आगामी भदौ ३ देखि काठमाडौंमा हुने नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले प्रधानमन्त्री ओलीले १७औँ अटो शोको उद्घाटन गर्ने जानकारी दिएको हो।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार भेट गरेको थियो। सोही टोलीले भदौ ३ देखि ८ गतेसम्म हुने शोको उद्घाटन गर्न आग्रह गरेको थियो। प्रधानमन्त्रीले उक्त प्रस्तावलाई स्वीकार गरेको चौधरीले बताए।
नाडाले ओलीलाई शोको प्रमुख अतिथिका रुपमा निम्तो दिएको छ।
अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिए।
उनका अनुसार यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो समेत हुनेछ।
यसबाहेक पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री रोबोट्स् र दिपल ईभीटीओएल यूएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने नाडाले जनाएको छ।
उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति थियो।
Shares

प्रतिक्रिया