ad ad

कारोबार


विद्युतीय माइक्रोबसले खोस्दैछन् टोयोटाका हाइसको बजार, आमनेसामने हुँदै २ घराना

विद्युतीय माइक्रोबसले खोस्दैछन् टोयोटाका हाइसको बजार, आमनेसामने हुँदै २ घराना

चौधरी ग्रुपका निर्वाण चौधरी र वैद्य अर्गनाइजेसनका सुरज वैद्य


वसन्त अर्याल
चैत ३०, २०८० शुक्रबार ८:६, काठमाडौँ

नेपाली सडकमा विश्वचर्चित कम्पनी टोयोटाका हाइसहरुले वर्चस्व जमाएको २ दशक लामो समय भइसकेको छ।

यात्रुसेवामा यति लामो समय एकछत्र राज गरेका ती हाइस अब भने विस्तारै घट्दै छन्। 

बजारमा हाइसको हिस्सा खुम्चिँदा काठमाडौं उपत्यकासहित अन्य धेरै सदरमुकामसम्म विद्युतीय माइक्रोको बजार बढ्दै गएको छ। 

यसले दुई प्रमुख व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चौधरी ग्रुपलाई आमनेसामने बनाएको छ।

नेपालमा वैद्य अर्गनाइजेसनले ५० वर्ष बढी समययता टोयोटाका गाडी बिक्री गर्दै आएको छ। त्यसमा २० वर्षअघि आएको हाइसको प्रतिस्पर्धी थिएन।

अहिले चौधरी ग्रुपले ल्याएको विद्युतीय माइक्रोले हाइसको आधिपत्य तोड्दै टक्कर दिएको छ। यसलाई वैद्य अर्गनाइजेसनको व्यवसाय चौधरी ग्रुपले लिँदै गरेको रुपमा पनि हेरिएको छ। 

खुम्चियो हाइसको आयात, जम्दै विद्युतीयको पकड
काठमाडौं उपत्यकासहित लामो दूरीमा समेत विद्युतीय माइक्रो बढ्नथालेका छन्। 

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो र मिनी बसभन्दा विद्युतीय बस बढी भित्रिन थालिसकेका छन्।  

चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल १९६ वटा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो तथा मिनिबस भित्रिँदा ३३१ वटा विद्युतीय माइक्रो भित्रिएका छन्।

चालू आर्थिक वर्षको ८ महिनामा १५ देखि २५ सिटसम्मका १६८ वटा माइक्रो तथा मिनिबस भित्रिएका छन्। तिनमा ११ देखि १४ सिट क्षमताका माइक्रोबस २८ वटा छन्। 

यता विद्युतीय माइक्रो ११ देखि १९ सिटसम्मका धेरै आउने गरेका छन्। ११ देखि १४ सिटसम्मका २८२ वटा विद्युतीय माइक्रो भित्रिएका छन् भने १५ देखि २५ सिटसम्म ७७ वटा मिनिबस आएका छन्। 

भन्सार विभागका अनुसार नेपाल भित्रिने विद्युतीय माइक्रोमा सबैभन्दा बढी किङलङ र केवाईसी ब्रान्डका छन्। यी दुवै ब्रान्ड सीजी मोटर्सले भित्र्याउने गरेको छ। निर्वाण चौधरी यसका प्रबन्धनिर्देशक छन्। 

विद्युतीय माइक्रो सार्वजनिक यातायातसँगै स्कुल, कलेजले विद्यार्थी ल्याउन र लैजान खरिद गर्न थालेका छन्।

खस्किँदो व्यवसाय 
यसअघि बजारमा हाइसको प्रतिस्पर्धी नहुँदा वैद्य अर्गनाइजेसनले राम्रै आम्दानी गर्‍यो। 

तर कोभिड महामारीपछि हाइसको व्यवसायमा भारी गिरावट आएको छ। पछिल्ला २ वर्षमा विद्युतीय माइक्रो/मिनी बसले हाइसको व्यापार घटाइदिएको छ। 

हाइस बिक्री गर्ने युनाइटेड ट्रेडर्स सिन्डिकेट सन् १९७१ मा स्थापना भएको हो। करिब ५० वर्षदेखि यो कम्पनी नेपालमा टोयोटाको आधिकारिक बिक्रेता छ। व्यवसायी सुरज वैद्य ३० वर्षदेखि कम्पनीको अध्यक्ष छन्। 

‘विद्युतीय गाडीको बिक्रीले टोयोटाको व्यापारमा कमी आएको छ’, अध्यक्ष वैद्य भन्छन्।  

युनाइटेड ट्रेडर्सले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब ७१ करोड रुपैयाँको व्यापार गरेको थियो। सरकारको आयात प्रतिबन्धसँगै विद्युतीय गाडीको प्रयोग बढ्दा गत वर्ष कम्पनीको व्यापार ५२ प्रतिशतले घटेको छ। 

अर्थात्, ३ अर्ब ६५ करोड रुपैयाँ मात्रै आम्दानी भएको छ। कम्पनीले अघिल्लो वर्ष ५५० युनिट गाडी बिक्री गरेकोमा गत वर्ष जम्मा २५१ वटा मात्रै बिक्री गरेको छ। 

चालू आर्थिक वर्षको ६ महिनामा अर्थात् गत पुससम्म कम्पनीको आम्दानी १ अर्ब १३ करोड रुपैयाँ मात्रै छ। अहिले झन् गत वर्षको तुलनामा घटेको छ। 

विद्युतीय गाडीमा कम कर लगाउँदा टोयोटाको हाइसलाई अप्ठ्यारो परेको देखिएको छ। सरकारले विद्युतीय गाडीमा दिएको आकर्षक सुविधाले ग्राहक तानेको कम्पनीको भनाइ छ। 

युनाइटेड ट्रेडर्सका अनुसार कोभिड महामारीको कारण कमर्सियल सेगमेन्टका गाडीको आम्दानीमा भारी गिरावट आएको थियो। त्यसपछि कमर्सियल गाडीले पिकअप लिन सकेन। 

टोयोटाले हाइब्रिड सेगमेन्टमा गाडी भित्र्याए पनि कमर्सियल सेगमेन्टमा आइस इन्जिनमा मात्रै बिक्री भइरहेको छ। 

सस्तो मूल्य, धेरै बैंकिङ सुविधा 
नेपालमा माइक्रोको एकछत्र बजार हिस्सा ओगटेको टोयोटाको हाइस जापानबाटै आयात हुँदा मूल्य बढी छ।

टोयोटा हाइस एस अहिले बजारमा उपलब्ध छ। कम्पनीका अनुसार अहिले ९५ लाख रुपैयाँ यसको मूल्य तोकिएको छ। कम्पनीले सन् २००० मा १२ सिटे हाइसबाट सेवा सुरु गरेको थियो। अहिले १६ सिटे बिक्री गर्दै आएको छ। 

पछिल्लो समय जापानी ब्रान्ड निसानले समेत आइस इन्जिनमा माइक्रो भित्र्याएको थियो। तर बजार लिन नपाउँदै विद्युतीय गाडीको बजार माग ह्वात्तै बढ्यो। निसानको अर्वानको मूल्य नै ७९ लाख रुपैयाँ छ।

यता विद्युतीय माइक्रोको मूल्य भने ४५ लाखबाटै सुरु भएको छ। ११ सिटर माइक्रोको मूल्य साढे ४५ लाख र १४ सिटरको साढे ५६ लाख रुपैयाँमा उपलब्ध छ। 

बैंक तथा वित्तीय संस्थाले आइस इन्जिनका गाडीको किस्तामा बढी ब्याज लिने गरेका छन् भने विद्युतीयमा कम छ। यसले पनि बजार विद्युतीयमैत्री बनिरहेको छ। 

अहिले सिन्धुली–बर्दीबासको सडक खण्डमा विद्युतीय माइक्रोको हिस्सा बढ्दै गएको छ भने काठमाडौं–चितवन सडकखण्डमा पनि बढिरहेको व्यवसायीले बताएका छन्। 

काठमाडौंको सुन्धाराबाट एकताबस्ती रुटमा अहिले विद्युतीय माइक्रो सञ्चालन हुनथालेका छन्। 

सामान्यतया एकपटक चार्ज गरेपछि २५० किलोमिटरसम्म गुड्ने यस्ता विद्युतीय माइक्रो खरिद र सञ्चालन गर्नेको डिजेलको खर्च जोगिने र मर्मतसम्भारमा पनि कम खर्च हुने भएकाले आकर्षण बढेको छ। विद्युतीय माइक्रोबाट छोटो समयमै धेरै कमाउन सकिने हुँदा व्यापार समेत बढ्दो छ। 

सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको किङलङ र केवाईसी काठमाडौं उपत्यकासहित लामो दूरीमा समेत चल्नथालेका छन्। 

केवाईसीका ११ सिटे भ्यान काठमाडौं–कुलेखानी–हेटौंडा–सिमरा–पथलैया हुँदै वीरगन्जसम्म गुड्नथालेका छन्। यता काठमाडौंबाट चितवन हुँदै नवलपरासीसम्म र पूर्वमा काठमाडौंदेखि गाईघाटसम्म विद्युतीय माइक्रो चल्नथालेको व्यवसायी बताउँछन्। 

सीजी मोटर्ससँगै विशाल ग्रुप, एमएडब्ल्यू ग्रुप, दिगो ग्रुपलगायतले पनि विद्युतीय माइक्रो बिक्री गर्दै आएका छन्। सरकारले ११ देखि १४ सिटसम्मका विद्युतीय माइक्रोमा १० प्रतिशत भन्सार महशुल लगाउने व्यवस्था गरेको छ। १५ सिटमाथिका विद्युतीय माइक्रोमा भने १ प्रतिशत भन्सार लाग्छ। 

महिन्द्रालाई पनि काउन्टर ! 
बजारमा टोयोटा हाइसलाई ठाडै चुनौती दिएको विद्युतीय माइक्रोले क्रमशः अन्य कम्पनीको व्यवसायमा समेत धक्का दिने देखिएको छ। 

नेपालमा उल्लेख्य उपस्थिति रहेको महिन्द्रालाई समेत यसले अप्ठ्यारोमा पार्न सक्ने देखिएको हो। किनभने महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेडको ९० प्रतिशत बढी आम्दानी स्कर्पियो र बोलेरोबाट हुने गरेको छ। 

नेपालको दुर्गम क्षेत्रमा स्कर्पियो र बोलेरो पुग्ने गरेका छन्। तराईका मुख्य सहरबाट जिल्ला सदरमुकामसम्म स्कर्पियो र बोलेरो सार्वजनिक यातायातको रुपमा समेत सञ्चालन हुँदै आएका छन्। 

महिन्द्राले वार्षिक १२ अर्ब रुपैयाँ बढीको व्यापार गर्दै आएको छ। कम्पनीले सन् २०१९ मा त १६ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो। सन् २०२२ मा १२ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको थियो। गत आर्थिक वर्षमा उसको पनि व्यापार आधाले घटेको छ। 

अग्नी इन्कर्पोरेटेडमा क्याबिनेट श्रेष्ठसँगै सुरज वैद्यका छोरा सुसन वैद्य र अरुण प्रसाद शर्मा सेयर होल्डर छन्। तराईका सहरदेखि जिल्ला सदरमुकामसम्म विद्युतीय माइक्रो सञ्चालन हुन थालेकाले महिन्द्रालाई पनि चुनौती देखिएको हो। 

केही दिनअघि मात्रै गुल्मी सिमलटारीदेखि बुटवलसम्म मैत्री यातायातले १० वटा किङलङका विद्युतीय माइक्रो सञ्चालन थालेको छ। उक्त रुटमा टोयोटाको हाइससँगै महिन्द्राका बोलेरो नियमित रुपमा सञ्चालन हुँदै आएका थिए। 

त्यस्तै पूर्वमा इटहरीलाई आधार बनाएर पहाडी जिल्लामा समेत विद्युतीय माइक्रो सञ्चालन हुन थालेका छन्। पहाडी क्षेत्रमा चार्जिङ स्टेसनका पूर्वाधार बढ्दै जाँदा विद्युतीय माइक्रोको बजार बढ्ने व्यवसायी बताउँछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .