएकाले राम्रो काम गर्न अनुरोध गरे।

बुधबार वडा १ देखि १५ सम्म र बिहीबार वडा १६ देखि ३२ सम्मका अधिकारीलाई बोलाएर सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा महानगरका निर्देशक बसन्त आचार्यले बजेट नीति कार्यान्वयनका कानुनी अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .