कारोबार


कम मूल्य, ३०० किमिसम्म रेन्ज : नाडामा यस्ता छन् ३५ लाखमुनिका कार

कम आम्दानी गर्नेलाई सस्ता गाडीका आधा दर्जन विकल्प
कम मूल्य, ३०० किमिसम्म रेन्ज : नाडामा यस्ता छन् ३५ लाखमुनिका कार

तस्बिर: सरोज नेपाल


नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ७:४, काठमाडौँ

नाडा अटो सोमा कम आम्दानी हुनेलाई समेत विद्युतीय गाडी खरिद गर्ने आधा दर्जन विकल्प रहेका छन्। ३५ लाख रुपैयाँसम्मका गाडी खरिद गर्नेलाई टाटाको पन्चदेखि केईका इक्युटसम्म छन्।

नाडा अटो सोमा करोड रुपैयाँ मूल्यमाथिका गाडीसँगै ३५ लाख मूल्यभन्दा तलका गाडी समेत छन्। ग्राहकको छनोटमा टाटा, नामी, केई, केनरी, बीएडब्लू, सेरेस ब्रान्डका गाडी छन्।

बैंकहरुले विद्युतीय गाडी खरिद गर्दा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउँछन्। यस्तोमा महिनाको २५ देखि ३० हजार किस्ता तिरेर गाडी चढ्न सक्छन्। अटो सोमा २४ वटा चारपांग्रे ब्रान्डको सहभागिता छ। ३५ लाख कमका पेट्रोल गाडी पनि छन् तर अधिकांशको ध्यान विद्युतीय गाडीमै देखिन्छ।

पन्च ईभी
नाडा अटो सोमा मुख्य आकर्षक प्रोडक्टको रुपमा टाटाको पन्च ईभी देखिएको छ। गत वर्ष टियागो ईभीले सर्वसाधारणलाई आकर्षित गरेकोमा यस पटक पन्च ईभी छ। टाटाले पहिलो दिन नै १०० बढी पन्च बुकिङ भइसकेको जनाएको छ। विद्युतीय गाडीमा प्रतिस्पर्धा बढेसँगै कम बजेट मूल्यमा यो गाडी आएको छ। नाडा अटो सोमा टाटाले पन्च ईभीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ राखेको छ।

३ भेरिएन्टमा पन्च ईभी नेपाली बजारमा प्रवेश गरेको हो। यसअनुसार पन्च ईभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार र पन्च ईभी इम्पावर्ड प्लस एसएलआरको ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ। टाटाको पन्च ईभीले नेपाली सडकमा ३०० किमि रेन्ज दिने ड्राइभ टेस्टबाट देखिएको छ।

केईका ३ मोडल 
नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो सोमा आफ्ना ३ मोडल सार्वजनिक गरेको छ।

जसमा २ वटा मोडल २५ लाखमुनिकै छन्। कम्पनीले आफ्नो ३ मोडल इक्युट ०२ र इक्युट ०४ को मूल्य २५ लाखभन्दा कम राखेको छ। 

कम्पनीका अनुसार इक्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध छ। यसमा २०० किमि रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार, ३०० किमि भेरिएन्टलाई २२ लाख ९६ हजार मूल्य दिइएको छ। इक्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आयन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ। यसको अधिकतम टर्क ११० एनएम छ।

त्यसैगरी ३०० किमि रेन्ज दिने इक्युट ०४ को मूल्य २४ लाख ९६ हजार छ। यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आयन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ। यसको अधिकतम टर्क ११० एनएम छ।

हेनरीको एचईभी
एस क्युब इन्टरप्राइजेजले हेनरीका २ वटा मोडल राखेको छ। एचईभी ३०० को मूल्य १९ लाख ९५ हजार रुपैयाँ छ। फिचर्स थप गरी ल्याएको हेनरी भोल्टर्सको २५ लाख ९९ हजार रुपैयाँ छ।

४३ किलोवाटको मोटर रहेको गाडीले ४६ पीएस पावर जेनेरेट गर्छ भने २०५ किमि रेन्ज दिने कम्पनीले दाबी गरेको छ। १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडी ४ सिटे हो।

बीएडब्लुको ब्रुम्बी २१ लाखमै 
एलआरआर मोटर्सले बेइजिङ अटो वर्क्स (बीएडब्लु)को ब्रुम्बी २१ लाख ९९ हजार रुपैयाँमै सोकेस गरेको छ। कम्पनीले १ वर्षको फुल इन्स्योरेन्स, १ वर्षको सडक दस्तुर र ७ किलोवाटको चार्जर दिने गरेको छ।

ब्रुम्बी ४ सिटर विद्युतीय गाडी हो। ३० किलोवाटको मोटर रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १२५ एमएम छ। उक्त गाडीले ४०.७ पीएस अधिकतम पावर जेनेरेट गर्छ। एक पटकको चार्जमा २०० किमि रेञ्ज दिन्छ। 

नामीका ३ भेरियन्ट, ३१७ किमिसम्म रेन्ज 
एमएडब्लु वृद्धिले नामीका ०१ का ३ भेरियन्ट सार्वजनिक गरेको छ। नामीले ३० लाखदेखि ३५ लाख रुपैयाँसम्मका गाडी सार्वजनिक गरेको छ। नामी ०१ मा ७० किलोवाट मोटरपावर छ।

यसले ९५.१७ पीएसमा १६० एनएम टर्क जेनेरेट गर्छ। यसको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा छ। गाडीको ब्याट्री क्षमता ई१ र ई२को ३१.४ किलोवाट आवर छ भने ई३ को ४२.३ किलोवाट आवर छ। ३१ किलोवाटको ब्याट्रीले २३७ किमि दिन्छ भने ४२ किलोवाट आवरको ब्याट्रीले ३१७ किमि रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ। 

साढे १७ लाखमा सेरेसको मिनि ईभी
सेरेसको मिनि ईभी छ। १८० किमि रेन्ज दिने मिनि गाडीको मूल्य १७ लाख ४९ हजार रुपैयाँ छ। त्यसैगरी २२० किमि रेन्ज दिने ईभीको मूल्य १८ लाख ९९ हजार रुपैयाँ छ।

सेरेसले गत वर्ष नाडा अटो सोमा मिनि ईभी सोकेस गरे पनि पछि प्राविधिक समस्या आएको भन्दै आफैँ फिर्ता लिएको थियो। अहिले प्राविधिक समस्या समाधान गरी पुनः बजारमा ल्याएको छ। १३.८ किलोवाट आवरको ब्याट्री रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १४० एमएम छ। 

थप तस्बिरहरू (सरोज नेपाल र विशाल कार्की)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad