चालू आर्थिक वर्षमा गाडी आयातले खर्ब नाघ्ने देखिएको छ।
गत वर्षको तुलनामा ७ महिनामै १५ अर्बले आयात बढेकाले यस वर्ष खर्ब बढीको आयात हुने देखिएको हो।
नेपालको अटो आयात उच्च हुँदा पनि हालसम्म गाडी र पार्ट्स आयात मात्रैले खर्ब नाघेको छैन। विद्युतीय गाडीको उच्च आयातले चालू आर्थिक वर्षमा एक खर्ब बढीकै आयात हुने भन्सार विभागको तथ्यांकले देखाउँछ।
गाडी आयात साउनदेखि माघसम्म ५५ अर्ब २१ करोड रुपैयाँ पुगिसकेको छ। गत आर्थिक वर्षको तुलनामा करिब १५ अर्ब रुपैयाँले आयात बढेको हो।
गत आर्थिक वर्षको माघसम्म ४२ अर्ब ५३ करोड रुपैयाँको गाडी तथा तिनका पार्ट्स आयात भएका थिए। गत आर्थिक वर्षभर भने ८५ अर्ब ७४ करोड रुपैयाँको गाडी तथा पार्ट्स आयात भएका थिए। अहिलेकै तथ्यांकलाई तुलनात्मक रुपमा हेर्दा एक खर्ब नाघ्ने देखिन्छ।
गत वर्ष ६ हजार १५९ विद्युतीय गाडी भित्रिएका थिए। गत वर्षको माघसम्म २ हजार ६८ पेट्रोल इन्जिनका गाडी भित्रिएका थिए। अहिले विद्युतीय गाडी र पेट्रोल गाडीमा केही बढेको छ। तर २ पांग्रे सवारीसाधनको आयात धेरै बढेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले विद्युतीय गाडीकै कारण समग्र आयात बढेको बताए।
विद्युतीय गाडीको तथ्यांकलाई मात्र हेरी समग्र अटोक्षेत्र चलायमान भएको भन्न नमिल्ने उनको भनाइ छ।
कम्पनीहरुले धमाधम नयाँ विद्युतीय गाडी ल्याइरहेकाले आयात थप बढ्ने देखिन्छ। अबको एक महिनाभित्रै फरक फरक कम्पनीका नयाँ मोडल आउँदै छन्।
नेपालमा धेरै रुचाइएको हुन्डाईको क्रेटा ईभीदेखि टाटा कर्भ, एमजी एस ५, डिप्पलसम्म नयाँ मोडल ल्याउने तयारीमा छन्। जेठ १५ मा सरकारले बजेट ल्याउँछ। बजेटमा विद्युतीय गाडीको कर बढ्ने सम्भावना भएकाले जेठअघि नै कम्पनीले धेरै गाडी भित्र्याउने सम्भावना हुन्छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का उपाध्यक्ष राजनबाबु श्रेष्ठले विभिन्न कम्पनीले नयाँ मोडल ल्याउन लागेकाले बजार थप चलायमान हुने बताए।
‘विभिन्न कम्पनीहरुले नयाँ मोडलहरु बजारमा भित्र्याउँदा खरिद बिक्री बढी बजार थप चलायमान हुन्छ’, उपाध्यक्ष श्रेष्ठ भन्छन्।

विद्युतीय गाडीको ‘आयातित मूल्य’ले अंक बढायो
छिमेकी मुलुक भारतमा हुन्डाईको क्रेटा गाडीको पेट्रोल इन्जिनको सुरुवाती मूल्य १२ लाख भारु छ। त्यही गाडीकै विद्युतीय मोडलमा आउँदा करिब १८ लाख रुपैयाँ पर्छ।
भारतमै उत्पादन हुने पेट्रोल गाडीको मूल्यको तुलनामा विद्युतीय गाडीको मूल्य ६ लाख रुपैयाँ बढी छ। अर्थात् पेट्रोलको गाडीको तुलनामा विद्युतीय गाडीको उत्पादन लागत नै बढी छ।
अन्तर्राष्ट्रिय बजारमै विद्युतीय गाडीको मूल्य संख्या उति नै भए पनि रकम बढी बाहिरिन्छ। अटो व्यवसायीले विद्युतीय गाडीको ‘आयातित मूल्य’ नै बढी हुँदा समग्र आयात बढी देखिएको बताउँछन्।
अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको मूल्य बढी भए पनि सरकारले पेट्रोलको तुलनामा न्यून लगाउँदा बजार मूल्य उस्तै छ। भारतसँग तुलना गर्दा क्रेटा पेट्रोलको तुलनामा ईभी चढ्नेले ६ लाख बढी तिर्नुपर्छ भने नेपालमा सार्वजनिक हुँदा पेट्रोल मूल्यकै हुने आकलन गरिएको छ।
नेपालमा पछिल्लो ७ महिनाको तथ्यांक हेर्दा २३ सय २२ पेट्रोल इन्जिनका गाडी भित्रिए। यही अवधिमा विद्युतीय निजी कार ६ हजार २५४ वटा आयात भए। गत वर्षको तुलनामा विद्युतीय र पेट्रोल गाडीमा केही मात्रै बढेको छ। ७ महिनामै १५ अर्ब बढीको आयात गराउन दुईपांग्रे, विद्युतीय माइक्रो, बसको आयात बढ्दा समग्र आयात बढेको देखिन्छ।
७ महिनामा ५० किलोवाटसम्मका २ हजार १५९, ५१ देखि १०० किलोवाटसम्म ३ हजार ४९१ किलोवाट, १०१ देखि २०० किलोवाटसम्म ५९३ गाडी आयात भएका छन्। २०१ किलोवाट माथिका ११ गाडी भित्रिएका छन्।
भन्सार विभागका निर्देशक मुक्त श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको मूल्य बढी हुँदा अंक बढेको हुनसक्ने भए पनि समग्रमा अध्ययन नभएको बताए।
‘गत वर्षको तुलनामा समग्र आयात बढे पनि वस्तुगत रुपमै खासै अध्ययन गरिसकेका छैनौँ’, निर्देशक श्रेष्ठले भने।

२ वर्ष लगातार घटेको दुईपांग्रे बिक्रीको आयात बढ्यो
कोभिडपछिका २ वर्ष दुईपांग्रेको व्यापार ह्वात्तै बढेकोमा २०७९/०८० र ०८०/०८१ मा घटेको थियो।
चालू आर्थिक वर्षको सुरुवातबाटै २ पांग्रेको व्यापारमा सुधार हुँदा समग्र आयात नै बढ्ने देखिन्छ। दुईपांग्रे सवारीसाधनको आयात बढेर १ लाख १७ हजार पुगेको छ। गत वर्ष ६९ हजार ९४७ मात्रै आयात भएका थिए।
कोभिडपछिका २ वर्ष झण्डै १ खर्बबराबरको गाडी तथा पार्ट्स आयात भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा ९७ अर्ब ३७ करोड रुपैयाँबराबरको गाडी र पार्ट्स भित्रिएका थिए। उक्त वर्ष विद्युतीय गाडी २४९ मात्रै भित्रिएका थिए। पेट्रोल इन्जिनका गाडी १२ हजार ५८० भित्रिएका थिए। मोटरसाइकल आयात ३ लाख ५३ हजार दुईपांग्रे भित्रिएका थिए। नेपालको इतिहासमै एकै वर्ष सबैभन्दा बढी दुईपांग्रे भित्रिएका थिए।
कोभिड महामारीको कारण सर्वसाधारण सार्वजनिक यातायात प्रयोग गर्दा भाइरस सर्ने डरले अधिकांशले दुईपांग्रे खरिद गरेका थिए। व्यक्तिबीच दूरी कायम राख्नुपर्ने मान्यताले त्यसपछिको वर्षमा पनि निरन्तरता पायो।
आर्थिक वर्ष २०७८/०७९ मा ९९ अर्ब ४२ करोड रुपैयाँबराबरका गाडी तथा पार्ट्स आयात भएका थिए। उक्त वर्ष विद्युतीय गाडी १८ सय ७ वटा मात्रै भित्रिएका थिए। पेट्रोल इन्जिनका गाडी १२ हजार ८७८ गाडी नेपाल भित्रिएका थिए। डिजेल इन्जिनका १८ सय ६१ गाडी भित्रिएका थिए। मोटरसाइकल तथा स्कुटर २ लाख ७८ हजार ४८१ भित्रिएका थिए।
सवारीसाधनलगायत विलासिताका वस्तुको आयात बढ्दै जाँदा वैदेशिक मुद्रामा चाप परेको भन्दै राष्ट्र बैंकले गाडीलगायत विभिन्न वस्तु आयात नै रोकिदियो। जसले आर्थिक गतिविधि सुस्त भए। यसअघिका २ वर्ष वस्तु आयात नै माइनसमा रह्यो। चालू आर्थिक वर्षको दशैँपछि मात्रै आयात र निर्यातमा सुधार हुँदै वैदेशिक व्यापारमा बढोत्तरी भएको छ।
यो पनि -
Shares

प्रतिक्रिया