बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ।
सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो।
सरकारले इलेक्ट्रिक गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको छ। नयाँ नीतिले अन्य इलेक्ट्रिक गाडीजस्तै बीवाईडीका विभिन्न मोडलको समेत मूल्यमा प्रभाव परेको कम्पनीले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार, एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ। यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ।
त्यसैगरी बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजारबाट ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ। यसमा १ लाख ३५ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ।
बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ। यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ।
Shares

प्रतिक्रिया