ad ad

कारोबार


विश्व सम्झना दिवस : सडक दुर्घटनामा मारिएका र घाइते भएकालाई सम्झिने दिन

विश्व सम्झना दिवस : सडक दुर्घटनामा मारिएका र घाइते भएकालाई सम्झिने दिन

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १६:४, काठमाडौँ

सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व सम्झना दिवस यस वर्ष पनि नोभेम्बर महिनाको तेस्रो आइतबार संसारभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ। 

यो एउटा विश्वव्यापी र अन्तर्राष्ट्रिय अभियान हो, जसलाई संयुक्त राष्ट्रसघंले समेत मान्यता दिएको छ।  

यस कार्यक्रम अन्तर्गत संसारका सडकहरूमा मारिएका र गम्भीर रूपमा घाइते भएका लाखौंलाई सम्झने र सबै प्रभावित पीडितहरू, परिवारहरू र समुदायहरूको पीडालाई पहिचान गरिन्छ । लाखाँै अनगिन्ती पीडितहरु पहिले नै भएको अवस्थामा अहिले पनि लाखौँ पीडितहरु प्रत्येक वर्ष थपिदै छन्, जुन सबैका लागि निकै नै पीडादायी हुन्छ ।

सरकार तथा दुर्घटना नियन्त्रण एवं रोकथामको क्षेत्रमा कार्यरत विश्वका लाखाँै मानिसहरुलाई यस सम्बन्धमा झक्झक्याउन र एक अर्काप्रति हातेमालो गर्दै दुर्घटना नियन्त्रण गर्नुका साथै पीडितहरुलाई सहयोग प्रदान गर्नका लागि यो दिनले महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।

उक्त दिवसका कारण सर्वसाधारणले समेत सडक दुर्घटना, यसको असर र मूल्य तथा यसको न्यूनीकरणका लागि अपनाइएका विभिन्न विधि तथा प्रक्रियाको बारेमा आवश्यक जानकारी प्राप्त गर्न सक्छन् । त्यसैगरी अब गरिनुपर्ने आवश्यक कार्ययोजनाका वारेमा समेत सबैले जानकारी लिन सक्छन् । यो वाहेक सडकलाई अझै सुरक्षित बनाउनका लागि सरकार तथा समाज सबैको जिम्मेवारीका वारेमा समेत बुझ्ने अवसर प्रदान गर्छ ।

यो वर्ष पनि नोभेम्बर महिनाको तेस्रो आइतबार अर्थात आगामी मंसिर ४ गते विश्वभर सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व दिवस मनाइदै छ । यस वर्षको यो दिवसको नारा सम्झौँ, मद्दत गरौँ र कदम चालौँ  रहेको छ भने ‘जस्टिस’ थिम राखिएको छ।
सम्झना दिवसका नाममा सन् १९९३ देखि संसारकै सडक यातायात दुर्घटना पीडितहरुका विश्व दिवसको रुपमा संयुक्त राष्ट्र संघले समेत मान्यता दिएको छ ।  
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सर्वप्रथम सन् १९९३ देखि बेलायतबाट यस प्रकारको दिवस मनाउन थालिएको थियो । 

सन् १९९५ मा युरोपियन फेडरेसन अफ रोड ट्राफिक भिक्टिम्स (एफईभीआर) अन्तर्गतका विभिन्न देशले यो दिवसलाई संयुक्त रुपमा मनाउन शुरु गरे । शुरुमा यसलाई ‘युरोपियन डे अफ रिमेम्बरेन्स’ को रुपमा मनाइएको थियो । तर पछि अफ्रिका, दक्षिण अमेरिका र एसियाका विभिन्न देशले समेत मनाउन थाले । 

सन् २००० मा पोप र अन्य धार्मिक समुदायका नेताहरुले समेत यसलाई मनाउन थाले र सन् २००० देखि यसलाई ‘वल्र्ड डे’ को रुपमा मनाउन थालियो भने संयुक्त राष्ट्र संघले सन् २००५ को अक्टोबर २६ मा यसको स्वामित्व ग्रहण गरेको थियो । त्यसपछि राष्ट्र संघकै अगुवाइमा यो कार्यक्रम संचालन भइरहेको छ। नेपालमा विगत केही वर्ष यता नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को अगुवाईमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा यो दिवस मनाइदै आएको छ ।

आज संसारमा सडक दुर्घटनाका कारण वर्षेनी १४ लाख भन्दा ज्यादाको अकाल मृत्यु करोडौंको अंगभंग र अपाङ्गको अवस्था अनि खरबौंको आर्थिक क्षतिको त्रासदीमा हामी बाँचिरहेका छौँ। त्यसबाट छुटकारा पाउने विभिन्न अभियानहरु विश्वब्यापी रुपमै चलिरहेका छन् र नेपालमै पनि । 

विगत एक दशकदेखि नेपालमा सुरक्षित सडक र सवारीको क्षेत्रमा संगठित प्रयास सुरु भएको छ । जसले सरकारसँग विभिन्न क्षेत्र र कार्यक्रममा हातेमालो गरिरहेको पनि छ। साथै यूएन एजेन्सीहरु, डब्ल्यूएचओ, एफआईए, ग्लोबल एलायन्स तथा आईआरभीपीजस्ता विश्व संगठनहरु यो अभियानमा सक्रिय छन् ।  

यस वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबार अर्थात मंसिर ४ गते आम निर्वाचन भएकाले तेस्रो शनिवार नै यस सम्बन्धी विभिन्न गतिविधिहरु हुनेछन् । 

नेपालमा सडक सुरक्षा सम्बन्धी कार्यमा संलग्न नासा नेपाल र  नासा फाउण्डेशनले नेश्नल एलाएन्स सँगको सहकार्यमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय वक्ताहरुको उपस्थितिमा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया गर्नुका साथै अन्य विविध गतिविधि समेत गर्नेछन् । 

त्यस कार्यक्रमा ग्लोबल एनजीओ एलाएन्स फर रोड सेफटी, एफ आइ ए फाउण्डेशन, यातायात मन्त्रालय तथा विभिन्न क्षेत्रका व्यक्तिहरु जुम मिटिङमा सहभागी हुनेछन् । 

त्यसैगरी मंसिर ४ गते नै धुलिखेलमा पिडितहरुको सम्झनामा दिप प्रज्जलन र श्रद्धाजली सभा पनि आयोजना हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .