ad ad

कारोबार


नाडा अटो शो : विद्युतीय गाडी बन्दैछन् मुख्य आकर्षण

कुन कम्पनीले ल्याउँदैछन् नयाँ मोडल
नाडा अटो शो : विद्युतीय गाडी बन्दैछन् मुख्य आकर्षण

फाइल तस्बिर


वसन्त अर्याल
साउन १५, २०८० सोमबार १०:७, काठमाडौँ

नाडा अटो शोको स्टल दर्ता र ठाउँ बाँडफाँटको काम सकिएको छ। भदौ २६ देखि ३१ गतेसम्म हुने अटो शोमा देशका मुख्य कम्पनी सहभागी हुने भएका छन्। 

अटो शोमा चारपांग्रे, तीन पांग्रे, दुईपांग्रे सवारी तथा ढुवानीका साधन, स्पेयर पार्टस्, टायर ट्युब, ब्याट्री, एशोसरिज, अटो कम्पोनेन्टस् लगायत वस्तुका स्टल दर्ता भएका छन्। 

नाडा अटो एक्पोका सभापति अनुप कुमार बरालले स्टल दर्ता र बाँडफाँट गरिसकेको बताए। उनले अटो शोमा नेपालमा बिक्री हुने ठूला ब्रान्डको उपस्थिति रहने बताए।

अटो  शो कोभिड माहामारीका कारण सन् २०२० र २०२१ मा हुन सकेन। सन् २०२२ मा नाडा इभी एक्स्पो आयोजना भएको थियो। 

नाडा अटो एक्स्पो समितिका उपाध्यक्ष आकाश गोल्छाले ३ वर्षदेखि हुन नसकेको अटो शोले रौनक ल्याउने विश्वास व्यक्त गरे। 

‘कोभिड माहामारीका कारण ३ वर्षदेखि नाडा अटो शो हुन सकेको थिएन,’ उपाध्यक्ष गोल्छाले भने,‘यसबीचमा थुप्रै नयाँ गाडी आएका छन्। नयाँ मोडल अटो शोका लागि आउँदै छन्। यिनै आकर्षण हुने छन्।’

नाडा अटो शोले मन्दीमा देखिएको गाडीको बजारलाई चलायमान बनाउने विश्वास उनले लिएका छन्। चाडपर्वअघि हुने नाडा अटो शोमा २० अर्ब बढीको कारोबार हुने नाडाले अपेक्षा गरेको छ। 

कुन कुन गाडी आउँछन्?
अटो शोमा आउने नयाँ गाडी अधिकांश विद्युतीय हुने व्यवसायीहरुले बताएका छन्। अटोमोटिभ बजार विस्तारै पेट्रोल डिजेलबाट विद्युतीयमा रुपान्तरण भएकाले तिनै गाडीमा आकर्षण हुने देखिएको छ। 

उत्पादक कम्पनीले ल्याएका विद्युतीय गाडी नाडा अटो शोमा ल्याउने तयारी छ। विद्युतीय गाडी नहुने कम्पनीले पनि नयाँ मोडलका गाडी अटो राख्ने जानकारी दिएका छन्। 

तर हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ मोडल आउने अवस्था नरहेको जानकारी दिए। अहिले बजारमा आएका विद्युतीय मोडल राखिए पनि बाँकी अझै निक्र्यौल भइनसकेको कम्पनीका अधिकारीले बताए। 

फोर्डको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्सले अटो शोका लागि नयाँ मोडल नआए पनि अटो रेञ्जर र एभरेष्टका मोडल सहभागी हुने जानकारी दिएको छ। 

टाटाका ३ मोडल
सरकारले कर बढाउँदा अप्ठेरोमा परेको टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले हचब्याग विद्युतीय गाडी भित्र्याउँदै छ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने हचब्याग सेगमेन्टमा टियागो इभी ल्याउन लागिएको हो। 

टाटाले कर्मचारीलाई तालिम र गाडीको पूर्वाधार तयार गरेपछि नयाँ मोडेलको गाडी भित्र्याउने उल्लेख गरेको छ। 

टाटा टियागो एक पटकको फुल चार्जमा ३१५ किलोमिटर कुद्छ। फास्ट चार्जरबाट १ घण्टामै चार्ज हुन्छ। 

गाडीमा २४ र १९.२ किलोवाट हावरको लिथियम आयान ब्याट्री छ। १९.२ किलोवाट आवरको ब्याट्रीले २५० किलोमिटर दिन्छ। 

गाडीमा १७.७८ सीएम टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ। भारतमा ७ वटा भेरियन्टमा उपलब्ध टियागोको मूल्य त्यहाँ ८ लाख ५० हजार छ।

सिप्रदी ट्रेडिङका एक अधिकारीका अनुसार नेक्सन ईभी म्याक्स, टिगोरका नयाँ मोडल पनि पर्दशनीमा राखिने छ।

एमजीको जेडएस डिलक्स र एस्टर
पारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी एसयुभी एमजी जेडएस इभी (डिलक्स) प्रदर्शनीमा सहभागी गराउने छ।

नयाँ एमजी जेड एसइभी (डिलक्स) ९९ मोटर पिक पावरको छ। जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ। 

५१ किलोवाट ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटर प्रतिघण्टाको दायरा दिन्छ। जुन ३० मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसमा ८ वर्ष ब्याट्री वारेन्टी छ।

त्यस्तै, एमजी एस्टरमा १.५ लिटरको भीटीआई टेक पेट्रोल इन्जिनमा रहेको छ। 

इन्जिनको अधिकतम् पावर १०८ ब्रेक हर्स पावर तथा १४४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ।  एस्टर सुपरमा ५ स्पिड म्यानुल र सीभीटी ट्रान्समिसन छ।

महिन्द्राको एक्सयुभी ४०० र स्कोरपियो एन 
भारतमा गत जनवरीमा सार्वजनिक भएको विद्युतीय एसक्सयुभी ४०० अग्नि ग्रपले नेपालमा ल्याउने तयारी गरेको छ। यसमा ३४.५ किलोवाट आवर ब्याट्री क्षमता छ। यो गाडी एक पटकको चार्जमा ३७५ किलोमिटरसम्म कुद्छ। 

फास्ट चार्जरबाट ५० मिनेटमा फुल हुने कम्पनीले जनाएको छ। ३९.४ किलोवाट आवरको ब्याट्रीमा ४५६ किलोमिटर कुद्छ। एसक्सयुभी ४०० ले ३१० एनएम टर्क जेनेरेट गर्छ।

नयाँ स्कर्पियो–एनको सुरुवाती मूल्य ८१ लाख ५० हजार तोकिएको छ। महिन्द्राले ३० वर्षदेखि नेपालमा बलियो उपस्थिति जनाइसकेको छ।  

अल–न्यू स्कर्पियो–एन प्रतिष्ठित स्कर्पियो ब्रान्डमा आधारित छ। जुन असाधारण अफ–रोड क्षमताका लागि प्रसिद्ध छ।  

सुजुकीका २ नयाँ मोडल 
सिजी मोटोकर्पले २ वटा मोडल प्रदर्शनका लागि राख्ने भएको छ। सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले जिम्नी र फ्रोन्स मोडल राख्ने छ। 

कम्पनीले हालै जिम्नी जेटाको मुल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मुल्य ६४ लाख ४९ हजार रुपैयाँ मुल्य सार्वजनिक गरेको छ। 

१४ सय ६२ सीसीको इन्जिन रहेको जिम्नीले अधिकतम् पावर १०४.८ पिएस पावर छ। अफरोड डिजाइन गरिएको गाडीको ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको छ। 

फ्रोन्स सिग्मा सेगमेन्टका ३९ लाख ९९ हजार, डेल्टाको ४१ लाख ९९ हजार र डेल्टा प्लसको ४२ लाख ९९ हजार मुल्य कम्पनीले तोकेको छ। 
कियाको प्रिमियम इभी ६ 

कियाले नेपालमा नयाँ मोडलको विद्युतीय कार किया इभी–६ नाडा अटो शोमा ल्याउने भएको छ। 

कन्टिनेन्टल ट्रेडिङले नाडा अटो शोमा गाडी ल्याउने गरी किया बुकिङ खुला गरिसकेको छ। 

१ सय ६० किलोवाट पिक पावरको मोटर रहेको ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। एक पटकको फुल चार्जमा ५१० किमीसम्म रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ। 

फास्ट चार्जरबाट १० बाट ८० प्रतिशत १८ मिनेटमै चार्ज हुन्छ। गाडीको अधिकतम् स्पिड प्रतिघण्टा ११४ किलोमिटर रहेको छ।  

गाडीको डाइमेन्सन १५ सय ५० एमएम उचाई, ४ हजार ६९५ एमएम लम्बाई र १८ सय ९० एमएम चौडाइ छ। १६ एम्पियरको नर्मल चार्जरबाट ७ घण्टा २० मिनेट लाग्छ।

कम्पनीले बुकिङ खुलाए पनि आधिकारिक मूल्य सार्वजनिक गरेको छैन। १ करोडभन्दा बढी पर्ने अनुमान गरिएको छ। गाडीको सेफ्टी फिचर्समा हाईवे ड्राइभिङ एसिस्ट, हेडअप डिस्प्ले लगायत आधुनिक सुविधा छन्।

सिट्रोन सी ३ 
फ्रेन्च ब्रान्ड सिट्रोन सी ३ विद्युतीय गाडीको पनि स्टल बुकिङ भएको छ। कम्पनीले गाडीको सुरुवाती मुल्य ३२.९९ लाख रुपैयाँ तोकेको छ। यो गाडी एक पटकको चार्जमा ३२० किलोमिटरसम्म कुद्छ।  

हाल पेट्रोल इन्जिनमा उपलब्ध सी ३ कै प्ल्याटफर्ममा गाडी उत्पादन हुने छ। पेट्रोलियम इन्धनबाट चल्ने सी ३ ५.५ मिलियन बढी बिक्री भइसकेको छ। 

ओरा ०३  
ग्रेटवाल मोटर्सले ओरा ०३ विद्युतीय गाडी राख्दैछ। यो पनि नाडा अटो शोमा आकर्षक गाडीका रुपमा रहने छ। यो गाडी आधिकारिक विक्रेता भीजी इम्पेक्सले ४७ लाख ४९ हजार रुपैयाँमा बुकिङ गरिरहेको छ। 

गाडी एक पटकको चार्जमा ४०० किलेमिटरसम्म कुद्छ। ग्लोबल एनक्याप सेफ्टीमा यसले ५ स्टार रेटिङ पाएको छ। 

गाडीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ३६० डिग्रीको क्यामेरा छ। गाडीको मोटर पावर ९९ किलोवाट छ। यसले २१० एनएम टर्क जेनेरेट गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .