इ–वाहनले पेट्रोलका बाइकलाई विद्युतीयमा रुपान्तरण गर्ने थालेको छ।
ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनसँगको सहकार्यमा इ–वाहनले पेट्रोल इन्जिनका बाइकलाई विद्युतीयमा रुपान्तरण सुरु गरेको हो।
इ–वाहनले हिरो होन्डाको १०० सीसीको मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरेको छ। मोटरसाइकलमा ३ किलोवाट पिक मोटर र ७२ भोल्टको ब्याट्री छ।
इ–वाहनले पुरानो मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्न १ लाख ३० हजारदेखि १ लाख ५० हजार रुपैयाँ लाग्ने बताएको छ।
‘हामीले पुरानो मोटरसाइकल रुपान्तरण गर्न थालेका छौँ’, इ–वाहनका टेक्निकल हेड विमान रिमालले भने, ‘१ लाख ३० हजार रुपैयाँमा पुरानो बाइकलाई विद्युतीयमा रुपान्तरण गर्छौँ।’
इ–वाहनले मोटरसाइकलको इन्जिन भएको ठाउँमा ब्याट्री राखेको छ। ब्याट्री मोटरसाइकल र ग्राहकको आवश्यकताको आधारमा राखिने रिमालले बताए। बाइकको डिजाइनअनुसार ब्याट्रीको डिजाइन गर्न सकिन्छ।
इ–वाहनले अहिले ब्याट्री प्याक बाहिरबाटै खरिद गरेर जडान गर्दै आएको छ। व्यवसाय बढ्दै जाँदा साधनको डिजाइनअनुसार ब्याट्री प्याकअप गर्न सकिने रिमालले जानकारी दिए।
‘मोटरसाइकललाई रुपान्तरण गरिसक्यौँ। पिकअप गाडी रुपान्तरण गर्दै छौँ’, उनले भने, ‘स्कुटर सबैभन्दा सहज छ। सरकारले मापदण्ड सहज बनाए रुपान्तरण गर्ने बढ्छन्।’
पुरानो मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्दा पछाडिको टायरमा मोटर जडान गरिन्छ। इ–वाहनले इलेक्टिक सिस्टम आफैँ बनाएर जडान गरेका छन्।
यस्तो छ कानुनी व्यवस्था
सरकारले पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न नीति बनाए पनि मापदण्ड बनाइसकेको छैन। कसैले आफ्नो गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न चाहे यातायात व्यवस्था विभागमा निवेदन दिन सकिन्छ।
सवारी तथा यातायात ऐन २०४९ मा सवारीसाधनको स्वरूप परिवर्तन गर्न नपाउने व्यवस्था थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ चैतमा राजपत्रमा सूचना प्रकाशन गरी पेट्रोल डिजेल इन्धनका गाडी रुपान्तरण गर्न सकिने उल्लेख गरेको थियो।
वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा छुट दिएको छ।
इ–वाहनले पुराना मोटरसाइकलसँगै गाडीलाई पनि विद्युतीयमा रुपान्तरणको तयारी गरेको छ।
‘यातायात व्यवस्था विभागमा रुपान्तरणको निवेदन दिनुपर्छ’, उनले भने, ‘मोटरसाइकलको कर तिरेकाले आवेदन दिए। विभागले अनुमति दिन्छ।’
व्यावसायिक रुपमा टिक्न कति सहज?
ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आकाश डिओले सरकारले नीति सहज बनाए डिजेल पेट्रोलका पुराना गाडीलाई रुपान्तरण गर्न सकिने बताए।
सरकारले अहिले रुपान्तरणको लागि कर तिरेको हुनुपर्ने व्यवस्था गरेको छ।
‘डिजेल पेट्रोलका सवारीलाई विद्युतीयमा सहजै रुपान्तरण गर्न सकिन्छ’, डिओले भने, ‘पुराना गाडीको कर नतिरे पनि विद्युतीयमा रुपान्तरण गर्न दिए अहिले थोत्रिएर बसेका धेरै सवारी रुपान्तरण हुन सक्छन्।’
इन्जिनमा समस्या भएर बसेका, २० वर्ष पुराना सार्वजनिक यातायातलाई सरकारले सहजै विद्युतीयमा रुपान्तरण गर्न दिनुपर्ने उनी बताउँछन्।
मुख्य सचिवको नेतृत्वमा गाडी रुपान्तरण मापदण्ड बनाउने समिति बनेको थियो। उक्त समितिले दिएको प्रतिवेदन मन्त्रिपरिषद्मा पुगे पनि पास हुनसकेको छैन।
सरकारले कस्ता गाडी रुपान्तरण गर्न पाउने, के–के रुपान्तरण गर्नसक्ने, नम्बर प्लेट के हुने, करको विषयमा कसरी सम्बोधन गर्ने स्पष्ट भए रुपान्तरण हुनसक्छन्।
यसअघि राष्ट्रिय आविष्कार केन्द्र, थापाथली क्याम्पसका विद्यार्थीले पेट्रोल डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गरी परीक्षण गरिसकेका छन्। थापाथली क्याम्पसका विद्यार्थीले जंगलसफारी गाडीलाई विद्युतीयमा रुपान्तरण गरेका थिए।
भिडिओ
प्रतिक्रिया