त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि दैनिक ७ घण्टा बन्द हुँदै छ।
आइतबार रातिदेखि विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल दैनिक ७ घण्टा बन्द गर्न लागिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
विमानस्थल स्तरोन्नतिको काम पुस १५ गतेसम्म चल्ने छ।
सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म राति साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने क्षेत्रीले बताए।
दोस्रो चरणमा धावनमार्गको मध्य रेखामा बत्ती राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ढल मर्मत लगायतका काम हुनेछन्।
अहिले विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान तथा अवतरण हुँदै आएका छन्।
नयाँ स्वरुपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
यसअघि गएको चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा आंशिक उडान बन्द गरेर धावनमार्गमा पहिलो चरणको कालोपत्रे गरिएको थियो।

प्रतिक्रिया