चालू आर्थिक वर्षको ८ महिनामा नेपालमा १० हजार वटा कार भित्रिएका छन्।
साउनदेखि फागुनसम्म विद्युतीय, पेट्रोल र डिजेल गरी कुल १० हजार २४ गाडी भित्रिएका हुन्।
यीमध्ये निजी कार र जिपमा चीनबाट भित्रिने गाडी बढी छन्। फागुनसम्म चीनबाट कुल ५ हजार २८५ गाडी भित्रिँदा भारतबाट कुल ४२ सय कार, भ्यान र जिप नेपालमा भित्रिएका छन्।
नेपालको कार, जिप, भ्यान सेगमेन्टमा भारतीय कम्पनीको सबैभन्दा ठूलो हिस्सा रहेको थियो। जापान, कोरिया र जर्मनीका ब्रान्ड समेत भारतमै बनेर नेपालमा आयात हुन्थे।
नेपालमा विद्युतीय गाडीको बजार बढ्दा चिनियाँ गाडीको बजार हिस्सा ह्वात्तै बढेको छ। फागुनसम्म ७ हजार ८९ विद्युतीय गाडी नेपालमा भित्रिएका छन्। चीनबाट ५ हजार २७८ विद्युतीय गाडी भित्रिएका छन्। भारतबाट १७ सय ७५ मात्रै भित्रिएका छन्।
डिजेल पेट्रोलका कुल २९ सय ४५ कार, जिप भित्रिएका छन्। यसमा चीनबाट जम्मा ७ गाडी आयात हुँदा भारतबाट मात्रै २४ सय २५ गाडी भारतबाट भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जापान, जर्मनी, कोरिया, अमेरिकाबाट समेत गाडी नेपालमा आइरहेका छन्।
सरकारले विद्युतीय गाडीमा कर्जा प्रवाह सहज र डिजेल पेट्रोलका गाडीमा कडाइ गरेको थियो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले सबै निजी गाडीमा ६० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ।
यो अवधिमा चीनबाट ५० किलोवाटको १४ सय ३६ वटा, भारतबाट १ हजार ९४ वटा गाडी भित्रिएका छन्। इन्डोनेसियाबाट समेत एउटा गाडी भित्रिएको छ।
त्यसैगरी ५१ देखि १०० किलोवाटसम्म ३ हजार १९७ वटा चीनबाट भित्रिँदा भारतबाट ६८१ वटा भित्रिएका छन् भने कोरियबाटबाट १ गाडी भित्रिएको छ।
१०१ किलोवाटदेखि २०० सम्म ६२४ वटा भित्रिँदा जर्मनीबाट २४, कोरियाबाट २ र अमेरिबाट ४ वटा गाडी भित्रिएका छन्।
२०१ किलोवाटमाथि चीनबाट १० वटा, जर्मनीबाट ३ वटा र अमेरिकाबाट १ गाडी भित्रिएको भन्सारको तथ्यांकले देखाएको छ। ३०० किलोवाट माथिका चीनबाट २ गाडी भित्रिएका छन्।
नेपालमा भित्रिने बस धेरैजसो भारतबाटै आउने गरेका थिए। माइक्रोको रुपमा हाइस जापानको टोयोटाका आउने गर्थे। ठूलो बसको व्यापारमा भारतकै एकलौटी भए पनि २५ सिटसम्मका साना बस तथा माइक्रोको बजार चीनले लिइसकेको छ।
११ देखि २५ सिटसम्मका माइक्रो १३ सय ८१ वटा छन्। सबै चीनबाट भित्रिएका हुन्।
Shares

प्रतिक्रिया