१७औँ नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
यही भदौ ८ गतेसम्म आयोजना सवारी मेला प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। यस पटकको अटो शोको प्रमुख आकर्षणमा दिपल फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट रहेका छन्।
शो सुरु भएकै दिन अवलोकनकर्ताको झुकाव अन्य सवारी साधनभन्दा पनि उड्ने कारप्रति बढी देखिन्छ। यो नेपालमा भित्रिएको पहिलो उड्ने कार हो।
यसले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अभावलाई पूर्ति गरेको छ। फिल्म, युट्युबमा देख्दै आएको उड्ने कार भृकुटीमण्डपको चौरमा छ। आफ्नै आँखाअघि। अटो शो हेर्न आउनेहरूको मुख्य चासो सवारीप्रति धेरै हुने भए पनि शोमा उड्ने कारबाट नजर हटाएर अन्यन्त्र आँखा दौडाउने अवलोकनकर्ता पाउन मुस्किल छ।

नाडा अटो शो हेर्न आउने अधिकतम अवलोकनकर्ता उड्ने कारले आकर्षित गरेको हो। कार उड्ने र गुड्ने दुवै प्रकारमा डिजाइन गरिएको छ। दुवै उत्तरी नाकामा बाढी र पहिरोका कारण नेपालको भूमि प्रवेश गर्न कारले आफ्नो दुवै क्षमता प्रस्तुत गर्न पाएन।
राणाकालीन समयमा जसरी नेपालमा गाडी भित्र्याइएको थियो। हाल उड्ने कार पनि सोही शैलीमा भरियाको काँधमा बसेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिएको हो। राणाकालीन समयको र हालको तस्वीर सामाजिक सञ्जालमा भाइरल भए।
चीनबाट उड्ने कार नेपाल भित्र्याउने प्रमुख नाका रसुवागडी गत असारको बाढीको चपेटनामा परेर अवरुद्ध हुन गयो। साथै नेपाल चीन जोड्ने मितेरी पुल पनि बगायो। रसुवागडी नाकाबाट चीनसँगको नेपालको यातायात सम्पर्क टुट्यो। उड्ने कार नेपाल चीन सीमा केरुङसँग आइपुगेको थियो। सडक सम्पर्क टुट्दा नेपालको भूगोलमा ल्याउन कठिनाइ भइरहेको थियो।

यस्तोमा एमएडब्ल्यू वृद्धिले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट कार भित्र्यायो। त्यहाँ पनि स्थिति सहज थिएन। नाडाले शनिबार उड्ने कार काठमाडौं आईपुगेको जानकारी दिँदा एउटा तस्बिर भाइरल भयो।
उड्ने कार विकासको क्रममा छ। यो विकासको उन्नत चरणमा पुगिसकेको छैन। फ्लाइङ कार भन्नाले यो सडकमा गुड्नेका साथै हावामा पनि उड्छ। यो चलाउनका लागि हवाई र सडक दुवैको लाइसेन्स आवश्यक पर्छ। यसका लागि यातायात र उड्डयन नियामकबाट अनुमति लिनुपर्छ। उड्ने कारलाई व्यावसायिक प्रयोजनमा ल्याउनका लागि विभिन्न कम्पनीहरुले प्रयास गरिरहेका छन्।
नयाँ युगको मोबिलिटीको रुपमा हेरिएको उड्ने ट्याक्सी एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) ल्याएको हो। गत साउन २० गतेको पत्रकार सम्मेलनमार्फत नाडाले आगामी अटो शोमा उड्ने कार र रोबोट प्रदर्शनमा राखिने जानकारी दिएको थियो। नेपालमै आउन लागेको उड्ने कार कस्तो हुन्छ भनेर आम उपभोक्तामा चासो बढेको थियो।

विगतमा नाडा अटो शो सवारी साधन वितरक तथा पार्टस् पुर्जा प्रदर्शनीमा राखिने गथ्र्यो। यस पटक भने नाडाले प्रदर्शनीलाई फरक रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छ। उड्ने कार नेपाल भित्रिए पनि यो व्यवसायीक प्रयोजनमा प्रयोग गरिने छैन। विगतका वर्षका भन्दा फरक शैलीमा अटो शो प्रस्तुत गर्न तथा अवलकनकर्ताको ध्यान खिच्न आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले उड्ने कार प्रदर्शनमा राखेको हो।
साथै यस वर्ष एक साताको फरकमा दुई वटा अटो शो आयोजना भएको छ। यस्तोमा अघिल्लो अटो शो भन्दा भिन्न र उत्कृट रुपमा प्रस्तुत हुन ५० वर्ष पुरानो संस्थाले नयाँ प्रयोग गरेको हो। नाडाको स्थापनमा २०३२ सालमा भएको हो।
अटो शो भने सन् १९९८ देखि आयोजना हुन थालेको हो। यस अवधिमा २०२० मा कोभिड–१९ प्रकोपका कारण अटो शो आयोजना हुन सकेन। हालसम्म २६ पटक अटो शो आयोजना भइसकेको छ।







Shares

प्रतिक्रिया